माघ २९, २०७९
नागपुर — भारतले अस्ट्रेलियालाई पहिलो टेस्टमा तीन दिनभित्र एक इनिङ्स र १ सय ३२ रनले पराजित गर्दै शनिबार चार टेस्टको शृंखलामा उत्कृष्ट सुरुआत गरेको छ ।
विकेट लिएपछि भारतका स्पिनर रविचन्द्रन अश्विन । तस्बिर स् एपी
स्पिनर रविचन्द्रन अश्विनले ५–३७ को उत्कृष्ट प्रदर्शन गर्दै पाहुना टिमलाई धराशायी बनाएका थिए । नागपुरमा भारतलाई फेरि ब्याटिङ गर्नका लागि २ सय २३ रन बनाउनुपर्ने अवस्थाबाट गुज्रिएको अस्ट्रेलिया ९१ रनमै सीमित भयो । स्टिभ स्मिथ २५ रनमा अविजित रहे पनि अर्कोतर्फ अस्ट्रेलियाको विकेट ढलिरह्यो ।
भारतले ३२१–७ को स्थितिबाट दिनको खेल सुरु गरेको थियो र ४ सय रनमा अलआउट भयो । पहिलो टेस्ट खेलिरहेका अस्ट्रेलियन स्पिनर टोड मर्फीले उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेट लिए । त्यसक्रममा उनले १ सय २४ रन दिए । अस्ट्रेलियाले भारतीय भूमिमा सबैभन्दा कम रन बनाएको हो । यसअघि मुम्बईमा १३ रनले हारेको सन् २००४ को खेलमा ९३ रन बनाएको थियो ।
ओपनर उस्मन ख्वाजालाई अश्विनले ५ रनमा छँदै विराट कोहलीमार्फत् क्याचआउट गराए, जुन बेला अस्ट्रेलियाको दोस्रो इनिङ्सको दोस्रो ओभरमात्रै भएको थियो । मार्नस लाबुसान्जेलाई रवीन्द्र जडेजाले १७ रनमा छँदा ११ औं ओभरमा एलबीडब्लु धरापमा पारे । डेविड वार्नरलाई पनि १० रनमै अश्विनले एलबीडब्लुमा सिकार बनाएपछि अस्ट्रेलिया ३४–३ को खराब अवस्थामा पुगेको थियो ।
पाहुना टिमले अन्तिम ७ विकेट ५७ रनमा गुमाएपछि इनिङ्स जम्मा दुई घन्टामै सकिएको थियो । अश्विनले ८९ टेस्टमा ३१ औं पटक ५ विकेटको उपलब्धि हात पारेका हुन् । उनले यो टेस्ट ८–७९ मा टुंग्याए । बायाँहाते बलर जडेजाले दोस्रो इनिङ्समा २–३४ को प्रदर्शन गरे । पछि उनलाई पहिलो इनिङ्समा इन्टरनेसनल क्रिकेट काउन्सिल ९आईसीसी० को नियम उल्लंघन गरेकाले अनुशासन कारबाही गर्दै म्याच फीमा २५ प्रतिशत जरिवाना र एक खराब अंक दिने निर्णय भएको छ । ३४ वर्षीय उनीमाथि अम्पायरलाई जानकारी नदिएर वा स्वीकृति नलिएरै औंलामा क्रिम प्रयोग गरेकाले कारबाही गरिएको हो ।
गृष्म ऋतुमा ओभलमा हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन यो शृंखलालाई महत्त्वपूर्ण वा एउटा छनोटको रूपमा लिइएको छ । अस्ट्रेलिया र भारत वरीयतामा शीर्ष दुई टिम हुन् । भारतलाई फाइनलमा स्थान बनाउन शृंखलामा ३–१ को जित आवश्यक छ । कप्तान प्याट कमिन्सको टिम शीर्षस्थानमा रहेको छ । उसलाई चारमध्ये एक टेस्टमा बराबरी नतिजाले पनि फाइनलमा पुर्याउने छ ।
कप्तान रोहित शर्माको १ सय २० रनले पनि भारतलाई जित दिलाउन सहयोग गर्यो । उनले भने, ‘यस्तो खालको शृंखला खेल्ने हो भने उत्कृष्ट सुरुआत गर्नु महत्त्वपूर्ण हुन्छ । म खुसी छु कि मेरो प्रदर्शनले टिमलाई सहयोग गरेको छ ।’ दोस्रो टेस्ट शुक्रबार नयाँ दिल्लीमा सुरु हुनेछ ।