विचार÷बहस
सन् १९३६ मा अमेरिकी जनस्वास्थ्य सेवाका वरिष्ठ सर्जन डा. थोमस पेयरेनले एउटा पत्रिकामा सनसनी मच्चाउने खालको ऐतिहासिक लेख लेखे । एक विषय थियो यौनरोग । एक करोड बीस लाख जनामा भिरङ्गी लगायतको यौन रोग फैलिएको आँकडा थियो । यो रोग लाग्नु लज्जाको विषय मानिन्थ्यो । त्यसकारण रोगको विवरण लुकाइन्थ्यो । पत्रिकाका सम्पादक तथा पत्रकारहरू पनि यस विषयमा चँुक्क बोल्दैनथे । यो गुप्त रोगजन्य शारीरिक मानसिक यातनाले अत्यन्त भयानक रूप धारण गरिरहेको थियो । प्रतिवर्ष हजारौँ मान्छे मरिरहेका थिए ।
यो लेख प्रकाशित भएपछि रोग निराकरणका निमित्त सरकारी तबरबाट व्यापक अभियान चलाइयो । कानुन बनाइयो, हजारौँ सङ्ख्यामा सूचनाहरू वितरण गरियो र हजारौँ मान्छेको रगत जाँच गरियो । फौजी अधिकारीहरू, धर्मगुरुहरू र सामाजिक कार्यकर्ताहरू पनि आ–आफ्ना ठाउँबाट खटे । धर्मका ठेकेदारहरू र धर्मभीरु सर्वसाधारणसमेतले पापी र अनैतिक भन्दै यौन पेसामा लागेका महिलाहरूलाई प्रताडना दिन थाले । यस्तो पेसा अँगाल्न विवश यस्ता महिलाहरू यसै पनि सामाजिक रूपमा अपमानित थिए । अब यातनासमेत थपियो । जीन टनीजस्ता एकथर दिग्गज भनिएकाहरूले अर्ती फर्माउन थाले—‘ मान्छेहरू पाप गर्न छोडौँ, इन्द्रियलाई बिर्सौँ, ‘सदाचार’ नामक पुरातन सदगुणलाई ग्रहण गरौँ र रोगलाई उखलेर फालौँ । हजारौँ सेना र पुलिसहरूलाई पुरूषत्व त्याग्न र सन्यासी बन्न आग्रह गरियो ।
यौनरोग निराकणको विषयले सैनिक स्वास्थ्य कार्यालय र सैनिक अधिकृतहरूकै बिचमा भयानक विवाद खडा भयो । सैनिक स्वास्थ्य कार्यालयले माग ग¥यो—‘ठुला केन्द्रस्थित वेश्यागृहबाट महिलाहरूलाई बाहिर निकालियोस् र जिल्ला जिल्लाका बदनाम लालबत्ती इलाका बन्द गरियोस् ।’ सैनिक अधिकृतहरूले तर्क गरे— ‘यसरी वेश्यागृह बन्द गर्ने हो भने उनीहरू देशभरि फैलने छन् र झन् धेरैजनालाई रोग फैलाउने छन् । सैनिकहरूलाई लुकीछिपी त्यहाँ जान झन् सजिलो हुनेछ ।’ विवाद व्यापक रूपबाट जनस्तरमा पनि गयो । यो विवादबाट लाखौँ सम्मानित नागरिकहरूले बुझे कि देहव्यापार निकै नै सुव्यस्थित ढङ्गले चलेको छ र वेश्यालयमा जाने अधिकांश सज्जन त्यहीँ आसपासका व्यक्तिहरू हुन् । जेहोस् यौनरोग फैलिइ नै राख्यो ।
समकालीन विश्वमा अर्को एउटा देश थियो, बीस करोड जनता बस्ने जुन देशले समाजमा वेश्यावृत्ति र यौनरोगलाई निमिट्यान्न पारेको थियो । व्यभिचारलाई मात्र होइन रक्सीबाजीलगायत अनैतिकताका सबै गम्भीर समस्याहरूलाई आश्चर्यजनक सफलताका साथ हल गरेको थियो । त्यो समयको विश्वमा त्यो देशको लालसेना मात्रै विश्वको पहिलो यस्तो विशाल सेना बन्न पुग्यो जो वेश्यावृत्तिबाट मुक्त थियो । त्यो देश थियो सोभियत सङ्घ ।
