प्रतिरोधमा निखारिएका कविताहरु

प्रतिरोधमा निखारिएका कविताहरु

कविताको क्षेत्रमा सधैं ऊर्जाशील भएर लेखिरहने र पाठकले सधैं पढिरहने नाम हो गौरी देवकोटा । स्वाधीनताको रोजाइ(२०६३) कवितासङ्ग्रह, मुक्तिको क्यानभासमा(२०६८) कवितासङ्ग्रह, र सारथी (२०७३) खण्डकाव्य प्रकाशित गरिसक्नु भएका गौरी देवकोटा मूलतः प्रगतिवादी कवितामा स्थापित स्रष्टा हुनुहुन्छ । प्रतिरोध(२०७७) कवितासङ्ग्रह उहाँको चौथो काव्यकृति हो र अखिल नेपाल जनसांस्कृतिक महासङ्घले यस कृतिलाई प्रकाशनमा ल्याएको हो । साहित्य लेखनसँगै विभिन्न साहित्यिक सङ्घसंस्था र सामाजिक कार्यहरुमा पनि उहाँको उत्तिकै सक्रियता रहेको देखिन्छ ।

प्रतिरोध कवितासङ्ग्रहभित्र उहाँका ५२ ओटा कविताहरु समाविष्ट छन् । र, यी २०६९ सालदेखि २०७७ सालसम्म लेखिएका कविता हुन् । त्यसैले पनि देशको तत्कालिन राष्ट्रिय राजनीतिले नेपाली समाज र सामाजिक जीवनमा पारेको प्रभाव यस सङ्ग्रहमा रहेका कविताहरुको भावभूमिको रुपमा रहेको छ ।

२०५२ सालमा सुरु भएको माओवादी जनयुद्धले नेपाली समाजमा गडेर बसेको सामन्तवादको जरोलाई बेस्सरी हल्लाइदियो । सामन्तवादी राज्यसत्ताले युगौंदेखि सीमान्तकृत बनाएर राखेका उत्पीडित र दलितहरुका आवाजलाई यो वर्गसङ्घर्षले दरो गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा स्थापित गरिदियो । अधिकारविहीनहरुले राज्यसँग आफ्नो अधिकार मागे । आवाजविहीनहरुले आफ्ना मुठ्ठीहरु लिएर उठे । जनयुद्ध सबैको लागि आफ्नो पहिचानको लडाइँ बन्यो । पुरै देश आन्दोलित थियो । २०६३ सालको जनआन्दोलसम्म आइपुग्दा सामन्तवादी राज्यसत्ताको विरुद्ध देशको पुरै गाउँ र सहर सशस्त्र बन्यो । देशले राजाको निरङ्कुशता विरुद्धको परिवर्तनको एउटा लडाइँ लड्यो । तर आन्दोलनले सत्ताको स्वरुप मात्र फेरियो । संरचना फेरिएन । सांस्कृतिक रुपमा जड रहेको सामन्तवादी सोच, चिन्तन र व्यवहारहरु फेरिएन । त्यसैले पनि सत्ता झन् विकृत बनिरह्यो । सत्ताले नयाँ मालिक र दासहरु जन्माइरह्यो । नयाँ भारदारीहरु जन्मिए । मेटिनुपर्ने सीमाहरु उस्तै रहे । हराउनुपर्ने वर्गविभेद झन् धेरै मौलाइरहे । सामन्तवाद दलाल पुँजीवादमा फेरियो । र, यसका नायकहरुका नयाँ, नयाँ चरित्रहरु निर्माण भइरहे । जनताका दैनन्दिनीहरु झन् जटिल बन्दै गइरह्यो । जनजीविका झन् कष्टकर बनिरह्यो । र, जताततै निराशा, छटपटी र असन्तुष्टिहरु व्याप्त रह्यो ।

कवि गौरी देवकोटाको ‘प्रतिरोध’ यिनै असन्तुष्टिहरुले जन्माएका राज्यको शासकीय स्वरुप र मानसिकताप्रतिको प्रतिरोधी कविताहरु हुन् ।

जङ्ग बहादुरले लाहाछाप लगाएको
मनुकालीन मानसिकता
खुर्किनुपर्छ भनेर
मैले प्रतिवादका हरफहरु थपिरहँदा
तपाईंले मलाई उदण्डको
लाहाछाप लगाउनुभयो
म उदण्ड नै सही
सर्तमा, उन्मुलन हुनुपर्छ जरैदेखि
सबै खाले विभेदहरु
नभएसम्म, गरिरहनेछु प्रतिरोध
तपाईंको अशिष्ट संस्कृतिसँग ।
–प्रतिरोध, पृष्ठ ३

