
कुरा अलि स्थूलबाट सुरु गरौं । अहिलेको, खास गरी २०६२/०६३ (संसदीय गणतन्त्र स्थापना) यताको नेपाली साहित्यका मूलभूत धारा र प्रवृत्तिलाई कसरी हेरिरहनु भएको छ ?
– २०६२/०६३ यताको अवधिमा नेपाली साहित्यमा मूलतः प्रतिध्रुवीय, प्रगतिवादी, आलोचनात्मक यथार्थवादी र संशोधनवादी गरी चार ओटा धारा र त्यस अनुसारका प्रवृत्ति क्रियाशील रहि आएका देखिन्छन् । प्रतिध्रुवीय धारा अन्तर्गत मोटा–मोटी रूपमा उत्तर आधुनिकतावाद, आधुनिकतावाद तथा केही हदसम्म आभिजात्यवाद पााइने गर्दछन् र यिनमा उत्तर आधुनिकतावाद कै वर्चस्व रहन गएको देखिन्छ । प्रगतिवादीधारा भनेको मार्क्सवादी धारा नै हो । २०६२/०६३ यताको झण्डै एक दशकसम्म यस धारामा जनयुद्धकालीन नयाँ यथार्थलाई स्थापित र संश्लेषित गर्ने कार्य सशक्त रूपमा अगाडि बढ्यो । प्रगतिवादी र आलोचनात्मक यथार्थवादी धारालाई मिलाउँदा समग्रमा प्रगतिशील धारा नै मूल धारा बन्दै आएको छ । जहाँसम्म संशोधनवादी धाराको प्रश्न छ, त्यो लामो समयदेखि कायमै छ र त्यसका विरुद्ध विचारधारात्मक सङ्घर्ष चल्दै आएको छ ।
यसैसँग जोडेर कुरा गरौं, अहिलेको समालोचना लेखनको अवस्था कस्तो देख्नुहुन्छ ? समालोचना लेखन टाक्सिएको छ भन्ने भनाइ पनि छ ? के स्थिति यस्तै हो ?
– अहिले समालोचना लेखनको स्थिति आफ्नो सापेक्षतामा उर्वर र सशक्त नै देखिन्छ । टाक्सिएको कुरा बिल्कुलै होइन । विभिन्न चिन्तन तथा प्रवृत्तिमा आधारित विभिन्न समालोचकहरुद्वारा लिखित समालोचना विधाका विभिन्न रचनाहरु, विभिन्न लेखकहरुका समालोचनाहरुलाई सङ्कलन गरी तयार पारिएका पुस्तकहरु, समालोचना विधामा नै केन्द्रित रही प्रकाशित हुँदै आएका कतिपय साहित्यिक पत्रिकाहरु र विभिन्न साहित्यिक पत्रिकाहरुमा प्रकाशित हुने स्तम्भहरु आदि तर्फ गहिरिएर दृष्टि दिने हो भने नेपाली समालोचनाको क्षेत्र निकै सशक्त र उर्वर देखिन्छ । साथै, विभिन्न अन्तर्राष्ट्रिय समालोचना सम्बन्धी आलेख तथा तिनका सङ्कलन र समालोचनाका कतिपय कृतिहरुको नेपाली भाषामा अनुवाद गर्ने काममा पनि यथेष्ट प्रगति हुँदै आएको छ । यसबाट पनि समालोचना क्षेत्रलाई समृद्घ तुल्याउने काम भएको छ ।
समालोचनाकै कुरा गर्दा यस पछिल्लो समयमा माक्र्सवादी समालोचनाको स्थिति कस्तो देख्नुहुन्छ ?
– नेपालमा मार्क्सवादी समालोचनाको स्थिति मात्रा र गुण दुबै हिसाबले प्रभावकारी नै रहेको छ । प्रतिधु्रवीय समालोचनाका तुलनामा नेपालमा मार्क्सवादी समालोचना अग्रणी स्थानमा छ । विचारधारात्मक सङ्घर्षका क्षेत्रमा मार्क्सवादी समालोचना निकै प्रभावी तथा ऊर्जाशील रहेको छ । सैद्घान्तिक र व्यावहारिक दुवै क्षेत्रमा मार्क्सवादी समालोचना निरन्तर सशक्त रूपमा विकसित हुँदै आएको छ ।
नेपालको माक्र्सवादी समालोचनाभित्र अन्तर्विरोधहरू पनि छन् ?
– छन्, अन्तर्विरोध भन्दा पृथक् कुनै पनि चिज हुन सक्दैन । यो कुरा मार्क्सवादी समालेचनामा पनि लागु हुन्छ । तर पनि यस सन्दर्भमा कतिपय अवस्थामा गम्भीर बन्न आवश्यक देखिन्छ । नेपाली समालोचनाका क्षेत्रमा कतिपय सन्दर्भमा शत्रुतापूर्ण र मैत्रीपूर्ण अन्तर्विरोधहरूलाई एउटै डालोमा हालेर विरोध गर्ने प्रवृत्ति पनि देखापर्ने गरेका छन् । यस खालका प्रवृत्ति गलत हुन् र तिनलाई निरूत्साहित गर्नुपर्दछ । हामीले माक्र्सवादी समालोचनामा विद्यमान अन्तर्विरोधहरूको समाधान मैत्रीपूर्ण ढङ्गले गर्नुपर्दछ । यसो गर्दा आवश्यक छलफल तथा बहस चलाउन, विभिन्न अन्तक्र्रिया तथा गोष्ठीहरु सञ्चालन गर्न र एकता–सङ्घर्ष–रूपान्तरणको द्वन्द्ववादी विधि अवलम्बन गरी अगाडि बढ्न जरुरी हुन्छ ।
माक्र्सवादी सांस्कृतिक आन्दोलनमा आफूलाई अब्बल क्रान्तिकारी ठान्ने र अरू सबैमा दोषैदोष देख्ने प्रवृत्ति पनि छ । स्वस्थ आलोचनाका सट्टा यस्तो पूर्वाग्रही प्रवृत्तिले विचलनवादका विरुद्धको सांस्कृतिक आन्दोलनलाई कसरी एकताबद्ध र मजबुत बनाउन सकिएला ?
