माओवादी केन्द्रमा एकताको प्रयास कि फुटको बिजारोपण ?

माओवादी केन्द्रमा एकताको प्रयास कि फुटको बिजारोपण ?

बर्तमान सरकारको नेतृत्वमा रहेको माओवादी केन्द्रले हालैका दिनमा एकैपटक पार्टीभित्र ब्यापक हेरफेर, पार्टी सुदृढिकरण अभियान र बिभिन्न समूहहरुसँग पार्टी एकताका लागि प्रयासहरु थालेको देखिएको छ । पार्टीको पोलिट ब्युरो बिघटन भएको छभने अखिल क्रान्तिक्रारीलगायतका बिभिन्न जनबर्गिय र पेशागत संगठनहरु बिघटनगर्न थालिएका छन् । पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्नेभन्दै सुझावहरु मागिएका छन् । सो पार्टीले पदाधिकारीहरुको जिम्मेवारीमा थप तथा हेरफेर गरेको पनि देखिएको छ । एकातिर यसरी पार्टी पंक्तिलाई अलगथलग बनाउने काम तीब्र पारिएको छभने अर्कातिर आगामी दुई महिनाभित्र सुदृढिकरण अभियान सञ्चालनगर्ने पनि भनिएको छ । यसै समयमा दिनदिनै फरक, फरक समूहहरुसँग पार्टी एकताका लागि छलफल भएका समाचारहरु पनि बाहिर आउनेक्रम जारी छ । साथै पार्टीको नामबाट ‘नेकपा’ र ‘माओवादी’ शब्द हटाउने कुराहरुको पनि उठान गरिएका छन् । यसरी हेर्दा ०६३ को परिवर्तनपछि सत्ता र शक्तिमा पुगेको र हाल सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका केही शीर्षभनिएका नेताहरुमा चिडचिडाहट एबं के गरौं र कसो गरौंभन्ने छटपटी तीब्रढंगले बढेको देखिएको छ । चिकित्सकीय कोणबाट हेर्दा मानवको जीवनमा यस्तो चिडचिडाहट बढ्नुलाई राम्रो लक्षण मानिंदैन । राजनीतिक कोणबाट पनि पार्टी पंक्तिमा अस्थिरता बढाउनु राम्रो होइन । संगठनगर्ने राम्रो कला भएका नेताहरु आफ्नो पार्टीलाई सुब्यवस्थित र बिश्वसनीय बनाउँदै लान्छन् । सरकारको नेतृत्वमा पुगेको पार्टीले सत्ता गठबन्धनमा एकता, मित्रता र सहभाव बढाउने तथा देश र जनताको पक्षमा जनप्रिय काम गरेर पार्टी संगठनलाई देशब्यापिरुपमा सुदृढ बनाउने संभावना रहँदा रहँदै गठबन्धनमा अबिश्वास र तिक्तता बढाउने खालका कामहरु हुनथालेका छन् । वास्तवमा माओवादी केन्द्रले पछिल्लो समयमा एकसाथ थालेका उपरोक्त कुराहरु एकापसका अत्यन्त बिरोधाभाषपूर्ण रहेका छन् । कुनैपनि दर्शन र बिचारमा आधारित पार्टीमा एकसाथ यस्तो बिरोधाभाषपूर्ण गतिबिधिहरु सञ्चालन गरेर आफ्नै पार्टी पंक्तिलाई अन्योलग्रस्त बनाउने काम गरिंदैन । जब बिभिन्न समूहहरुसँग पार्टी एकताको अभियान चलेको छभने कि त आफ्नो पार्टीको सुदृढिकरणपछि मात्र अन्य पार्टीहरुसँग एकतागर्ने कुरा हुन्छ किभने पार्टी एकता गरिसकेपछि संयुक्तरुपमा पार्टी एकता तथा सुदृढिकरण अभियानहरु सञ्चालन गर्नुपर्छ ।