यो समय टुट, फुट र विघटनले नेपाली राजनीतिलाई अस्थिरतातिर धकेलिरहेको समय हो । नेपालको राजनीतिमा हुर्किरहेको अराजकताले देशलाई प्रतिगमन र विखण्डनतिर धकेलिरहेको समय हो । मुलुकको स्वाधीनता र अस्तित्वमाथि मडारिरहेको सङ्कटको अवस्था हो । लेण्डुपहरु इतिहासले मात्र जन्माएनन्, वर्तमानमा पनि जन्मिरहन्छन् । यो समयको सबैभन्दा ठुलो जिम्मेवारी भनेको लेण्डुपहरुबाट नागरिकहरुले यो मुलुकलाई जोगाइराख्नु हो ।

तिनीहरु कहाँ हिँडिरहेछन्
खिया लागेको रथलाई
रङ्गीन बनाएर
किन दगुरिरहेछन्
बुझेका छौ कि नाई ?
उनीहरु धेरै पहिलादेखि हिँडिरहेछन्
यही बाटो, यसैगरी
हरेकपटक
……
हजार ठेस लागेर
रगताम्य बनेका
आफ्नै औंलाहरु हेर !
तिम्रो यात्राले
दुश्चक्रमा फस्ला देश
मतलब राख
बेघर हुन सक्छौ तिमी आफैं
बेनाम बन्न सक्छन् सन्तति ।
–हुल, पृष्ठ ७

कवि गौरी देवकोटाका कवितामा वर्गबोध छ । उहाँका कवितामा श्रमिकहरुको आवाज छ, श्रमिकवर्गप्रतिको आस्था, विश्वास र उनीहरुको आन्दोलनप्रतिको ए.ेक्यबद्धता छ । त्यसैले उहाँ आफ्नो वर्गप्रति सचेत हुनुहुन्छ । र, उहाँ निरन्तर वर्गीय मुक्ति आन्दोलनमा हुनुहुन्छ ।

झुण्ड्याउनेहरुले झुण्ड्याइरहेकै छन्
त्यै घाटमा बसेर
गलाभरि दुबोको माला
लिप्नेहरुले लिपिरहेकै छन्
त्यही खरानी मुछेर
सामाजिक सञ्जालका रङ्गशाला
–घाट, पृष्ठ १०

गौरी देवकोटा प्रतिरोधी कवि हुनुहुन्छ । र, प्रतिरोधमा रहेका कविताहरु माक्र्सवादी सौन्दर्य चेतनाले निखारिएका उहाँका प्रतिरोधी कविताहरु हुन् । उहाँका कवितामा जनताको आन्दोलनलाई सिंहदरबारमा लगेर विसर्जन गर्नेहरुप्रतिको विषाद र आक्रोश उत्तिकै छ ।

द्वन्द्वको घाऊ झैं पिल्सिरहेछ
काँध थाप्नेहरुको मन
तेजाब बनेर पोलिरहेछ
अनेकन चर्तिकलारुले
तर घाटमा होमादी चलिरहेछ
सपना देख्नेहरुको विपना जलिरहेछ
होम्नुपर्ने चीजहरु
तथैवचका साथ
बाड्नुपर्ने बीजहरु
स्वाहा पारिरहेछन्
पुरेत बदलिइ बदलिइ
होम चलिरहेछ ।
–घाट, पृष्ठ ११

राजनीति अविवेकीहरुको हातमा पुगेपछि र तिनै अविवेकीहरु सत्ताको पहुँचमा रहेपछि यो मुलुकले जहिल्यै पनि अस्तित्वको सङ्कट भोग्दै आइरहेको छ । सत्ता मोहले जन्माएका भयानक खेलहरुमा देशलाई दाउमा राखेर शकुनीले झै पासा फ्याँकिरहेका दलालहरुले सधैं यो मुलुकलाई बेचिरहे । अहिले देश फेरि पनि शकुनीहरुको दाउमा छ । सत्ता राजनीतिमा हुर्किरहेका अनमेल सम्बन्धहरुले देशलाई विघटनतिर धकेलिरहेको छ । कतिखेर हामी युद्धको चपेटामा धकेलिन्छौ र कतिखेर देशका सीमाहरु विलयमा पर्छन् ! हाम्रा आँखाहरुमा अनिश्चयले खेलिरहेछ ।