– हो, यस ढङ्गको प्रवृत्ति अवश्य नै छ । यो प्रवृत्ति कायमै रहेमा सांस्कृतिक आन्दोलनलाई एकताबद्ध तथा मजबुत तुल्याउने काममा जटिलता त पैदा हुन्छ नै । तर, आफ्नो दोष र कमजोरीका कारण यो प्रवृत्ति त्यसै रूपमा लामो समयसम्म टिकिरहन सक्तैन । यस क्षेत्रमा पनि हामीले एकता–सङ्घर्ष तथा रूपान्तरणको विधिद्वारा यस ढङ्गको प्रवृत्तिमाथि विजय हासिल गर्दै जानु पर्दछ ।
समग्रमा माक्र्सवादी समालोचनाका समस्या र चुनौती कस्तो देख्नुहुन्छ ?
– मार्क्सवादी समालोचनाका क्षेत्रमा कतिपय समस्या र चुनौती रहिआएका छन् । तिनलाई छोटकरीमा यसरी प्रस्तुत गर्न सकिन्छः पहिलो, पुरानो पिंढीका समालोचकहरू स्वभावतः बढी क्रियाशील बन्ने स्थिति छैन । यस अवस्थामा प्रौढ तथा स्थापित समालोचकहरू आवश्यक जोश र जाँगरका साथ सक्रिय बन्न जरुरी देखिन्छ । साथै, ऊर्जाशील नयाँ समालोचकहरूको पंक्तिलाई राम्रोसित तयार गर्नुपर्ने आवश्यकता छ । दोस्रो, हामीमा कुनै बेला उदारवादी, कुनै बेला प्रभाववादी र कुनै बेला मित्रहरूप्रति असहिष्णु बन्ने कमी, कमजोरी तथा सीमाहरू पनि रहिआएका छन् । तेस्रो, समालोचना विचारधारात्मक सङ्घर्षको थलो हो । त्यसैले यस क्षेत्रमा अध्ययनको स्तरलाई बढाउँदै जान जरुरी हुन्छ । यसमा पनि हाम्रा कतिपय सीमा रहिआएका छन् । चौथो, समसामयिक सन्दर्भमा लेखनका ज्वलन्त तथा व्यापक विषयलाई उजागर गर्ने र नयाँ स्रष्टाहरूलाई यथेष्ट रूपमा पथप्रदर्शित तथा प्रोत्साहित गर्दै जाने काममा सैद्धान्तिक तथा व्यावहारिक दुवै खाले समालोचनाको आवश्यकता छ । यसतर्फ यथेष्ट ध्यान जान सकेको छैन । पाँचौं, प्रतिध्रुवीय तथा संशोधनवादी धाराको सशक्त विरोध र मार्क्सवादीधारालाई अझैं धारिलो एवम् विकसित तुल्याउँदै जाने काममा हाम्रा सीमा रहिआएका छन् । यस प्रकारका समस्या तथा चुनौतीहरूको सामना गर्न सकिन्छ र त्यसका लागि हामीमा अझैं दृढ इच्छाशक्ति, क्रियाशीलता तथा साहस हुन जरुरी छ ।
जनयुद्धको एउटा धारा संसदवादमा स्खलित भएपछि जनयुद्धका वैचारिक र सांस्कृतिक आदर्शको जसरी विघटन हुँदै गएको छ, त्यसले सांस्कृतिक आन्दोलनलाई पनि प्रभाव पारेको छ र एक प्रकारले सांस्कृतिक आन्दोलन छिन्नभिन्न हुन पुगेको अवस्था छ । यस अवस्थालाई तपाईंले कसरी हेरिरहनुभएको छ ? यस परिस्थितिको सामना कसरी गर्नुपर्ला र सांस्कृतिक आन्दोलनलाई कसरी गतिशील बनाउन सकिएला ?