जारकालीन रुसमा हरेक नागरिकलाई एउटा परिचयपत्र दिइन्थ्यो, जसलाई पासपोर्ट भनिन्थ्यो । यो नबोकीकन कोही पनि मानिस एक ठाउँबाट अर्को ठाउँमा जानु खतरा हुन्थ्यो । यो नबोक्ने मानिस कुनै पनि बेला गिरफ्तारीमा पर्न सक्दथ्यो । राज्यद्वारा कैयौँ मानिसबाट यो पासपोर्ट खोसिन्थ्यो पनि । यो खोसिनेमा प्रायः ती महिला हुन्थे जो देहव्यापारलाई जीविकाको माध्यम बनाएका थिए । वेश्यावृत्तिमा लागेका महिलाहरूलाई पहेँलो टिकट दिने व्यवस्था थियो । पँहेलो टिकट भनेको वेश्यावृत्तिको वैधानिक लाइसेन्स थियो । ‘समाजका नागरिकहरूको आवश्यकता पूरा गर्न र समाजमा सुव्यवस्था कायम गर्न यस्तो व्यवस्था आवश्यक छ’ भन्ने जारकालीन रुसका शासकहरूको मान्यता थियो । पहेँलो टिकट प्राप्त गरेका महिलाहरूले वेश्यावृत्ति बाहेक अरू कुनै पनि व्यवसाय गर्न पाउँदैनथे । एकपटक पहेँलो टिकट पाइसकेपछि फेरि यसलाई फिर्ता गर्छु र पासपोर्ट लिन्छु भन्न पाइदैनथ्यो । वेश्यावृत्ति गर्न अनिच्छुक रहँदा पनि यही गरिरहन अभिशप्त हुनु पर्दथ्यो । उनीहरू नागरिक अधिकारबाट बञ्चित रहन्थे । यस्ता महिलाहरूलाई स्थानीय समाजका खास घरहरूमा राखिन्थ्यो । ती घरहरूलाई वेश्याहरूको अड्डा भनिन्थ्यो । उनीहरू बस्ने घरको ढोकामा नामलिस्ट टाँसिएको हुन्थ्यो । हरेक नामको अगाडि ‘वेश्या’ लेखिएको हुन्थ्यो । सामाजिक पतनको यो भन्दा घीनलाग्दो र दारुण चित्र कल्पना पनि गर्न सकिँदैन ।
यो अपमानजनक समाजव्यवस्थाको सबभन्दा भयानक पक्ष यो थियो कि यो जालमा फँसेपछि महिलाहरूका निम्ति बाहिर निस्कने कुनै ढोका थिएन ।
जब वेश्यागृहमा महिलाहरू कम हुन्थे तब पुलिसहरू अवैध यौनकार्यद्वारा फौजीहरू माझ यौन रोग फैलिएको बहानामा गरिब मजदुर बस्तीमा छापा मार्न पुग्दथे । त्यसक्रममा उनीहरूले यौन व्यवसायमा नलागेका युवतीहरूलाई समेत पक्रन्थे र सो कार्यमा लागेको झुटो प्रमाण पेश गरी अदालतमा बुझाउँथे । पहेँलो कार्ड नलिईकन वेश्यावृत्ति गरेको आरोपमा अदालतले पाँच सय रुबल जरिवाना तोक्दथ्यो । उनीहरूले त्यो जुटाउन सम्भव हुँदैनथ्यो । अनि सदाको निमित्त पँहेलो कार्ड भिरेर वेश्याजीवन बिताउन बाध्य हुन्थे । नव युवतीहरू सत्तासीन ठुलाबडा र धनीमानीहरूका निमित्त छुट्याइन्थे र बाँकी महिलाहरूमा सर्वसाधरण पुरूषहरू जान्थे ।
महिलाहरूले देहव्यापार गरेवापत् राज्यका अधिकारीहरूलाई रकम बुझाउनु पथ्र्यो । यो वृत्ति अन्त्य गरिँदा आफ्नो आम्दानी गुम्ने भएका कारणले पनि राज्यका अधिकारीहरू यो घृणित प्रथालाई अन्त्य गर्न चाहँदैन थिए ।
१९१७ को अक्टोबर क्रान्ति हुनु अघिसम्मको यथार्थ चित्र हो यो ।
अक्टोबर क्रान्तिद्वारा पुरानो सत्ता त पल्टियो तर राज्यको नयाँ मसिनरी स्थापना गर्ने र टिकाउने कार्य कम्ती कठिन थिएन । एकातिर देशभित्र भीषण रूपमा वर्गसङ्घर्ष र गृहयुद्ध जारी थियो भने अर्कातिर विदेशी आक्रमणकारीहरूका विरुद्धको लडाइँमा हेलिनु परेको थियो । आर्थिक योजना सुरू भइसकेको थिएन । बेरोजगारी भीषण ढङ्गले बढिरहेको थियो । बेरोजगारीमा पनि दुईतिहाइ त महिलाहरूकै थियो । देश गम्भीर आन्तरिक सङ्कटमा फँसेको थियो । यसैबेला पुरानो राज्यसत्ताबाट विरासतमा प्राप्त व्यभिचार र दुराचार अझै व्यापकतामा अनेक रूपमा प्रकट भएर आए । नयाँ पुस्ताको पनि यौटा ठुलो हिस्सासमेत यो विकृतिको लपेटामा फस्न पुग्यो । फेरि पनि वैज्ञानिक सोच, शैली र व्यवहारका सोभियत मजदुर नायकहरूले आफ्नो पकड कायम राख्न दृढ सङ्कल्प र सङ्घर्ष गरिरहे । शदियौँदेखि प्रतिष्ठित तर अत्यन्त खोक्रो रीतिरिवाजलाई उखेलेर फाले । निरन्तर क्रान्तिमा सम्पूर्ण रूपले समर्पित सर्वहारा वर्गले समाजको आर्थिक आधार र सांस्कृतिक मानदण्ड बदलिछाड्यो ।