कवि गौरी देवकोटालाई यस्ता मुलुकमाराहरु सधैं सलहजस्ता लाग्छन् । यस्ता सलहहरु जो एकपछि अर्को गर्दै यो मुलुकलाई रित्याइरहेका छन् । यी सलहहरु मतदाता पेटिकाहरुमा प्रवेश गर्छन् र हाम्रा अधिकारहरु खाइदिन्छन् । यी सलहहरु टेलिभिजनका पर्दाहरुमा देखा पर्छन् र हाम्रा विचारहरु खाइदिन्छन् । यी सलहहरु सेयरमार्केटभित्र पस्छन् र हाम्रो अर्थतन्त्र खाइदिन्छन् । यी सलहहरु हाम्रा कौसीहरुमा बस्छन् र हाम्रै उज्यालो खोसिरहन्छन् ।

हामी वर्षौदेखि
सलहकै बथानसँग जुधिरहेछौं
यौटा बथानलाई परास्त गरेर
लामो सास फेर्न नभ्याउँदै
तयार हुन्छ अर्को बथान
जुन वायुको बहावमा तैरिदैनन् कतै
यी रैथाने सलह
अघाउँदैनन् घाँसपात वा बालीले
चुस्छ हामीलाई उखुजस्तै
मिल्काउँछ खोस्टा बनाएर
र, चिल्लो गाला टल्काउँदै
क्याटवाक गर्छ हामी माथि नै ।
–सलह, पृष्ठ १४

मान्छेले मान्छे हुन बिर्सिएपछि जब उसलाई आफ्नो कद अग्लिएको भ्रम हुन्छ । जब ऊ ठाँटिएर सडकमा निस्कन्छ र उसका सवारीहरुले सडकका भुइँमान्छेहरु कुल्चिएर हिँड्छन् । जब उसका राजसी पोशाकहरुबाट नागरिकको हत्याको गन्ध आउन थाल्छ र न्यायालयहरु उसका प्रसस्ति गाउँछन् । एकदिन जनताको आन्दोलनले फेरि उसलाई उसको कुर्सीबाट सडकमा खसाल्न बाध्य हुन्छन् ।

सर्पको काँचुली झैं
फेरिएका छन् कमरेडहरु
राजनीतिको काला बजारमा
लिलाम गरेर
माग र आवश्यकताहरु
टल्काएका छन् जुत्ता
र, ढाकिएका छन् रेशमी पोशाकले
तै पनि सर्वाङ्ग देखिएका छन्
हाम्रै वरिपरि ।
–चम्किला पाइलाहरु, पृष्ठ ४५

माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्यको सुन्दर भूमिकासहित ९२ पृष्ठभित्र समेटिएका यी कविताहरु प्रगतिवादी नेपाली कविताका महत्त्वपूर्ण उपलब्धि हुन् । ‘वस्तुतः सर्वहारा वर्गप्रति सङ्घर्षशील हुनु, उदात्त चेतनायुक्त रहनु तथा उत्पीडित वर्गप्रति वर्गप्रेम तथा वर्ग संवेदना हुनाले उहाँका कविता अर्थयुक्त एवम् सौन्दर्यपूर्ण बनेका छन्’, अखिल नेपाल जनसांस्कृतिक महासङ्घको यी प्रकाशकीय शब्दहरु उनको कविताहरुका लागि सार्थक लाग्छ । ‘पीडाको आत्महत्या’, ‘अवैध पुल र पर्खालहरु’, ‘विद्रोहको बास्ना’ ‘मनुको विरासत’, ‘लोकमाया र बिस्कुन’, ‘आइती’ सङ्ग्रहभित्र रहेका उत्कृष्ट कविताहरु हुन् । दुई दशकदेखि आफ्नो काव्य यात्राको निरन्तरतामा देखा पर्नु भएको गौरी देवकोटा साहित्यमा एक हस्तक्षेपकारी नाम हो । उहाँको सशक्त लेखनले नै उहाँको अलग पहिचान स्थापित गरेको छ । ‘प्रतिरोध’ कवितासङ्ग्रह प्रगतिवादी नेपाली साहित्यमा एउटा महत्त्वपूर्ण प्राप्ति हो । यो सुन्दर कृतिका लागि लेखकलाई बधाई !

आँबुखैरेनी, तनहुँ