काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासंघ प्रदेश ३ को दोस्रो भेला सम्पन्न भएको छ । अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले गौरी देवकोटाको नेतृत्वमा २१ सदस्सीय प्रदेश समिति निर्वाचित गरेको छ ।
गौरी देवकोटाको अध्यक्षतामा सम्पन्न भेलामा विशेष अतिथिको आसनबाट भेलालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेश ३ को सेक्रेटरी सुरेश श्रेष्ठले कला साहित्य मार्फत राज्यले निर्माण गरेको विषम परिस्थितलाई नागरिकले बोध गर्ने गरी प्रस्तुत हुन आवश्यक रहेको बताउनु भयो । प्रमुख अतिथि जगदीशचन्द्र भण्डारीले राजनीतिक परिवर्तनका संवाहक कला साहित्य भएकोले लेखक कलाकारहरूले विचारमा कटिबद्ध भएर महत्वपूर्ण भूमिका निभाउनु पर्ने बताउनु भयो ।
इच्छुक प्रतिष्ठानको सभाकक्षमा सम्पन्न उक्त भेलामा शुभकामना मन्तव्य राख्ने क्रममा अखिल नेपाल लेखक संघका अध्यक्ष मित्रलाल पंगेनी, मार्क्सवादी सांस्कृतिक मोर्चाका संयोजक इस्माली, नेकपा क्रान्तिकारी माओवादी पार्टीको केन्द्रीय सदस्य ज्ञानु खतिवडा, विद्यार्थी संगठनका संयोजक प्रभात भट्टराई लगायतले सांस्कृतिक मोर्चाबाट क्रान्तिकारी विचारधारालाई जनसमक्ष प्रभावकारी ढंगले लैजानुपर्ने विषयहरू औल्याउनु भएको थियो ।
उक्त भेलाले पाँच जना सदस्य पछि थप गर्ने गरि २१ सदस्यीय प्रदेश समिति निर्माण गरेको छ । जसमा अध्यक्ष गौरी देवकोटा, उपाध्यक्ष प्रतीक लामा, सचिव अनिश योञ्जन, कोषाध्यक्ष सुनिता बुढाथोकी र सदस्यहरूमा उमाकान्त आचार्य, अमित योञ्जन, सफल सोडारी, विष्णु न्यौपाने, जय दाहाल, मदन योञ्जन, गिरीराज पाठक, पेमा वाङ्मो लामा, देवेन्द्र धामी, गणेश बोहोरा, प्रनिशा कटुवाल र बसुन बमजन तामाङ रहनु भएको छ ।
सांस्कृतिककर्मी प्रतीक लामाको सञ्चालनमा सम्पन्न कार्यक्रमको अन्तमा अध्यक्ष गौरी देवकोटाबाट कला साहित्यको संगम यस जनसांसकृतिक महासंघप्रति गम्भीरतापूर्वक आफूमा आएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै भेला सम्पन्न भएको जानकारी दिनु भएको थियो ।