क्रान्तिकालीन रुसमा ‘क्रान्तिबाट तिमीले हत्कडीबाहेक गुमाउने केही पनि छैन’ भन्ने नारा व्याप्त थियो । क्रान्तिपछि एकथर मान्छेहरूले हत्कडी गुमाउनुको अर्थ सम्पूर्ण नैतिक बन्धनबाट मुक्ति हो भने । ‘बन्धनमुक्त प्रेम’ को वकालत गर्न थाले । भोक लागे खाना खाऊ, तिर्खा लागे पानी पिअ र कामेच्छा जागे सम्मुखमा जो महिला भेटिन्छ उसैसित प्रेम गर । अर्थात् सबै महिलाहरूका लागि प्रतिबन्धहीन वेश्यावृत्ति लागू गर । महिलाहरूको समाजीकरण गर । यौटीकी श्रीमती सबैकी श्रीमती ठान । एकनिष्ठ विवाह प्रथाको अन्त्य गर । आदि’ मूलतः यो सब बोल्सेविकहरूलाई प्रहार गर्ने कोणबाट उठेको कर्तुतको परिणाम थियो । तर कतिपय क्रान्ति समर्थकहरू पनि अलमलमा परेका थिए । लेनिनले चुड्कीका भरमा समाजवादी समाज निर्माण गरेर चमत्कार गरिदिन्छन् भन्ने खालका सोचाइहरू एकथरि नवयुवाहरू बिच हावाझैँ फैलाइयो ।
वायुवेगमा यस्तो हल्ला फैलिएपछि लेनिनले सरकारी तबरबाट यसका विरुद्ध वैचारिक जेहाद नै छेडनु परेको थियो । साहित्यकार म्याक्सिम गोर्कीले पनि यस विषयमा लेख्नुभएको छ ।
क्रान्तिकारिताका नाममा चलेको यो अफवाहका सन्दर्भमा क्लारा जेट्किनले पनि लेनिनसित जिज्ञासा राखेकी थिइन्— ‘प्यास सरह यौनेच्छा पनि एउटा स्वाभाविक इच्छा हो । पानी प्यासलाई झैँ यौनेच्छालाई पनि उत्पन्न हुने बित्तिकै तृप्ति दिनुपर्ने कुरा के हो लेनिनको जवाफ यस्तो थियो— ‘निश्चय नै प्यास मेट्नुपर्छ ।.. परन्तु पानी पिउनु एउटा व्यक्तिगत चिज हो । प्रेममा दुई जीवको सम्बन्ध हुन्छ र त्यसबाट तेस्रो जीवको उत्पत्ति हुन्छ । त्यसकारण प्रेम एउटा सामाजिक चिज हो । यसले समाजका प्रति व्यक्तिको कर्तव्य निर्धारित गर्दछ । मेरो आशय सन्यासवाद प्रचार गर्नु होइन । साम्यवादले सन्यासवादको स्थापना गर्दैन । सुखी र शक्तिशाली जीवनको स्थापना गर्दछ । यौन मामलामा छाडापनले सुख र शक्तिलाई विनष्ट गर्दछ ।’ लेनिनको जोड शारीरिक र मानसिक विकासका लागि युवाहरूलाई वैज्ञानिक नैतिकतासम्बन्धी विचार आत्मसातीकरण, खेलकुद, बहुमुखी बौद्धिक क्रिया, अध्ययन र खोजबिन गराउनेतिर थियो ।
रुसका बहुसङ्ख्यक वेश्या गाउँ वस्तीका निर्धन महिलाहरू नै थिए । नयाँ सरकारले यस्ता असहायमाथि गरिएको अमानुषिक शोषणलाई जारी राख्ने कुरा सहन नगर्नु स्वाभाविक थियो । अक्टोवर क्रान्तिपछिको सरकारले ल्याएको पहिलो कानुन नै पहेँलो टिकट व्यवस्थाको खारेजी थियो । सबै महिलाहरूलाई नागरिक अधिकारको बहाली थियो । यसरी रुसी क्रान्तिले जनताको जीवनको पुनर्निनिर्माणको कार्य रुसका पुरूषबाट सुरू नगरेर महिलाबाट सुरू गरेको थियो ।
सोभियत रुसमा महिला स्वाधीनताका लागि बनाइएका कार्यक्रम केवल महिला हकमा सीमित थिएनन्, त्यसमा समग्र मानव जातिको हितलाई हेरिएको थियो । सोभियत वैज्ञानिकहरूले महिला र पुरूषका बिच असमानता रहेसम्म समग्र मानव जातिको सुधार गर्न नसकिने मत पेस गरेका थिए ।
