क्रान्तिकारी ट्रेड युनियन महासंघ महोत्तरीको जिल्ला भेला सम्पन्न, प्रेम भुजेलको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन

क्रान्तिकारी ट्रेड युनियन महासंघ महोत्तरीको जिल्ला भेला सम्पन्न, प्रेम भुजेलको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन

बर्दिबास, महोत्तरी । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ महोत्तरीको प्रथम जिल्ला भेला प्रेम भुजेलको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गर्दै बर्दिबासमा सम्पन्न भएको छ । भेलाले श्रमिकवर्ग विरुद्ध वर्तमान राज्य व्यवस्था र सरकारले शोषण, दमन र अत्याचारको बर्बर राजनीति गरेको निष्कर्ष निकाल्दै त्यसप्रकारको राजनीतिका विरुद्ध श्रमिकहरुको पेशागत हक, अधिकार र राजनीतिक व्यवस्थाको पक्षमा संघर्ष गर्ने घोषणा गरेको छ ।

‘मजदुरहरु माथि पुँजिपतिवर्गले चौतर्फी शोषण गरेको छ, अहिले उनीहरु माथि मिटरब्याज, लघु बित्त र बैंकको लूट चलिरहेको छ, तिनीहरु एकप्रकारले मजदुरहरुको रगत चुसिरहेका छन, यो प्रशासन, न्यायलय, सरकारले तिनै मजदुरविरोधीको पक्ष लिएको छ ।’ भन्दै भेलाका प्रमुख अतिथि एवं महासंघका महासचिव बसन्त बोगटीले अब मजदुरहरुले केवल रोटी र रोजगारीका निम्ति नभएर मजदुरवर्गको राजनीतिक व्यवस्था स्थापनाका निम्ति संघर्ष गर्नुपर्ने स्पष्ट गर्नुभयो । ‘अब मजदुरहरुलाई मुक्ति चाहिन्छ, आजादि चाहिन्छ । केवल काम, आराम, मनोरञ्जन होइन, मजदुरवर्ग अधिनस्थ राजनीतिक व्यवस्था चाहिन्छ । त्यसका निम्ति यो राज्य व्यवस्था बदल्नु पर्छ । नयाँ जनवादी, वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्नुपर्छ ।’ ‘अब त्यसको निम्ति संघर्ष गरौं ।’

यसैगरी भेलालाई नन्दु झा, आलोक लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो । महासंघको राष्ट्रिय भेला फागुन २०,२१ र २२ गते विराटनगर, मोरङमा हुँदै छ ।