जब पार्टीले एकता प्रकृयाबाट नयाँ स्वरुप धारण गर्दैछभने त्यस्तो अवस्थामा नेता तथा कार्यकर्ताहरुको मनस्थिति पनि अन्योलपूर्ण भैरहेको हुन्छ । पार्टी सुदृढिकरण अभियान सञ्चालन गर्दागर्दै अन्य पार्टीसँग एकता हुन्छ र अर्कै ढंगको समिति बन्छभने त्यो सुदृढिकरण अभियानको के अर्थ रहन्छ ? फेरी माओवादी केन्द्रले ‘नेकपा’ र ‘माओवादी’ शब्द परित्यागगर्ने भनेका कारण त्यसको निर्णय नभएसम्म पार्टीको सुदृढिकरण अभियान अगाडि बढ्नै सक्तैन । किनकी माओवादी केन्द्रभित्र संसदवादी र नेपाली कांग्रेस निकटका मात्र नभएर अन्य क्रान्तिकारी शक्तिहरु पनि रहेका छन् । माओवादी केन्द्रको नेतृत्व माओवाद र नेकपा शब्द परित्याग गरेर अन्य पार्टीसँग मिल्न गयोभन्दैमा पार्टीका सबै नेता तथा कार्यकर्ता बिना शोचबिचार लामलागेर त्यतै जानुपर्छ भन्ने कुरा हुँदैन । आआफ्नो बिचारअनुसार आफ्नो बाटो तयगर्ने सबैलाई जन्मसिद्ध अधिकार हुन्छ । त्यसैले माओवादी केन्द्रको नेतृत्वले माओवाद र नेकपा शब्द छाडेर एकीकृत समाजवादी, जसपा र नेसपालगायतका दक्षिणपन्थी पार्टीहरुसँग मिल्नुभनेको आफ्नो पार्टीमा बिभाजनको बिजारोपणगर्नु पनि हो । भोली दक्षिणपन्थी पार्टीहरुसँग नेतृत्वले पार्टी एकताको निर्णय गर्नासाथ माओवादी केन्द्रका आधाभन्दा बढी नेता तथा कार्यकर्ताहरु नयाँ ढंगले गोलबन्द हुन बाध्य हुन्छन् । त्यतिबेला हाल पार्टी सुदृढिकरण अभियान र पार्टी एकता अभियान सञ्चालन गरेको कुनै अर्थ रहँदैन । पछिल्लो समयमा माओवादी केन्द्रभित्र बिचारको खेल खेल्नेकि संभावनाको खेल खेल्ने भन्नेमा तीब्र खिचातानी भैरहेको छ ।
नेपाली कांग्रेस लगायतका संसदवादी पार्टीहरुसँग एकतागर्दै दक्षिणपन्थी राजनीतिक बाटो रोजेकाहरु संभावनाको खेल खेल्नथालेका छन्भने सो पार्टीमा बिचारको खेल खेल्नेहरुको पनि कमी रहेको छैन । त्यसैले हालै पार्टीका बिभिन्न समितिहरुको हेरफेरगर्ने र नयाँ कार्य बिभाजनगर्ने नाममा संसदवादीहरुलाई मात्र अगाडि बढाउने र क्रान्तिकारीलाई किनारा लगाउने प्रयास गरिएको सहजै बुझ्न सकिने भएको छ । यसअघि पनि खासगरी ०६३ को राजनीतिक परिवर्तनपछि कतिपय समूहहरु तत्कालीन एमाओवादीहुँदै हालको माओवादी केन्द्रसँग पार्टी एकतागर्न आए । जसमा फिल्टर गरेर पुराना तथा क्रान्तिकारी जतिलाई बिभिन्न बहानामा पाखालगाउने र नेतृत्व निकटकाहरुलाई मात्र अगाडि बढाउने काम हुँदैआएको थियो । हालैमात्र पनि कतिपय जिल्लामा राम्ररी काम नगरेर पार्टीसँगठनलाई कमजोर बनाउन भूमिका खेलेकाहरुलाई सत्ताका बिभिन्न स्थानमा भर्नागरेर पुरस्कृत गरिएको देखिन्छ । माओवादी केन्द्र कहिले एमालेमा पस्ने र कहिले नेपाली कांग्रेसमा पस्ने गर्दैआएको छ । जसलेगर्दा कतिपय होनाहार नेता तथा कार्यकर्ताहरुमा पनि बिचारको स्खलन भएर उनीहरु एमाले र कांग्रेसतिरै आकर्षित भएको देखिएको छ । अब पार्टी सुदृढिकरण अभियानमा पनि उनीहरु माओवादी केन्द्रमै समेटिने कुनै संंभावना रहेको छैन । कस्तो छभने पार्टी एकता अभियानमा जाँदा होस वा सुदृढिकरण अभियानमा जाँदा होस पार्टीको सल्लाहकार समितिमा छलफल भएरमात्र अगाडि बढ्नुपर्नेमा माओवादी केन्द्रले पार्टीको सल्लाहकार समितिलाई बिगत लामो समयदेखि रद्धिको टोकरीमा फाल्ने काम गर्दैआएको