क्रान्तिको छ वर्षपछि बल्ल सोभियत वैज्ञानिकहरूले सामाजिक दुराचारका विरुद्ध आम रूपबाट व्यवस्थित ढङ्गले धावा बोले । उनीहरूको पहिलो हमलाले नै रुसमा सनसनी मच्चियो । यसअघि यस्तो कहिल्यै भएको थिएन । त्यसको चरित्र अभूतपूर्व थियो । त्यो हमला थियो, अनेकौँ प्रश्नहरू समेटिएको एउटा प्रश्नावलीको छपाइ र व्यापक रूपमा वितरण । यो प्रश्नपत्र डाक्टर, मनोवैज्ञानिक, मजदुर सङ्गठनका नेता तथा सम्बद्ध विषयका विशेषज्ञद्वारा तयार पारिएको थियो र अत्यन्त गोप्य रूपले हजारौँ महिला तथा युवतीहरूमा पु¥याइएको थियो । यो कुनै एकादुई नमूना छनोट गरी निष्कर्षमा पुग्ने प्रकृतिको कथित अनुसन्धनात्मक कार्य नभएर महिलाहरू कुन परिस्थितिमा आफ्नो शरीर बेच्न विवश हुन्छन् भन्ने तथ्य पत्ता लगाउनु र त्यो परिस्थितिलाई जरैदेखि बदल्ने उद्देश्यले थालिएको कार्य थियो । हो, यो कुनै स्याम्पलिङ् नभएर समग्रता थियो । त्यो प्रश्नपत्र गुप्ती तवरले समाजका हरेक तहका, हरेक उमेरका र भिन्न भिन्न स्वभावका हजारौँ महिला र युवतीहरूसमक्ष पु¥याइएको थियो । उनीहरूलाई पूराका पूरा विश्वास दिलाइएको थियो कि यसको गोप्यता किमार्थ भङ्ग गरिने छैन । मजाको कुरा के भने जवाफ कत्ति पनि नलुकाईकन जस्ताको तस्तै आयो । असङ्ख्य महिलाहरूले बताए कि खास परिस्थितिमा प्रेमभावना यिनै अर्कै स्वार्थका कारणले अनुचित इन्द्रियभोग गर्न पुगियो । तीमध्ये धेरैजसोले इमान्दारीको कमाइले गुजारा नचलेकाले व्यभिचार गर्नु परेको बताए । कतिपय महिलाहरू प्रेमका कारणले नभएर आफू र आफ्ना बच्चाहरूका लागि आवश्यक खर्च जुटाउन नसक्नुका कारणले मात्रै पतिसितको बिवाहबन्धन तोड्न नसकेर बाँधिइरहेको बताए । रुसी महिलाहरूको भनाइ रह्यो राम्रो काम देऊ, हामी आफै सुध्रिन्छौँ, कुनै सुधारगृह आवश्यक छैन । सबै उत्तर लिखित थिए ।
जीविकाको लागि वेश्यावृत्ति गरेको विषय आधा मात्रै सत्य देखियो । नाफाको लागि वेश्यालय चलाइरहेकाहरूको ललाइफकाइका फँसेका धेरै देखिए । जो यो वृत्तिमा फँसेका छन् तिनको जीवन त अभावमै बितेको देखियो । नाफा त वेश्यालयका सञ्चालकहरूले लिइरहेका छन् । आफू दुराचार फँस्न आँटेको थाहा पाउनु पूर्व नै उनीहरू फँसिसकेका हुन्थे । उनीहरू यो पेसा छोड्न चाहन्थे । यसबाट उनीहरूलाई ग्लानिबोध भएको थियो । आफ्ना बच्चाले थाहा पाउनुपूर्व नै यसबाट बिदा चाहन्थे, ताकि उनीहरूले वेश्याको सन्तान भनिनु नपरोस् ।
महिलाहरूको उत्तरबाट यथार्थको उद्घाटन भइसकेको थियो । सरकारले ‘वेश्यावृत्ति विरुद्ध सङ्घर्षको कार्यक्रम’ नामक कानून पास ग¥यो । त्यो कानूनमा मजदुर सुरक्षा सेनाले कुनै पनि हालतमा महिलालाई छँटनी गर्ने कार्य बन्द गर्नु पर्ने तथा आत्मनिर्भर अविवाहित महिला, गर्भवती महिला, सानो बच्चासितकी महिला र घरबाट टाढा रहेकी महिलालाई कामबाट किमार्थ हटाउन नपाइने लगायतका दर्जनौँ प्रावधानहरू राखियो र सशक्त कार्यान्वयन गर्दै लगियो । हरेक दिन नयाँ नयाँ परिघटनाले रङ्गिन थाले । हेर्दाहेर्दै परिस्थिति छिटो छिटो बदलिन थाल्यो । नाफाखोरहरूलाई कडा दण्ड जरिमानासहित जेलमा हालियो । वेश्याभोग गर्न जाने ग्राहकहरूलाई लज्जाले मुन्टो उठाउन नसक्ने खालको अवस्था सिर्जना गरियो ।