– हो, यहाँले बताउनु भए जस्तै जनयुद्धको एउटा धारामा स्खलन आएपछि क्रान्तिमा वैचारिक तथा सांस्कृतिक आदर्शलाई विघटित गराउन खोजिंदै छ । यो आजको सांस्कृतिक आन्दोलनको गम्भीर समस्या हो । अहिले सांस्कृतिक आन्दोलन विभाजित र विश्रृङ्खलित हुन पुगेको छ । सांस्कृतिक आन्दोलन कुनै विशुद्ध ढङ्गको आन्दोलन नभई विचारधारात्मक तथा राजनीतिक आन्दोलनसित जोडिएको हुन्छ । आज एकातिर दक्षिणपन्थी संशोधनवादको वर्चस्व र अर्काेतिर क्रान्तिकारी कम्युनिस्ट आन्दोलन कमजोर बन्न गएको स्थितिमा सांस्कृतिक आन्दोलन पनि कमजोर अवस्थामा नै छ । त्यसैले यो बेला माक्र्सवादी विचारधारा र जनयुद्धका वैचारिक तथा सांस्कृतिक आदर्शलाई शीर्ष स्थानमा राखी नयाँ ढङ्गले क्रान्तिको तयारी गर्ने र क्रान्तिकारी शक्ति तथा संगठनलाई एकताबद्ध तुल्याउने काममा विशेष जोड दिन जरुरी छ । अनि यसै प्रक्रियामा दक्षिणपन्थी अवसरवादले पैदा गरेको प्रतिकूल परिस्थितिको सामना गर्न र सांस्कृतिक आन्दोलनलाई एकताबद्ध तथा गतिशील तुल्याउन सकिन्छ । अहिले हामी यसै दिशामा केन्द्रित तथा प्रयत्नशील रहिआएका छौं ।
कैयन् स्रष्टाहरू संसदवादमा स्खलित माओवादी नामधारी पार्टीमै बस्न रमाइरहेका छन्/रमाउँछन् र सिर्जना चाहिँ मार्क्सवादी लेख्ने दावी गर्छन् । यस्तो अन्तर्विरोधी कर्म कति सम्भव छ ? यसरी प्रगतिवादी लेखन सम्भव छ ?
– संसदवादमा स्खलित माओवादी नामधारी पार्टीमा बस्न रमाउने र रमाइरहेका, तर सिर्जना चाहि मार्क्सवादी लेखनको दावी गर्ने र गर्दै आइरहेका स्रष्टाहरूबाट प्रगतिवादी लेखन सम्भव छैन । उनीहरूले मार्क्सवादको आवरणमा केही भ्रम दिन खोजे पनि त्यो उजागर बन्ने र बन्दै जाने कुरा निश्चित छ ।
जनयुद्ध एउटा महान् ऐतिहासिक परिघटना थियो । साहित्यमा यसको उदात्त प्रतिबिम्बन जति हुनु पर्दथ्यो, त्यति त हुन सकेन नै; समानान्तर धाराका साहित्यकारहरूले जनयुद्धको यथार्थ र यसका आदर्शको विद्रूपीकरण भने निकै गरेका छन् । यसबारे मार्क्सवादी समालोचकरूले जति लेख्नु पथ्र्याे, त्यति लेखेको पाइँदैन भन्ने भनाइ पनि छ । तपाईं कस्तो अनुभव गर्नुहुन्छ ? यस सन्दर्भमा मार्क्सवादी समालोचकको दायित्व के होला ?
– पहिलो कुरा त महान् जनयुद्धका ऐतिहासिक परिघटनाहरूलाई साहित्यमा उदात्त प्रतिबिम्बन गर्ने काम सापेक्ष रूपमा भएकै छ । त्यसमा बढी चिन्तित हुन जरुरी छैन । अझ राम्रो हुनुपथ्र्याे, त्यो हुन सकेन भन्ने कुरा सही हो । दोस्रो, समानान्तर धाराका साहित्यकारहरूले जनयुद्धको यथार्थ र आदर्शको जुन विद्रूपीकरण गरे, त्यसका विरुद्ध पनि मार्क्सवादी समालोचकहरूले आफ्नो सापेक्षतामा लेखेकै छन् । यसमा पनि बढी चिन्तित हुन जरुरी छैन । अझै लेख्नुपथ्र्यो, त्यो अर्कै कुरा हो । यस सन्दर्भमा के भयो, कस्तो हुनुपथ्र्यो, कति सीमा रहे भन्नेबारे सकारात्मक हिसाबले संश्लेषण गर्न जरुरी छ । त्यो मार्क्सवादी समालोचकहरुको दायित्व हो ।
संस्कृति एवम् कलाचिन्तनमा जनयुद्धको प्रभावका रूपमा यसले विकसित गरेको जनयुद्धको सौन्दर्यशास्त्रलाई हामीले अगाडि सा¥यौं । अहिले यसको सान्दर्भिकतालाई कसरी हेर्नुहुन्छ ?
– संस्कृति र कला चिन्तनको क्षेत्रमा जनयुद्धको जुन प्रभाव प¥यो, त्यसको विकसित मान्यतालाई हामीले जनयुद्धको सौन्दर्यशास्त्रका रुपमा संश्लेषण ग¥यौं । त्यो बेला हामीले जसलाई जनयुद्धको सौन्दर्यशास्त्र भनेका थियांै त्यो क्रान्तिको, वर्गसङ्घर्षको तथा वर्गयुद्धको अभिव्यक्ति र माक्र्सवादी सौन्दर्यशास्त्रकै अभिन्न अङ्ग तथा परिधि अन्तर्गत नै थियो । त्यो बेलाको विशिष्टता र सापेक्षतामाजे भनियो त्यो सही थियो र त्यसले अहिले तथा भावी क्रान्तिका सन्दर्भमा पनि हामीलाई सार्थक उत्प्रेरणा प्रदान गर्दछ । तर, अब अहिलेको सन्दर्भमा पनि त्यही पदावलीलाई नै प्रयोग गरेर जानु सान्दर्भिक हुँदैन ।
संसदीय गणतन्त्र स्थापनायता विभिन्न सन्दर्भमा पहिचानको प्रश्न प्रबल रूपमा उठेको देखिन्छ । वर्गबोधी चेतना राख्ने र मुक्तिका लागि वर्गसङ्घर्षमा विश्वास गर्ने माक्र्सवादी स्रष्टाहरूले पहिचानको प्रश्नलाई कसरी सम्बोधन गर्नुपर्छ ?
