मकवानपुर विजयी

मकवानपुर विजयी

माघ २९, २०७९

मकवानपुर — पाँचौं सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मकवानपुर ११ टिम विजयी भएको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा मकवानपुरले नव जनजागृति युवा क्लब सिमरालाई २–० ले पराजित गरेको छ । मकवानपुरको जितमा दुवै गोल पहिलो हाफमा सम्भव भएको हो ।

विजेताका प्रितम स्याङ्बो र फागुराम चौधरीले गोल गरेका थिए । प्रितमले १२ औं र फागुराम चौधरीले ३९ औं मिनेटमा गोल गरेका थिए । सिमराका गोलरक्षक रोहन मगरले गरेको गल्तीको फाइदा उठाउँदै प्रितमले टोलीलाई अग्रता दिलाए । सिमराका गोलरक्षकले मकवानपुरका खेलाडीले गरेको बल हातबाट फुत्काएपछि प्रितमले बललाई जालीको सम्पर्कमा पुर्‍याएका थिए । मकवानपुरका युवा फरवार्ड विश्व लामाले मैदानको दायाँ भागबाट क्रस गरेको बलमा फागुरामले सहजै गोल गरे ।

मकवानपुरका विदेशी खेलाडी एल्यु म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । आयोजकले तीन विदेशी खेलाडी मैदान उतारेको थियो । खेलको ५० औं मिनेटमा सिमरा १० खेलाडीमा सीमित भएको थियो । मकवानपुरका प्रितमलाई खराब फाउल गरेपछि सिमराका जनक कोइरालालाई रेफ्री विश्वास कार्कीले सिधै रातो कार्ड देखाएका थिए । दोस्रो हाफमा मकवानपुरले करिब आधा दर्जनभन्दा राम्रो अवसर चुकायो ।

१० खेलाडीमा सीमित भएपछि सिमरा थप दबाब आयो । उनीहरूले मकवानपुरको पोस्टमा खासै लोभलाग्दो प्रहार गर्न सकेनन् । मकवानपुरका गोलरक्षक अशोक बराल फुर्सदमै रहे । मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले खेलमा चाँडै स्कोर निस्किदा गाह्रो भएको बताए । उनले दोस्रोमा हाफमा रातो कार्ड पाएपछि सिमरा दबाब आएकाले प्राप्त मौका सदुपयोग गर्न नसकेको बताए । ‘हामी अझै बढी गोल गर्न सक्थ्यौं । तर, त्यसो भएन । खेलाडीले प्राप्त मौक सदुपयोग नै गर्न सकेनन् ।’ प्रशिक्षक श्रेष्ठले अन्तिम आठमा अझै सुधारिएको खेल प्रस्तुत गर्ने समेत बताए ।

सात ‘ए’ डिभिजन र एउटा विदेशीसहित १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल फागुन १० मा हुनेछ । विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइकको प्राप्त गर्नेछन् । आइतबार ‘ए’ डिभिजन टोली सातदोबाटो युथ र एपीएफबीच खेल हुनेछ ।