व्यभिचार विरोधी यो आन्दोलनलाई रुसी समाजवादी सरकारले वेश्याविरोधी आन्दोलनको रूप दिएन । नितान्त नयाँ सन्देश दियो—‘उनीहरूलाई नपक्डनू, कारवाही नचलाउनू, वेश्यावृत्तिका ठेकेदारका विरुद्ध साछीका रूपमा बयान दिन आवश्यक परे मात्र अदालत लैजानू, धूर्त ठेकेदारको जालमा फँसेका विवश महिलाका रूपमा सम्मानजनक व्यवहार गर्नू, बदनाम वेश्याका रूपमा अमानवीय व्यवहार नगर्नू, अतीतमा कुन महिलाले के गर्थिन् भनेर खोजबिन नगर्नू र थाहा पाइसकेको भए पनि कतै नभन्नू । किनकि यो वृत्ति खराब समाज व्यवस्थाको उपज हो ।’
अब अदालतमा ठेकेदार र वेश्यागृहका मालिकको ताँती लाग्न थाल्यो । पर्दा पछाडिबाट वेश्यालय चलाइरहेकाहरू धमाधम समातिन थालेपछि सोभियत अखबार अनेक वितण्डाहरूले भरिन थाले—‘सोभियत सरकार वेश्याहरूलाई मुक्ति दिएर भद्र भलाद्मी घरमुलीहरूलाई दण्ड दिएर घोर पाप गरिरहेको छ ।’ धार्मिक र कानुनी बकबास गरी व्यभिचार विरोधी आन्दोलनलाई कमजोर बनाउनु उनीहरूको उद्देश्य थियो । ठेकेदारको समूहले फेरि अर्को कुतर्क ग¥यो—‘आफ्नो पेसा जारी राख्न पाउनु वेश्याहरूको हक हो ।’
मान्छेद्वारा मान्छेमाथि हुने शोषणको सम्पूर्ण आधारशिला ध्वस्त पार्न प्रतिबद्ध सोभियत सङ्घमा अर्को एउटा अनौठो कानून पास भयो । व्यभिचारका अखडाहरूमा छापा मार्दा जो पुरूषहरू समातिन्छन् ती सबैको नाम, ठेगाना र नोकरी उल्लेख गरी नामावली तयार पार्ने र छापा मार्दाको भोलिपल्ट बजारको खास ठाउँका मुख्य भवन र कारखानाको बाहिर तिनको नामसहितको विवरण टाँसिदिने । नामावलीको सिरानमा लेखिएको हुन्थ्यो—‘महिलाहरूको शरीर किन्न चाहनेहरू’ । समाजमा चरित्रवान् सज्जनको रूपमा देखिनु पर्ने र भित्रभित्र वेश्यागमन गर्नेहरूलाई पहिले पहिले पुलिसले भेटे पनि निकै आदर गर्दथे र तिनको कर्तुत लुकाउँथे । सोभियत सङ्घको नयाँ नियमले यो ढोँगको पर्दाफास गर्ने भएपछि बदनाम हुने भयले मान्छेहरू व्यभिचारतिर लागि रहने अवस्था अब रहेन ।
यो नियम लागु गरिँदै गर्दा देशका जनतालाई शिक्षित बनाउने आन्दोलन पनि चलि नै रहेको थियो । यस कार्यमा देशका नाट्यशालाहरूले खेलेको भूमिका उल्लेख्य छ । त्यहाँ प्रदर्शन गरिने व्यभिचारसम्बन्धी प्रायः नाटकहरूमा सेनाद्वारा छापा मारिएको, वेश्याघरका मालिकलाई जेल हालिएको र ग्राहकलाई महिलाको मान प्रतिष्ठा भङ्ग गरेको तथा देशको नैतिक गौरवमाथि धब्बा लगाएको अभियोग लगाइएको हुन्थ्यो भने त्यो कार्यमा संलग्न महिलाहरूलाई बिनाकुनै अभियोग ससम्मान मुक्त गरिन्थ्यो । यी समस्याप्रधान नाटकहरूमा जीवनको यथार्थलाई सरल र रोचक ढङ्गले प्रस्तुत गरिने हुनाले हल खचाखच भरिएको हुन्थ्यो । मान्छेहरू सुस्पष्ट धारणा बनाएर नाटक हलबाट बाहिर निस्कन्थे ।
