गलकोट माविलाई राष्ट्रपति रनिङ शिल्ड

गलकोट माविलाई राष्ट्रपति रनिङ शिल्ड

माघ २९, २०७९

बागलुङ — यहाँ सञ्चालित १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गलकोट माविले उचालेको छ । गलकोट नगरस्तरीय प्रतियोगितामा सबैभन्दा धेरै ८ स्वर्ण पदकसहित गलकोट माविले उपाधि उचालेको हो ।

प्रतियोगितामा काँडेबासको जनजागृति मावि दोस्रो र गोल्डेन फ्युचर मावि तृतीय भए । जनजागृतिले ५ स्वर्ण, ५ रजत र ३ कास्य तथा गोल्डेनले ३ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको गलकोट नगरपालिका सामाजिक विकास समितिका अध्यक्ष हिमबहादुर भण्डारीले बताए ।

चौराहा माविले ३ स्वर्ण, २ रजत तथा सरस्वती मावि दुदिलाभाटीले २ स्वर्ण र १ कास्य पदक जितेको थियो । प्रतियोगितामा सबैभन्दा आर्कषक रहेको छात्रतर्फको भलिबल प्रतियोगिता भने पृथ्वी मावि हरिचौरले जितेको छ । पृथ्वीले गलकोट माविलाई ३–० को सेटमा जित हात पारेको हो । पृथ्वीले २५–१३, २९–२७ र २५–२०को सेटमा जित हात पारेको नगर शिक्षा अधिकृत शिव खड्काले जानकारी दिए । भलिबलतर्फ महेन्द्र मावि नरेठाँटी तृतीय भएको थियो । गलकोट नगरप्रमुख भरत शर्मा गैरेले पुरस्कार प्रदान गर्दै खेल क्षेत्रमा गलकोटलाई अब्बल बनाउने लक्षले नियमित प्रतियोगितामा लगानी गरिएको बताए ।

खेलमा पृथ्वी माविका किरण विक बेस्ट प्लेयर भए । महेन्द्र माविका राजु परियार बेस्ट स्पाइकर, गलकोट माविका निखिल सुनार वेस्ट सेटर, पृथ्वी माविका सन्जोक पुन वेस्ट सर्भर, पृथ्वीकै प्रज्वल राना बेस्ट ब्लकर, पृथ्वीकै विक्रम श्रीश बेस्ट डिफेन्डर र मिलन सुनार बेस्ट कोच घोषित भएका छन् ।

यसअघि सम्पन्न दोस्रो मेयरकप भलिबल प्रतियोगिताको उपाधि पनि गलकोट नगरपालिका रातोले जितेको छ । फाइनलमा गलकोटकै दुई टीमबीच प्रतिस्पर्धा भएको थियो । खेलमा रातोले गलकोट सेतोलाई ३–० को सेटमा जित हात पारेको हो । मेयर कपसहित गलकोटले १ लाख नगद पुरस्कार समेत पाएको छ । जिल्लाका ९ पालिकाले खेलमा भाग लिएका थिए ।