– हो, संसदीय गणतन्त्रको स्थापनायता पहिचानको प्रश्न प्रबल रूपमा उठ्दै आएको छ । पहिचानको प्रश्नलाई ठीकसित बुझ्ने र परिभाषित गर्नेबारे प्रशस्तै विभ्रमहरू पैदा हुँदै आएका छन् । एकातिर आफूलाई माक्र्सवादी बताउने कतिपय ब्राह्मणवादीहरूले पहिचानको नामै सुन्न चाहँदैनन् भने अर्काेतिर साम्राज्यवााद पक्षधर तत्त्वहरूले पहिचानको प्रश्नलाई वर्गको विरोध तथा वर्गका समानान्तरमा स्थापित गर्न खोजिरहेका छन् । हामीले यी दुवैथरी विचारहरूको विरोध तथा खण्डन गर्नुपर्दछ ।
जनजाति, महिला, दलित, मधेसी जस्ता समुदाय एकातिर वर्ग र अर्काेतिर आ–आफ्ना समुदायगत विशिष्ट स्वत्व दुवै पक्षसित सम्बन्धित छन् । यी दुईमा वर्गबोध वा वर्गीय प्रश्नकै प्रधानता हुन्छ र ती सबै समुदायमाथिका उत्पीडन पनि अन्ततः र सारतः वर्गीय उत्पीडन नै हुन् । तर पनि तिनीहरूको विशिष्ट स्वरूप र चरित्रका आधारमा समुदायगत विशिष्ट स्वत्वलाई स्वीकार गर्नैपर्ने हुन्छ । त्यही विशिष्ट स्वत्वलाई कसैले पहिचानको नाम दिन्छ भने त्यो टाउको दुखाइको विषय हुन सक्तैन । अपितु पहिचान, पहिचानको राजनीति र पहिचानवाद एउटै कुरा भने होइनन् । पहिचानको राजनीति वा पहिचानवाद वर्गीय मान्यता तथा मार्क्सवादका विरुद्ध परिलक्षित छ र त्यो साम्राज्यवाद, उत्तर–आधुनिकतावाद र उत्तर मार्क्सवादसित सम्बन्धित छ । त्यसको हामीले विरोध गर्नुपर्दछ ।
वर्गीय सम्बन्ध, वर्गसङ्घर्ष, राष्ट्रियता, जनतन्त्र र जनजीविका जस्ता प्रश्नहरू त महङ्खवपूर्ण छन् नै, पुँजीवादले सिर्जना गरेका वातावरणीय समस्या/सङ्कट, मानवव्यापार र बढ्दो आप्रवासन, उपभोक्तावादी बजारवादले गरिरहेको शरीरको वस्तुकरण जस्ता समकालीन विषय र मुद्दाबारे पनि लेख्नुपर्ने होइन र ? माक्र्सवादी स्रष्टाहरूले यी विषयलाई कसरी सम्बोधन गर्नुपर्दछ ?
– यहाँले उल्लेख गर्नुभएको विषय सही हो । वातावरणीय समस्या, मानव व्यापार, बढ्दो आप्रवासन र उपभोक्तावादी बजारवादले गरिरहेको शरीरको वस्तुकरण जस्ता समकालीन विषयमा समेत मार्क्सवादी स्रष्टाहरुले लेख्न र रचनात्मक कार्यलाई विशेष महत्व दिन जरुरी छ । यी विषयहरुमा मार्क्सवादी स्रष्टाहरूको कम ध्यान गएको छ, अब त्यस्तो गर्नुहुँदैन ।
नेपालको कम्युनिस्ट आन्दोलन र सांस्कृतिक चिन्तनमा केही समययता वर्तमान समाजको मुख्य उत्पादक शक्ति मजदुर–किसान (श्रमजीवी मानिस) नभई प्रविधि हो भन्ने व्याख्या गरिँदै छ । त्यसै गरी एक थरी लेखकहरू गोर्की कालीन समाजवादी यथार्थवाद पुरानो भएको धारणा राख्दै इतिहासका प्राप्तिलाई उपेक्षा गर्ने र इतिहासप्रति उदासीन रही माक्र्सवादी सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउने तर्क गरिरहेका छन् । यस चिन्तन प्रवृत्तिलाई कसरी हेर्दै हुनुहुन्छ ?