छ । पार्टीका नेता तथा कार्यकर्ता को कहाँ, कस्तो अवस्थामा छन्भन्ने कुनै लेखाजोखा नहुने भएकाले हालै गरिएको कार्य बिभाजनमा पार्टी परित्याग गरेर एमालेमा पुगिसकेकाहरुलाई पनि नयाँ सूचीमा समाबेश गरिएको देखिएको छ । जब पार्टीको नीतिनै ‘आयाराम गयाराम’ हुन्छभने यस्तो घटना हुनु कुनै आश्चर्यको बिषय रहँदैन । हालै माओवादी केन्द्रसँग एकता प्रक्रियामा जोडिन आएको कर्णजित बुढाथोकीको एउटा समूहले करिव चार महिनाको अवधीमा चारवटै पार्टीसँग कतै पार्टी एकता गरेको र कतै पार्टी एकता संयोजन समिति बनाएको देखिएको छ । त्यसैगरी एकीकृत समाजवादीले एकातिर अन्य पार्टीसँग पार्टी एकतागर्ने र पार्टीको महाधिवेशनगर्ने निर्णय गरिरहेको छभने माओवादी केन्द्रले सो पार्टीलाई पनि आफ्नो एकता प्रक्रियामा ल्याउने प्रयास गरेको देखिएको छ । यतिबेला माओवादी केन्द्रसँग जतिवटा समूहहरु पार्टी एकता अभियानमा जोडिएका छन् र जोडिने प्रयास गरिरहेका छन्, उनीहरुका शीर्ष नेताहरुको माग सत्तामा कुनै न कुनै पदमा केन्द्रित हुनपुगेको छ । कसैले राष्ट्रपति मागेका छन्, कोही राष्ट्रिय सभाको सदस्य माग्दैछन्, कतिपयको माग राजदूत र राज्यका अन्य कमाउ पदहरुमा केन्द्रित देखिएको छ ।
देश र जनताको पक्षमा कामगर्न चाहानेहरुको संख्या न्युन छ । त्यसैले होला माओवादी केन्द्रको नेतृत्वले पनि आफू सत्ता र शक्तिमाछँदै बिभिन्न पदको चारा हालेर बिभिन्न पार्टीका बिभिन्न नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउने प्रयास थालिहालेको छ । बल्छिमा को को पर्छन् त्योभने हेर्न बाँकीनै छ । देशको संसदीय राजनीतिमा ब्याप्त भएको अबसरवाद अब कम्युनिष्ट पार्टीहरुमा पनि फैलन थालेको छ । को कहिले कुन फइदाका लागि कुन पार्टीमा पस्छ र कतिबेला कुन स्वार्थ नमिलेर निस्कन्छ भन्ने कुनै ठेगान नहुने भएको छ । माओवादी केन्द्रले पदका लागि नेपाली कांग्रेससँग कार्यगत एकतागर्दै आगामी १५/२० बर्षसम्म एक हुने अभिब्यक्ति दिएपछि अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि बिचारको पर्खाल भत्काउन र स्वार्थको खम्बा ठड्याउन लागेका हुन् । कम्युनिष्ट पार्टीको बिचारबाट पलायन भएकाहरुले पार्टीको नाम र चुनाव चिन्हनै बदल्नु राजनीतिक हिसावले सुझबुझपूर्ण कुरा हो । जसलाई राजनीतिक इमान्दारिता मान्नु पर्दछ । यो लेखकलाई सुझाव दिन मनलागेको छकि माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र जसपाकाबीचमा कसैगरी पार्टी एकता भैहाल्योभने नयाँ पार्टीको नाम नेपाली जनता पार्टी राख्दा राम्रो हुन्छ । किनकी छिमेकमा पनि भारतीय जनता पार्टी सत्तामा छ र नेपालमा माओवादी केन्द्रलगायतका दलहरुसँग पार्टीगत सहकार्यमा पनि छ । हाल जुन जुन पार्टीले पार्टी एकताको हल्ला चलाएका छन् ति पार्टीमा फुटको संभावना पनि साथसाथै रहेको देखिन्छ । सबैले बुझे हुन्छ यो शान्त तलाउमा ढुंगा हान्ने काममात्र हो ।