यौन रोगको विषय सोभियत सरकारको अर्को भयानक समस्याका रूपपा उपस्थित थियो । सरकारले यो रोग लागेका पुरूष अन्य महिलासित सहबास गर्न पुगे अपराधी करार भई दन्डित हुनुपर्ने नियम बनायो । सबै रोगीहरूले रोग अन्यत्र नसार्न र उपचारमा जान आह्वान गरे । तर नियम बनाएर र आह्वान तर नियम बनाएर र आह्वान गरेर मात्र छोडिदिएन । सारा देश भरि रोगको जाँच गर्ने र उपचार गर्ने केन्द्रहरू खोले ।
डाक्टरहरूसामु फेरि अर्को समस्या खडा भयो—उपचारपश्चात् महिलाहरू अस्पतालबाट बाहिर निस्केपछि पुनः त्यही पेसामा गए भने यत्रो उपचारको के अर्थ ? रोग त फेरि फैलिन्छ । सोभियत वैज्ञानिकहरूले यसको पनि समाधान निकाले—‘अस्पतालहरूलाई तालिम स्कुल र काम धन्दा केन्द्रका रूपमा विकास गर्ने ।’ यो अस्पताल पनि अजीवको थियो । त्यहाँ भर्ना हुनका निमित्त दवाव पनि दिइँदैनथ्यो । ढोकामा पाले पहरा पनि बस्दैनथे र रातमा ताला पनि लगाइँदैनथ्यो । हरेक रोगीका लागि समाजको लागि उपयोगी हुने कुनै न कुनै वस्तु उत्पादनको सीप सिकाइन्थ्यो । उनीहरूको उपचारसँगै कमाइ पनि त्यहीँ हुन्थ्यो । कुनै पनि नाममा कुनै पनि व्याख्यान दिइँदैनथ्यो । ती उपचार केन्द्रहरूमा यति आवश्यक सामानहरूको उत्पादन भएको थियो कि एउटा मास्को अस्पतालबाट मात्रै ऊ बेलाको मून्यमा (९१ वर्ष अघि) वार्षिक पचास लाख रूपैयाँको माल बेचिएको थियो ।
अस्पताल परिसरमा रहेको उद्योग केन्द्रका उद्यमी रोगीहरूमा आत्मनियन्त्रणको सिद्धान्तलाई कडाइका साथ लागु गरिन्थ्यो । उद्योग केन्द्रको नियम त्यहीँका महिलाहरू स्वयम्ले बनाउँथे । नियम भङ्ग गर्नेलाई सबभन्दा ठुलो सजाय भनेको अस्पतालबाट निकाल्नु थियो । यसरी अस्पतालबाट इन्द्रिय रोगको उपचार मात्र गरिएको थिएन, अनैतिकता सम्बन्धी व्यापक समस्याको समेत समाधान गरिएको थियो । बीस वर्षको अवधिमा वेश्यावृत्ति यसरी समाप्त प्रायः भयो कि रुसको नयाँ पिँढी यसबाट पूरै अपरिचित रह्यो । चिकित्सा विज्ञान पढ्दै गरेका विद्यार्थीलाई यौन रोगको बारेमा पढाउनु पर्दा नमूनाका लागि पनि रोग बचेको थिएन ।
श्रम कमिसारले सम्म्पूर्ण एकल महिला र अस्पतालमा ग्रेजुयट उत्तीर्ण महिलाहरूलाई अनिवार्य रूपमा काम दिने जिम्मेवारी सम्हाल्ने । सामाजिक सुरक्षा कमिसारले राष्ट्रव्यापी रूपमा महिला तालिम केन्द्रहरूलाई व्यापक पैमानामा देशभरि फैलाउने जिम्मेवारी लिए । घरबार नभएका र पुनः अनैतिकताको प्रभावमा फस्ने सम्भावना भएका महिलाहरूलाई राम्रो घरको व्यवस्था गरियो । सोभियत वैज्ञानिकहरूले मनोविकारग्रस्त महिलाको अन्य कुनै उपचारतिर नलागी उनीहरूको आसपासको आर्थिक सामाजिक वातावरणमा सुधार गर्न सुरू गरे ताकि उनीहरू स्वस्थ र नैतिक जीवन बाँच्न सकून् । यति धेरै तिरबाट यति व्यवस्थित ढङ्गले यति धेरै काम गरियो कि त्यहाँका महिलाहरूका बेरोजगारी र गरिबी समाप्त भयो ।
रुसी महिलाहरूले पुरानो घरेलु दासता र श्रीमान्हरू माथिको परनिर्भरताबाट पनि मुक्ति प्राप्त गरे । सामुदायिक भान्छा, सार्वजनिक भान्छाघर, लुगाधुने लन्ड्रीहरू तथा मर्मत पसलहरू, शिशुस्याहार केन्द्रहरू, बालगृहहरू र हरेक किसिमका शैक्षिक संस्थाहरू खुले । महिलाहरूले प्रेम र विवाह गर्ने वा नगर्ने स्वतन्त्रता वास्तविक अर्थमा बल्ल प्राप्त गरे ।