– यी दुवै प्रकारका चिन्तन प्रवृत्ति गलत हुन् र जसले मजदुर, किसान अर्थात् श्रमजीवी मानिस होइन, प्रविधिलाई मुख्य उत्पादक शक्ति बताउने गरेका छन् तिनको मार्क्सवादसित कुनै साइनो छैन । ती उत्तर–आधुनिकतावाद र उत्तर मार्क्सवादका अनुयायी हुन् । श्रमजीवी मानिसलाई प्रमुख उत्पादक शाक्तिका रुपमा ग्रहण गर्न अस्वीकार गर्नु र त्यसको सट्टामा प्रविधिलाई प्रमुखता दिनु भनेको माक्र्सद्वारा विकसित तथा प्रतिपादित मूल्यको श्रमसिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तका विरुद्ध र अन्ततः मार्क्सवादकै विरुद्ध जानु हो । त्यस्तै गोर्कीकालीन समाजवादी यथार्थवाद पुरानो भयो भन्नु पनि मार्क्सवाद पुरानो भयो भन्ने संशोधनवादी मान्यता जस्तै हो । यो ऐतिहासिक भौतिकवाद र इतिहासलाई निषेध गर्ने शून्यवादी तथा फुकोवादी चिन्तनकै एउटा अभिव्यक्ति हो । हामीले यी दुवै प्रकारका चिन्तन प्रवृत्तिको सशक्त विरोध तथा खण्डन गर्नुपर्दछ ।
समाजवादी यथार्थवादी लेखनका शिल्पको विकासमा पनि स्रष्टाहरूको ध्यान जानुपर्ने हो कि ?माक्र्सवादी वृत्तभित्रै शिल्पको विकास भएन, परम्परित शिल्पले पुग्दैन भन्ने तर्क पनि गरिन्छ । शिल्पमा विकासको आवश्यकतालाई कसरी हेर्नुहुन्छ ?
– शिल्पको विकास गर्नुपर्दछ, शिल्पको विकासको आवश्यकता छ । सामान्यतः यो एक निर्विवाद विषय हो । तर, ठीक यहीँनिर कतै शिल्पवादी कोणबाट समाजवादी यथार्थवादमाथि प्रहार त भइरहेको छैन, त्यसतर्फ पनि सतर्क रहनुपर्दछ । आधुनिकतावादी/प्रयोगवादीहरुद्वारा मार्क्सवादी साहित्यकारहरुमाथि नारावादी लेखनको आरोप लगाइएको विगतको सन्दर्भमाथि पनि आवश्यक दृष्टि दिन जरुरी छ । विषयवस्तुलाई पचाएर अन्तर्वस्तुमा ढाल्दा र त्यसको सजीव ढङ्गले रूपाङ्कन गर्दा स्वतः शिल्प पक्ष पनि विकसित हुन पुग्दछ । परन्तु, रुपका खातिर अन्तर्वस्तुलाई बलि चढाउन भने सकिँदैन ।
शिल्पकै कुरा गर्दा समाजवादी यथार्थवादी रचनामा मिथक र स्वैरकल्पनाको प्रयोग कुन स्तरसम्म उपयुक्त हुन्छ ? जादुई यथार्थको टेक्निकको उपयोगलाई कसरी हेर्नुहुन्छ ?
– कलाशिल्पका क्षेत्रमा मिथक, स्वैरकल्पना र जादुको कुरा गर्दा तिनको ऐतिहासिक सन्दर्भबारे थोरै चर्चा गर्न जरुरी छ । आदिम समाजमा गणचिन्हवादमा आधारित मानवीय जीवन पद्घति मिथक, स्वैर कल्पना र जादुगरीले भरपुर थियो । कलाको उत्पत्ति श्रमकार्यमा संलग्न मानिसहरुका जादुटुना, मिथक र स्वैरकल्पनाकै बीचबाट भएको हो । आज जसलाई कल्पना भनिन्छ त्यसको मूल स्रोत मिथक नै हो । आदिम कालमा मिथक र स्वैर कल्पना इन्द्रजालिक जादुमय कर्मकाण्डसित जोडिएका थिए । मिथकीय चिन्तनकै विकास प्रक्रियामा स्वैरकल्पना (फेन्टासी) जन्मियो । अनि त्यसै क्रममा सज्जात्मक/ललित कल्पना (फेन्सी) विकसित हुन गयो । अनि त्यस पश्चात् पुँजीवादी युगको विकास प्रक्रियामा स्वच्छन्दतावादी कालमा कल्पनाको सैद्घान्तिक मान्यता विकसित हुन पुग्यो । आजको युगमा पनि परम्पराको विरासतका रुपमा मिथक, स्वैरकल्पना र जादुगरी शिल्पको प्रयोग हुँदै आएको छ ।
