महिलाविनाको धर्ती र पुरुषविनाको पृथ्वीमा मानवजातिको अस्तित्व कतिन्जेल रहला ! सोच्नु मात्रै पर्छ, जो कोहीले पनि नतिजाको सहजै अनुमान गर्न सक्तछ । आधा आकाश बताएर महिलाको अस्तित्वलाई अमूर्त पारिनु अस्वाभाविक छ । आधा आकाश होइनन्, महिला त सिङ्गो मानवताको आधा अङ्ग हुन् । पुरुष आधा अङ्ग हो । आधा अङ्गलाई अन्धकारमा छाडेर गरिएको यात्रामा मानवता सम्पुष्ट हुने कुनै सम्भावना छैन ।
महिला र पुरुष एउटै होइनन्, एकर्काका पूरक हुन् । एकभन्दा अर्को अगाडि वा पछाडि होइन, लेफ्ट राइट, लेफ्ट राइट गर्दै सहयात्राका पाइला चाल्नका निमित्त हो । तर यहाँ महिलालाई निरीह पारेर पुरुष धेरै अघि गयो, यो कमजोरी भयो । अब त्यसलाई सच्याउनुपर्छ । त्यस कर्ममा पुरुषको पनि सहयोग आवश्यक छ । साहित्यकार पारिजातले महिला हुनुको सामथ्र्य, सीमा, समस्या, अर्थ र अपेक्षालाई मानुषी कवितामा सटीक ढङ्गले व्यक्त गर्नुभएको छ ।
व्यवहारमा बदलिनु मुखले बोल्नजस्तो सजिलो छैन । हामी जुन समाजमा हुक्यौँ, त्यो समाज सामन्ती चिन्तनले राज गरेको समाज हो । हामी प्रगतिशील हौँ भन्दाभन्दै पनि त्यो समाजका वैचारिक र सांस्कृतिक अवशेष ज्ञात अज्ञात रुपमा हामीमा रहेका हुन्छन् । त्यसरी रहेका अवशेषमध्ये सबभन्दा खतरनाक अवशेष महिलामा रहेको ‘हीनताबोध’ र पुरुषमा रहेको ‘उच्चताबोध’ हो । कुनै सानो भन्दा सानो अवशेष पनि सहजै हटेर जाँदैनन् । आत्मसङ्घर्ष, अन्तरसङ्घर्ष र वर्गसङ्घर्षका वैचारिक र भौतिक अस्त्रले परास्त गर्दै जानुपर्दछ । सांस्कृतिक रुपान्तरणको अभियान शब्दखेल होइन, एउटा अन्तर परिवर्तनकारी आन्दोलन हो ।
अन्तर्यमा थोरै मात्रै चेतनाको झिल्को पस्यो भने दमित आत्माहरु दावानल भएर दन्कन बेर लाग्दैन । त्यो विद्रोहशील ऊर्जा एकीकृत रुपमा विस्फोटित हुन पायो भने त्यसले पुरानो राज्यसत्ता नै ढलाइदिने हैसियत राख्दछ । बन्धनबाट बाहिर निस्कन चाहनु मानवीय चरित्र हो । यो चरित्रले क्रान्ति र परिवर्तनको महाख्यानसित जोडिन पायो भने त्यसले पुँजीवादको अखडामा उधुम मच्चाउँछ भन्ने बुझेका बाठा पुँजीपतिहरुले एकातिर बिकाउ बुद्धिजीवीहरुलाई घँस्याएर उदात्त मानवीय मुक्तिको महाख्यान अर्थात् साम्यवादको दर्शन मरेको घोषणा गर्न लगाए भने अर्कातिर मुक्तिको अपेक्षाजन्य ऊर्जालाई झिनामसिना कुरामा पोख्ने चाँजोपाँजो मिलाए । एकथरी नारीवाद यही बदनियतपूर्ण चाँजोपाँजोमा फँसेको छ । महिलाको विद्रोह चेतलाई कुठाउँमा कुसमयमा विस्फोट गराएर वास्तवमा नतिजाविहीन गराउने उद्देश्यले रचिएको यो चाँजोपाँजो चिन्न नसकेर भुलभुलैयामा फँसेकाहरुलाई वैचारिक संवाद र बहसमार्फत् त्यो ब्यूहबाट बाहिर निकाल्न सकिन्छ । नारीवादको नाममा निजी फाइदाको काममा हिँडेकाहरुको भने नियतलाई नङ्ग्याउनु बाहेक महिला मुक्तिका अभियन्ताहरुसित अर्को विकल्प रहने छैन ।
पितृसत्ताका विरुद्धमा आन्दोलन आवश्यक र स्वाभाविक छ । सम्पूर्ण पुरुषलाई शत्रु देख्ने अतिवादी उत्ताउलो नारीवादले नारीमुक्ति हुँदैन । यस्तो चिन्तन खासमा महिला मुक्तिलाई बिथोल्ने परियोजनाको अंश हो । किनकि यो चिन्तनले केवल ईष्र्याको दलदलमा फँसाउँछ । पितृसत्ताका विरुद्धमा महिलाहरु मात्र होइन, क्रान्तिकारी पुरुषहरु पनि लडेका छन् भन्ने कुराको भेउ नपाउने नारीवाद त्रुटिपूर्ण मात्रै होइन, निकम्मा समेत हो ।
यो सामन्तवादी र पुँजीवादी राज्यव्यवस्था तथा समाज व्यवस्थाको स्वरुप नै महिलाका निमित्त बन्धनकारी छ । यसको अर्थसांस्कृतिक सञ्जाल नै महिलाद्वेषी छ । यो व्यक्तिवादी सिस्टम र सञ्जाललाई तहसनहस पारी सहअस्तित्व र सहकार्यको प्रणाली, समाजवाद, स्थापना नगरेसम्म वास्तविक अर्थमा समग्रमा महिला मुक्ति असम्भव छ । समाजवादले महिला मुक्तिलाई कसरी सम्भव तुल्याउँछ त ? हामीले यस अङ्कमा समाजवादकालीन रुस र चीनले महिला उत्पीडन र दमनको मूल कारणलाई कसरी पत्ता लगाए र कसरी त्यो कारणलाई नै निर्मूल पारे भन्ने सन्दर्भका अनुभवलाई पनि प्रस्तुत गरेका छौँ ।
इच्छुकका निमित्त सामग्री पठाउनु हुने सम्पूर्ण स्रष्टा र द्रष्टाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
(इच्छुक सांस्कृतिक प्रतिष्ठानबाट प्रकाशित ‘इच्छुक’ साहित्यिक त्रैमासिक पूर्णङ्क ९, २०७९ असोजबाट साभार– संपादक)