अमेरिकामा वेश्यावृत्ति नियन्त्रणको पहल यौनरोग नियन्त्रणको हेतुले गरिएको थियो भने रुसमा यसको पहल सामाजिक सदाचार र संयमजन्य नैतिकताको संवद्र्धनद्वारा उच्च मानवीय गुणले युक्त स्वस्थ र ऊर्जावान् मनुष्यको निर्माण गर्ने उद्देश्यले गरिएको थियो । सोभियत सङ्घका वैज्ञानिकहरूको लक्ष्य आर्थिक आधारमा मानव समाजको पुनर्गठन गर्नु त थियो नै, तर यति मात्र थिएन, वैज्ञानिक सिद्धान्तको सहाराले मनुष्य जातिको स्वभावलाई नै बदलेर सत्पथमा लैजानु थियो । नयाँ मनुष्यको निर्माण गर्नु थियो । अमेरिकी चिन्तन समग्र मानवताको मुक्तिको चिन्तन थिएन । फलतः त्यहाँ विज्ञान र नैतिकतालाई छुट्याइयो । कतिपय अमेरिकी डाक्टरहरू नै भन्ने गर्थे सामाजिक नैतिकता हाम्रो सरोकारको विषय होइन । अमेरिकामा चिकित्सा विज्ञानमा विकास भई यौनरोगको जोखिम घटेर गएसँगै रोगजन्य भय पनि कम हुँदै गयो र व्यभिचार विरोधी आन्दोलन पनि सुस्ताउँदै गयो ।
अहिले पनि पुँजीवादी बजारमा सबभन्दा बढी बिक्री हुने वस्तुमध्ये यौन पनि एउटा हो र पुँजीवादले निर्लज्जता र निर्ममतापूर्वक अपमानजनक ढङ्गले नङ्ग्याइरहेको वस्तु महिला हो । मान्छेको ध्यान अनावश्यक ढङ्गले यौनतर्फ तानेर दुनियाँलाई पथभ्रष्ट बनाउने र मालिकहरूले अकण्टक नाफा कुम्ल्याउने क्रम जारी छ । अब त सोभियत सङ्घ भनिने देश पनि खण्डित भइसकेको र आफ्नो नामसमेत गुमाएर पुँजीवादी दुनियाँमा गइसकेको छ ।
युरोपमा मध्ययुगीन सामन्ती राज्यसत्ता र धर्मसत्ताले लादेको निर्मम दासताबाट महिलाहरूलाई बाहिर निकाल्नका निमित्त प्रारम्भमा पुँजीवादले प्रगतिशील भूमिका खेलेको थियो । समाजमा प्रेममा आधारित विवाह सम्बन्ध तब सम्भव भयो जब पुँजीवादले सामन्तवादलाई उखलेर फाल्यो । मुक्त प्रतिस्पर्धात्मक उद्यमको पुँजीवादी सिद्धान्तले परम्परागत मान्यतामा भारी परिवर्तन ल्यायो । पुरानो व्यवस्था ढल्दै गएपछि कानुन, धर्म र नैतिकताका मान्यता पनि बदलिँदै गए । आपसी प्रेममा आधारित विवाहलाई नैतिक र जबर्जस्ती बिवाहलाई अनैतिक मान्न थालियो । पुँजीवादले पहिलो पटक घोषणा ग¥यो कि ‘प्रत्येक मनुष्य आफ्ना सबै क्रियाकलापमा स्वतन्त्र छ ।’
पुँजीवादले प्रत्येक महिला आफ्नो प्रेम र बिवाह गर्न स्वतन्त्र हुन्छन् भन्ने घोषणा त ग¥यो । विस्तारै संसारभरि त्यहीबमोजिमका कानुन पनि बने । तर कुनै पनि कानुनले महिलाहरूले प्रेम गर्न पाउने स्वतन्त्रताको ग्यारेन्टी गर्न सकेनन् । जब सामाजिक, राजनीतिक र आर्थिक हरेक गतिविधिमा पुरूष निर्णायक हुन्छ तब महिला स्वतः पराधीन हुन्छिन् । संसारमा कहीँ पनि र कहिल्यै पनि पराधीनहरूको निर्णय स्वतन्त्र हुँदैन । स्वतन्त्रताका निम्ति पहिला सम्पूर्ण पराधीनतालाई तोडिनु पर्दछ । यो पराधीनतालाई तोड्नका निमित्त तमाम विभेद विरुद्धका आन्दोलनलाई वर्गयुद्धको समग्रतामा जोडिनुपर्छ ।
रुसको क्रान्तिले यो पराधीनतालाई तोडेको थियो । समाजवादी रुस निर्माणको महाभियान साँच्चिकै महाभियान थियो ।