जहाँसम्म समाजवादी यथार्थवादी रचनामा शिल्पका रुपमा मिथक र स्वैर कल्पनाको प्रयोगको कुरा हो, त्यो गरिदै आएको छ र गरिनु पनि पर्दछ । मिथकको प्रयोग त समाजवादी यथार्थवादी रचनामा हुँदै आएको छ, परन्तु स्वैरकल्पनाको प्रयोग भने प्रायशः आदर्शवादी र प्रतिध्रुवीय धाराका स्रष्टाहरुले यथार्थ र सामाजिक जीवनबाट पलायनका सन्दर्भमा गरेको पाइन्छ । तैपनि आदर्शवादी र प्रतिक्रियावादी धाराका स्रष्टाहरुले प्रयोग गर्छन् भन्ने नाममा स्वैरकल्पनाको प्रयोगलाई निषेध गर्नु हुँदैन । सजीव यथार्थ र सामाजिक जीवनसित जोडिने हिसाबले उच्च उडान भर्नु पर्दा समाजवादी यथार्थवादी रचनामा स्वैरकल्पनाको प्रयोग गर्नु उपयुक्त नै हुन्छ र त्यसलाई सकारात्मक अर्थमा नै ग्रहण गर्नुपर्दछ । मार्क्सले युनानी मिथकशास्त्रलाई युनानी कलाको आधार र उपकरणको रुपमा प्रस्तुत गर्नु भएको थियो । मार्क्सका अनुसार मिथकले कल्पनाका आधारमा प्राकृतिक शक्तिमाथि नियन्त्रण कायम गर्दछ र त्यस प्रकारका मिथकहरुमा मानिसहरुको विशेष आकर्षण हुने गर्दछ । लेनिनले पनि स्वैर कल्पनाका बारेमा उल्लेख गर्नुभएको छ । लेनिनका अनुसार संज्ञानका क्षेत्रमा मस्तिष्कको प्रक्रिया सरल नभई वक्र हुन्छ र चिन्तन तथा विचारमा स्वैरकल्पनाको अंश रहेकै हुन्छ र विज्ञानका क्षेत्रमा पनि स्वैरकल्पनाको महङ्खवलाई अङ्गीकार गर्नुपर्दछ ।
त्यसैगरी समाजवादी यथार्थवादी रचनामा जादुई शिल्पको प्रयोग पनि सतर्क रहेर गर्न सकिन्छ । दक्षिण अमेरिकाका विभिन्न देशहरुमा प्रतिक्रियावादका विरुद्ध सङ्घर्षको क्रममा यथार्थसित जोडिएर विशेषतः उपन्यासका क्षेत्रमा जादुई शिल्पको प्रयोग गरिएको पाइन्छ । त्यहाँ त्यसरी जादुई शिल्पको प्रयोग गरी अनेकौं यथार्थवादी उपन्यास रचिएका छन् र त्यस प्रकारका जादुगरी यथार्थवादी उपन्यासहरुलाई प्रगतिशीलताकै श्रेणीमा राखिएको पाइन्छ ।
कलाको उद्भव श्रमकार्यका साथै जादुसित पनि जोडिएको छ । आदिम समाजको अवशेषका रुपमा आज पनि कलासित कुनै न कुनै रुपमा जादु पनि जोडिएको देख्न सकिन्छ । यसरी हेर्दा समाजवादी यथार्थवादी रचनामा जादुई शिल्पको प्रयोग गर्दा दुई कुरामाथि ध्यान दिनु पर्दछ । पहिलो, रहस्यवाद तथा चमत्कारवाद, चटके शैली र सतही लेखनमा आधारित वास्तविक जीवन र यथार्थबाट कटेको जादुई शिल्पको प्रयोग गरिनु गलत हुन्छ । दोस्रो, यथार्थ जीवनको धरातलमा उभिएर विषयवस्तुलाई आकर्षक, सजीव, सम्मोहनयुक्त र आह्लादकारी ढङ्गले प्रस्तुत गर्दा जादुई शिल्पको प्रयोग गर्नु उपयुक्त नै हुन्छ ।
नारीवादका अनेक रुपहरु छन् र मुख्यतः यसको उत्तरआधुनिक रूपले नै यसको प्रतिनिधित्व गरेको देखिन्छ तर चिन्तनपरम्परामा समाजवादी नारीवाद, मार्क्सवादी नारीवाद जस्ता अवधारणा पनि पाइन्छन् र विशेषतः मार्क्सवादी नारी लेखकहरूले यसप्रति ज्यादा रुचि लिएको र आफ्नो लेखनलाई मार्क्सवादी नारीवादी लेखन भन्न रुचाउने गरेको पनि देखिन्छ । यसलाई कसरी हेर्नुहुन्छ ? नारीवाद समग्रमै उत्तरआधुनिक लेखन हो वा मार्क्सवादी नारीवादी लेखन पनि सम्भव छ ?
