फाल्गुन २५, २०७९
काठमाडौँ — नेपालले पपुवा न्यु गिनी(पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा पीएनजीले बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
नेपालसँगै पीएनजी र यूएईसम्मिलित त्रिकोणात्मक शृंखला बिहीबारदेखि सुरु भएको हो । यो आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृंखलासमेत हो। यससँगै चार वर्ष लामो प्रतियोगिताले पूर्णविराम पाउने छ ।
लिग-२ मा सहभागी सात टिममध्ये तेस्रो स्थानमा रहेर सिधै एकदिवसीय विश्वकप छनोट खेल्ने टिमको टुंगो पनि यही प्रतियोगिताबाट लाग्नेछ । साथै शीर्ष ५ मा रहेर एकदिवसीय मान्यता कायम राख्ने टिमको टुंगो पनि यसै प्रतियोगिताबाट हुनेछ । नेपालसामु भने दुवै सम्भावना रहेको छ ।
लिगको अंकतालिकामा नेपालको ३२ अंक छ भने यूएईको ३१ । यी दुई टिमसामु शीर्ष तेस्रो स्थानमा उक्लने अवसर छ । स्कटल्यान्ड त च्याम्पियन भइसकेको छ भने ओमान दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको नामिबियामात्रै असुरक्षित रहेको हो । टोलीसँग ३९ अंक छ । पूरा नामिबियाली क्रिकेटको नजर अब कीर्तिपुर मैदानमा हुनेछ, किनभने अबको शृंखलाले उसको पनि फरक भाग्य कोर्न सक्नेछ ।
अमेरिका ३५ अंकमा चौथो स्थानमा छ । पीएनजी भने सातौं स्थानमा छ । पपुवासँग ९ अंकमात्र छ । टोलीका लागि अबको शृंखला भनेको प्रतिष्ठाकै लागि मात्र हो ।