एकपछि अर्को अवरोधलाई ढलाउँदै र एकपछि अर्को अभूतपूर्व निर्माण गर्दै करोडौँ मान्छे एकैसाथ आ–आफ्ना ठाउँबाट बीसौँ वर्षसम्म निरन्तर क्रान्तिमा डटिरहने रुसी जनताको साहस र सामथ्र्य बेजोड छ । उद्देश्य महान् छ, चिन्तन विराट् छ । यो उद्देश्य र चिन्तन विज्ञानमा आधारित छ र त्यसलाई कार्यान्वयन गर्ने पद्धति वैज्ञानिक छ । समाज विज्ञानलाई सही अर्थमा विज्ञानको रूपमा बुझ्नका निमित्त रुसी क्रान्तिमा जनताको अदम्य र अविच्छिन्न जागरण पढ्नै पर्छ । जागेका मजदुर र किसानको सिर्जनशील र व्यवस्थित कर्मविधान पढ्नै पर्छ, जसले ठिक ठिक नतिजा निकाल्दै गएका थिए ।
त्यो बदलिँदो महान् मानवीय सामाजिक परिवेशका कारणले अपत्यारिलो ढङ्गले असङ्ख्य प्रतिभाहरू उत्पन्न भए । मजदुर र किसानहरूको जीवनले बल्ल जीवन्त लय पक्¥यो । पहिले रक्सीको लतमा आकण्ठ डुबेका, असंयत यौनकार्यमा लिप्त रहेका र केवल छाक टार्नका निमित्त सम्पूर्ण समय तथा श्रम खर्चदाँ पनि पेट भरि खान नपाएकाहरूका आचरण, अभिप्राय र अवस्था बदलिए । यिनीहरू मध्येबाटै असङ्ख्य वैज्ञानिकहरू निस्के । कृषिमा चमत्कार पनि यिनले गरे । उद्योगमा चमत्कार पनि यिनैले गरे । संसारमा सबभन्दा पहिला अन्तरिक्षमा पनि यिनै पुगे । यस्तो जाज्वल्य सिर्जनशीलता, ऊर्जाशीलता र गतिशीलता निर्माण गर्न समर्थ क्रान्ति केही दशकपछि धिमा हुँदै गएर ढल्ने स्थितिमा पुगेकै कारणले त्यो क्रान्तिको विलक्षणतालाई कम आँक्न मिल्दैन । क्रान्तिको आन्तरिक जीवनमा कहाँनेरबाट विकृति पलायो र बाह्य तत्त्वले कसरी त्यसलाई प्रभावित ग¥यो ? यो गहन अध्ययनको विषय हो, जसबाट विश्वको भावी क्रान्तिले पाठ सिक्तछ, जसरी पेरिस कम्युनबाट रुसी क्रान्तिले पाठ सिकेको थियो ।
यौन दुराचार, बलात्कार, चोरी, जातीय विभेदलगायतका तमाम सामाजिक विकृतिहरू सम्पत्तिमाथिको निजी स्वामित्व र निजी मुनाफाजन्य अव्यवस्थाका कारणले उत्पन्न भएका हुन् । कारणलाई नै समाप्त पारेपछि त्यस कारणबाट सम्पन्न हुने कार्य स्वतः समाप्त हुनु स्वाभाविक छ ।
सन्दर्भ सामग्रीहरू
१. डाइसन कार्टर, पाप और विज्ञान, राहुल फाउन्डेसन, लखनऊ, सन् २०१७ ।
(यो आलेखभित्रका कैयौँ वाक्यहरू यसै पुस्तकबाट केवल उल्था गरेर जस्ताको तस्तै राखेको छु । त्यही कुरो भन्नलाई मैले छुट्टै वाक्य निर्माणको कसरत आवश्यक ठानिन । कुन वाक्य कहाँबाट झिकेको हो भनेर लामो सूची पेश गर्नु पनि व्यर्थैको ठाउँ ओगट्याइँ जस्तो लाग्यो । क्यानडेली लेखक डाइसन कार्टरले सन् १९४० कै दशकमा लेख्नुभएको ‘सिन एन्ड साइन्स’ लाई हिन्दीमा अनुवाद गरेर राहुल फाउण्डेसनले प्रकाशित गरेको हो ।)
२. http://ahwanmag.com/archives/6674
३ मोहन वैद्य ‘किरण’, माक्र्सवादी समालोचना, शमी साहित्य प्रतिष्ठान, काठमाडौँ, २०७७
४. निनु चापागाईँ, सन्दर्भ संस्कृति र सांस्कृतिक रूपान्तरण, विवेक सिर्जनशील प्रकाशन, काठमाडौँ, २०५९
५. अन्ना लुई स्ट्रांग, स्तालिन युग, अनु.राजेश उपाध्याय, फिलहाल ट्रस्ट, पटना, सन् २०१२ ।
६. श्रीरामवृक्ष बेनीपुरी, रुस की क्रान्ति, गार्गी प्रकाशन, दिल्ली, सन् २०१६ ।
(इच्छुक सांस्कृतिक प्रतिष्ठानबाट प्रकाशित ‘इच्छुक’ साहित्यिक त्रैमासिक पूर्णङ्क ९, २०७९ असोजबाट साभार– संपादक)