– मार्क्सवादीहरुले नारी मुक्ति आन्दोलन पदावलीको प्रयोग गर्दछन्, नारीवादको होइन । करिब बिसौं शताब्दीको मध्यतिरबाट नारीवादी आन्दोलन विकसित हुँदै गयो र त्यसै क्रममा यसले समालोचनाको क्षेत्रमा पनि प्रवेश ग¥यो । नारी लेखन, नारी मुक्ति आन्दोलन र नारीवाद परस्पर जोडिएका जस्ता देखिए पनि एउटै भने होइनन् । नारीवाद केवल पितृसत्तावाद विरोधी लैङ्गिक आन्दोलन हो । यसले नारी उत्पीडन र मुक्तिको प्रश्नलाई सामाजिक आर्थिक विकासको ऐतिहासिक सन्दर्भ र वर्गीय दृष्टिले हेर्दैन । समाजवादी नारीवाद, माक्र्सवादी नारीवाद जस्ता अवधारणा वा पदावलीको प्रयोग गरिए पनि ती सुधारवाद/नवमाक्र्सवाद/उत्तरआधुनिकतावादसित जोडिएर आएका हुन् । यद्यपि कतिपय नारीवादीहरु मार्क्सवादसित प्रभावित भएका पनि हुन सक्तछन्, तर त्यो बेग्लै कुरा हो ।
मार्क्सवादले नारीमुक्ति आन्दोलनलाई ऐतिहासिक भौतिकवादका आधारमा सामाजिक–आर्थिक उत्पीडनको सन्दर्भमा र वर्गीय दृष्टिकोणले हेर्दछ । नारी मुक्ति आन्दोलन पितृसत्तावादका विरुद्ध परिलक्षित त छ नै, तर त्यत्ति मात्र होइन त्यो समग्र वर्गीय आन्दोलन र मुक्तिसित समेत जोडिएको छ । यसरी हेर्दा मार्क्सवादी नारी लेखन सम्भव र आवश्यक दुवै रहिआएको छ । परन्तु, यस प्रकारको मान्यताका विरोधमा मार्क्सवादी नारीवादी लेखन भने आवश्यक र उपयुक्त देखिँदैन । समग्रमा भन्नु पर्दा मार्क्सवाद नारीमाथि हुने शोषण उत्पीडनको विरोध र मुक्तिको पक्षमा सशक्त रुपमा उभिएको छ । मार्क्सवादी समालोचनाले पनि यसै मान्यताको पक्षपोषण गर्दै आएको छ र गर्नु पर्दछ ।
यति कुरा गरिसकेपछि अब आजका समयमा समाजवादी यथार्थवादी कलासाहित्यका मुलभूत विशेषता/अभिलक्षण वा मानकहरु के हुन सक्छन् । समग्रमा भन्दिनोस् न ।
– यो अलि जटिल विषय तथा प्रश्न हो । तैपनि विषयको गम्भीरतामाथि ध्यान दिँदै आजका समयमा समाजवादी यथार्थवादी कला साहित्यका मूल विशेषता/अभिलक्षण/मानकलाई मोटामोटी रुपमा यसरी प्रस्तुत गर्न सकिन्छ ः
१– वर्गीय पक्षधरता, सर्वहारा वर्ग तथा उत्पीडित श्रमजीवी जनसमुदायको मुक्ति, वैज्ञानिक समाजवाद तथा साम्यवादको उदात्त आदर्शप्रति प्रतिबद्धता । चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको प्रक्रियामा विकसित सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्तको समर्थन ।
२– सबै खाले शोषण, उत्पीडन तथा प्रतिक्रियावादी राज्यसत्ता एव व्यवस्था, साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद र संसदवाद तथा संशोधनवादको पनि विरोध ।
३– नयाँ युगचेतनाको मार्गदर्शन । वर्तमान सन्दर्भमा नयाँ युगचेतना भनेको सर्वहारा वर्गीय युगचेतना हो । यो सिद्धान्तको स्तरमा मार्क्सवाद–लेनिनवाद–माओवादमा विकसित हुन पुगेको छ । नयाँ युगचेतनाको मार्गदर्शनलाई मार्क्सवादी सौन्दर्यचिन्तनको आलोक पनि भन्न सकिन्छ ।
४– सर्वहारा वर्गीय युग नायकत्व । सबै खालेप्रतिक्रियावादका विरुद्धको सङ्घर्षमा सर्वहारा वर्ग र श्रमजीवी जनसमुदायका वीर–वीरङ्गनाहरु नै वर्तमान युगका नायक नायिका हुन् भन्ने सच्चाइलाई हृदयङ्गम गर्न जरुरी छ ।
५– यथार्थको कलात्मक प्रतिबिम्बन । यो यथार्थको संज्ञानात्मक, सङ्कल्पात्मक र सौन्दर्यात्मक ढङ्गले प्रतिबिम्बन गर्ने विषय हो । यस अन्तर्गत चित्रण र दिशा निर्देश, दुनियाँ बुझ्ने र बदल्ने जस्ता विषय पनि पर्दछन् ।
६– प्रारुपीकरणको वियय । यो प्रतिनिधिमूलक विचार, परिघटना तथा चरित्र रजीवनका सर्वाेच्च सांस्कृतिक मूल्य तथा उदात्त आदर्शलाई सजीव एवम् घनीभूत ढङ्गले अभिव्यक्त गरिने चिन्तन र आकृति विधानसित सम्बन्धित रहेको छ ।
७. अन्तर्वस्तु र रुपको एकता । यो कलाकृतिलाई जाँच गर्ने समालोचनाको मापदण्डमा आधारित विषय हो । मार्क्सवादका प्रवर्तक तथा चिन्तकहरुले यस प्रकारको मापदण्डलाई प्रस्तुत, स्वीकृत तथा विकसित तुल्याउँदै आएका छन् । माओका अनुसार यो राजनीति र कलाको एकता, अन्तर्वस्तु र रूपको एकता, अनि क्रान्तिकारी अन्तर्वस्तु र कलात्मक रूपको यथासम्भव पूर्णतामा अभिव्यक्त हुन्छ ।
केही समययता नेपाली सञ्चारमाध्यममा केही समानान्तर धाराका र केही प्रगतिशील पहिचान बनाएका लेखकहरूले माक्र्स र माओका यौनजीवनबारे प्रश्न उठाएर बलात्कारीसम्म आरोपित गरेका विचारहरू प्रकाशित गरिरहेका छन् । लेनिनले पनि यस्तो प्रवृत्तिको संरक्षण गरेको उनीहरूको तर्क छ । उन्नत संस्कृतिका पक्षपाती माक्र्सवादी स्रष्टा, संस्कृतिकर्मी सबैले यी विषयलाई कसरी हेर्ने ? यसबारे प्रतिवाद गरिनुपर्ने आवश्यकता ठान्नुहुन्न ?
