
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले संशोधनवादका विरुद्ध संगठित गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । पार्टी पिविएम इन्द्रमोहन सिग्देल बसन्तद्वारा लिखित ‘विचारधारात्मक संघर्ष’ पुस्तकको परिचर्चा गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
उहाँले नेपालमा संशोधनवादी र नवसंशोधनवादीहरुको दबदबा रहेको र उनीहरुले जनता र आम कम्युनिस्ट पंक्तिमा छरेको भ्रमलाई नचिरेसम्म क्रान्ति गर्न सम्भव नहुने पनि बताउनु भयो । उहाँले भन्नुभयो, “संसारमा के भइरहेको छ र नेपालको स्थिति कस्तो छ ? भन्ने कुराको सैद्धान्तिक रुपमा सबै चिजको चिरफार नगरिकन क्रान्ति हुन सक्दैन । त्यसका लागि पार्टी पंक्तिमा पठन संस्कृतिको विकास गर्न जरुरी छ ।”
उहाँले नेता बसन्तको पुस्तकमा नेपालमा कसरी क्रान्ति गर्ने हो ? विश्वमा अहिले नवउदारवादको हैकम छ, देशभित्र दलाल पुँजीवाद, नोकरशाही पुँजीवाद, सामन्तवाद अझै त्यहीँ छ । त्यसलाई कसरी पन्छाउने हो ? संशोधनवादका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादी क्रान्तिको दिशामा कसरी अगाडि बढ्ने हो ? यो संशोधनवादको दबदबा, नवसंशोनवादलाई कसरी चिर्ने हो ? फुट हुँदै आइरहेको नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध भएर लैजाने हो ? भन्ने चिन्ता र चासो किताबैभरि अभिव्यक्त भएको पनि बताउनु भयो ।
उहाँले संशोनवादी/नवसंशोधनवादीहरुसँगै केही आफूलाई क्रान्तिकारी भन्ने पार्टीका नेताहरुले प्रविधिलाई प्रधान र मान्छेलाई गौण स्थानमा राख्ने गरेको र यसले पनि कम्युनिस्ट पंक्तिलाई भ्रमित तुल्याउने काम गरेको भन्दै महासचिव किरणले ‘प्रविधिवाद’का विरुद्ध पनि प्रहार केन्द्रित गर्नुपर्ने आवश्यकता ओल्याउनु भयो ।
पुस्तकको परिचर्चा कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य परि थापाले पुस्तकले विचारधारात्मक संघर्ष अर्थात् राजनीतिक भण्डाफोरको क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउनु भयो । कम्युनिस्ट आन्दोलन आर्थिक, सामाजिक र साँस्कृति रुपान्तरणको अभियान भएको र कम्युनिस्टहरुले आफ्नो दैनिक जीवनलाई नै आन्दोलनको रुपमा लिनु पर्ने तर्क गर्नुभयो । कार्लमाक्र्सको भनाइ उल्लेख गर्दै उहाँले कम्युनिस्ट समाज भनेको स्वतन्त्र मानवहरुको स्वतन्त्र समाज बनाउने आन्दोलन भएको बताउनु भयो र भन्नुभयो, “ कम्युनिस्ट बन्नु भनेको नव मानव बन्नु हो । नव मानवको सिर्जना गर्नु हो । त्यसका लागि पुस्तकले प्रेरित गरेको छ ।”
अर्का परिचर्चाकार नेकपा (बहुमत)का कार्यालय सदस्य तथा पार्टी प्रवक्ता सुदर्शनले पुस्तक द्वन्द्वात्मक भौतिकवादी लेखन पद्धतिमा आधारित रहेको र क्रान्तिको चिन्ताका साथ पार्टी पंक्तिलाई प्रशिक्षित तुल्याउन महत्वपुर्ण रहेको बताउनु भयो । उहाँले ज्ञानको सिमालाई क्रमभंग गर्न नसकिएकोले ‘एकता, संघर्ष, रुपान्तरण, नयाँ आधारमा नयाँ एकता’लाई पार्टीको सांगठानिक जीवनमा लागू गर्न नसकिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, “क्रान्तिको निशाना आफैलाई बनाउन जरुरी छ । साँस्कृतिक रुपान्तरणको सुरुवात आफ्नो परिवारबाट सुरु गर्नुपर्छ । व्यक्तिगत स्वामित्वको अन्त्य, सर्वहारावर्गीय अधिनायकत्व, वर्गहरुको उन्मुलन कसरी गर्ने ? आफूले आफैलाई नबदली अरुलाई बदल्न सकिन्न । सुरुवात आफैबाट गर्न जरुरी छ ।”
त्यसैगरी वाम विश्लेषक हरि रोकाले नवउदारवादको सिरानी हालेर समाजवादको वकालत गर्नेहरु नक्कली कम्युनिस्टहरु भएको चर्चा गर्दै एमाले, माओवादी लगायतका संसदवादी कम्युनिस्टहरुले केवल मान्छे बटुल्नका लागि मात्र ‘कम्युनिस्ट ब्रान्ड’ प्रयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “परिवर्तनका लागि उनीहरुले कम्युनिस्ट नाम राखेकै होइनन् ।”
उहाँले प्रचण्डको फ्युजनको थ्यौरीले माओवादी केन्द्रलाई कहिले राप्रपासँग, कहिले कांग्रेससँग त कहिले एमालेसँग फ्युजन गराएको चर्चा गर्दै भन्नुभयो, “फ्युजन भनेको पार्टीको विचार सिद्धान्तबाट च्युत हुने र जोसँग मिल्दा फाइदा हुन्छ उसैसँग मिल्ने सिद्धान्त रहेछ ।” उहाँले जीवनशैली, कार्यशैली, संस्कार, संस्कृतिमा कम्युनिस्टहरुले ‘कम्युनिस्ट जीवनपद्धति’ अँगाल्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो ।
कार्यक्रममा पुस्तक र परिचर्चामाथि आफ्नो धारणा राख्दै इन्द्रमोहन सिग्देलले प्राप्त सुझाबहरुलाई ग्रहण गर्ने भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “माक्र्सवादको सार भनेको संसारलाई बदल्नु हो । नयाँ संसारको निर्माण गर्नु हो । त्यो प्रक्रिया भनेको विचारधारात्मक संघर्ष नै हो । हाम्रो दृष्टिकोण सही भएन भने रुपान्तरण सम्भव छैन । रुपान्तरण संघर्षको उत्कर्ष नै रुपान्तरणको प्रस्थानविन्दु हो । विचारसंघर्षको महत्व यति धेरै छ कि यो चर्को हुन जरुरी छ– क्रान्तिको पक्षमा, रुपान्तरणको पक्षमा । क्रान्तिका निम्ति विचारधारात्मक संघर्ष अनिवार्य छ ।”
भुँडी पुराण प्रकाशनका प्रकाशकको अध्यक्षता र अखिल नेपाल लेखक संघका अध्यक्ष मित्रलाल पंज्ञानीको सञ्चालनमा सम्पन्न परिचर्चा कार्यक्रम इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको थियो ।