– हो, मुख्यतः मार्क्स र साथै माओमाथि पनि प्रतिक्रियावादी तथा अवसरवादीद्वारा जुन आरोप तथा लाञ्छना लगाइएका छन् ती विषयबारे मार्क्सवादी स्रष्टा तथा सांस्कृतिक कर्मीहरुबाट सशक्त प्रतिवाद गरिनु पर्दथ्यो र पर्दछ । त्यसो नगरिएकोमा कमजोरी भएको छ । यसबारे यहाँले ध्यानाकर्षण गराउनु भएकोमा म त्यसलाई गम्भीर तथा सकारात्मक अर्थमा ग्रहण गर्दछु । यस सन्दर्भमा हामीले सशक्त ढङ्गले कलम चलाउनु पर्दछ ।
संस्कृतिकै कुरा गर्दा १० वर्षको महान् जनयुद्धको प्रक्रियामा सामेल भएकै योद्धाहरू, संस्कृतिकर्मी र नेताहरू समेतमा सांस्कृतिक विचलनका समस्या, वैचारिक विचलनका समस्या अनि जीवनलाई,सामाजिक सांस्कृतिक सन्दर्भलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी कोणबाट हेर्ने कुरामा समस्या निकै मात्रामा देखियो । सामन्तवादका विरुद्ध यस्तो भीषण लडाइँमा सामेल भएर आउँदा पनि सांस्कृतिक रूपान्तरणको पाटो यति धेरै कमजोर किन भएको होला ? यसको समीक्षा कसरी गर्ने ?
– दश वर्षीय महान् जनयुद्धमा सामेल भएका नेता, सांस्कृतिक कर्मी तथा योद्धाहरूमा जुन गम्भीर प्रकृतिका सांस्कृतिक तथा वैचारिक विचलनका समस्या पैदा भए र सांस्कृतिक रूपान्तरणको पाटो जसरी कमजोर हुन पुग्यो, त्यसका पछाडि सन्निहित एउटा मूल कारणका रूपमा क्रान्तिप्रति गरिएको गम्भीर विश्वासघात र गद्दारीलाई नै लिनुपर्दछ । यहाँनेर क्रान्तिकारीहरुका पनि कतिपय सीमा तथा कमजोरी रहन गए । यस समग्र परिघटनाको सूक्ष्म तथा गहन विश्लेषण गरी ठोस समीक्षा गर्नुपर्दछ र त्यसबाट आवश्यक शिक्षा लिई क्रान्तिको यात्रामा दृढतापूर्वक अगाडि बढ्नुपर्दछ । साथै, यहाँनेर सैद्घान्तिक अर्थमा कुन कुरामा पनि स्पष्ट हुनु पर्दछ भने सांस्कृतिक रुपान्तरण तथा क्रान्तिको प्रश्नलाई दीर्घकालीन ढङ्गले सञ्चालन गरिने विचारधारात्मक सङ्घर्षका रुपमा पनि ग्रहण गर्नु पर्दछ । ठीक यहींनेर हामीले महान् सर्वहारा सांस्कृतिक क्रान्तिको महत्वलाई गम्भीरतापूर्वक आत्मसात् गर्न जरुरी छ ।
अन्त्यमा, पुरस्कारबारे केही कुरा गरौं । नेपालकै सन्दर्भमा राजकीय संस्थाहरू र राज्यकै विचारधारासँग जोडिएका गैरसरकारी संस्थाहरू समेतद्वारा साहित्यिक पुरस्कार दिने गरिएको परम्परा छँदै छ । यसबाहेक निजी क्षेत्रमा स्थापित थुप्रै सङ्घसंस्था तथा सामाजिक स्तरमा स्थापित साझा चरित्रका सङ्घसंस्थाले पनि साहित्यिक पुरस्कारहरू प्रदान गर्दै आएका छन् । प्रगतिशील चरित्र बोकेका संस्थाले पनि पुरस्कार दिने गरेका छन् । यस परिप्रेक्षयमा खास गरी प्रगतिवादी स्रष्टाहरूले पुरस्कार/सम्मान ग्रहण गर्दा विवादहरू अथवा प्रश्नहरू पनि उठ्ने गर्छन् । यस विषयमा प्रगतिवादी स्रष्टाहरूले कस्तो नीति अँगाल्नु उपयुक्त हुन्छ ?
– प्रतिक्रियावादी सङ्घ संस्था तथा व्यक्तिहरुबाट दिइने पुरस्कार/सम्मान ग्रहण गरिनु हुन्न भन्ने कुरा स्वतः स्पष्ट छ । प्रगतिशील चरित्र बोकेको सङ्घ–संस्था तथा व्यक्तिहरुबाट दिइने पुरस्कार/सम्मान ग्रहण गर्नु उपयुक्त हुन्छ भन्ने लाग्छ । यसबारे समग्रमा अध्ययन गरी उपयुक्त मापदण्ड बनाउन जरुरी देखिन्छ ।
यहाँको स्वास्थ्य अवस्थाका बावजुद लेखनमा सक्रिय नै हुनुहुन्छ । अबको लेखन परियोजना के छ ?
– लेखनको योजना त छ । तर के कस्तो हुन्छ, हेरौं । हार्दिक धन्यवाद !
(इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा प्रकाशित प्रवर्तक अङ्क ८ बाट साभार गरिएको– सम्पादक)