आफ्नै घरको कोठामा जीवनसाथीको तस्वीरमा एक्लै माल्यार्पण गरेर स्मृति दिवस मनाएको एउटा चित्र देखेर एकछिन भावुक भएँ । २०६२ माग ७ गते मकवानपुरको झुर्झुरेमा सहादत लिएका ती योद्धा काशिनाथ लामिछाने थिए । उनकी जीवनसङ्गिनी भगवती लामिछानेले फूल माला चढाउँदै गरेको फोटो देखेपछि म अतिततिर फर्किएँ । काशिनाथका दम्पत्तिलाई म नजिकबाट चिन्दछु । तात्कालीन नेकपा माओवादी शान्ती सम्झौतामा आएपछि शक्तिखोरमा रहेका जनमुक्ति सेनाको ब्यारेकमा क. कल्याणको सालिक राखिएको थियो । जनमुक्ति सेनाको एउटा ब्रिगेडलाई अनिश–कल्याण स्मृति ब्रिगेड नाम दिइएको पनि थियो । जनमुक्ति सेनाको विसर्जनपछि ती सालिक त हराए हराए उनीहरूलाई सम्झने परम्परा पनि हराए । माओवादी बिद्रोहमा सहादत हुने कल्याण एक्लो पात्र त होइनन् झण्डै बाह्र हजार योद्धाहरूको रगतले अहिलेको माके यो अवस्थामा पुगेको हो । तर त्यो पार्टीभित्र अहिले जनयुद्धमा सहादत लिने योद्धाहरू एकादेशको कथा बनेको छ । सहादत भएका आफ्ना आफन्तको सम्झना गर्ने भगवती एक्लो होइनन् थुप्रै सहिदका बा–आमा वा छोराछोरी र आफन्तहरूको अवस्था त्यही हो । काशिनाथ लामिछाने जन्मिए हुर्किएको गोरखाको तान्द्राङ काउलेमा उनी लगायत झण्डै एक दर्जन सहिदहरू छन् र यतिबेला उनीसँगै एउटै कमिटिमा रहेका साथीहरू पालिका अध्यक्ष, प्रदेश सभामुख समेत छन् तर किन भगवतीले एक्लै स्मृति दिवस मनाइरहिछिन् प्रश्नले मलाई मात्र होइन माओवादी आन्दोलनका धेरै समर्थकलाई बिझाउने सवाल हो । अहिले गोरखा जिल्लाका थुप्रै पालिकाहरूमा माकेको नेतृत्वमा स्थानीय सत्ता सञ्चालन भएको छ तर सहिदहरूप्रति खासै गम्भीर छैनन् भन्ने यो चित्रले स्पष्ट पार्छ ।

को हुन् काशिनाथ अर्थात् कल्याण ?
पिता पदमप्रसाद र माता हिमकुमारीको कोखमा दोस्रो सन्तानको रूपमा २०२० साल साउनमा जन्मिएका उनी अभावै अभावमा बाल्यकाल बितेको थियो । पदम प्रसादसित पैत्रिक सम्पत्तिको पहुल थिएन । तर असाध्यै श्रमशील थिए । आफ्नै आर्जनको कोदो कोइरालोले लामिछाने दम्पत्तिले चार सन्तान हुर्काए । काशिनाथ सानैदेखि श्रमप्रति इमान्दार र मेहनती थिए । गाउँको सिद्धकाली प्रा.वि.बाट कक्षा पाँच उत्तीर्णपछि नजिकै रहेको दुल्लभ मा.वि.बाट २०३९ मा एस.एल.सि. उत्तीर्ण गरी उही सिद्धकाली प्रा.वि.मा शिक्षण गर्न थाले ।

गाउँले जीवन घरपायकी जागिरको साथसाथै अतिरिक्त उत्पादनतिर उनको ध्यान गयो । कुखुरा तथा पशुपालनमा परिवारलाई अभ्यस्त बनाउँदै अन्य उपाएको खोजिमा लागे । तान्द्राङको काउले उत्तरी ढलोको सेपिलो जमिन र रातो माटोमा सुन्तला खेतीका लागि उनले शुरुवात गरे । उनलाई पछ्याउँदै गाउँका अन्य किसानले पनि सुन्तला खेती गर्न थाले । शिक्षण पेशामा प्रवेशसँगै भगवती लामिछानेसँग विवाह बन्धनमा बाँधिएका उनका तीन छोरी र एक छोरा छन् ।

राजनीतिमा लगाव
दुल्लभ मा.वि.मा प्रवेश गरेसँगै उनमा राजनीतिक चेतना शुरु भयो । पन्चायती व्यवस्थाको ढलिमली भइरहेको त्यो समयमा विद्यालयमा भने काङ्ग्रेस समर्थक विद्यार्थीको बाहुल्यता थियो । उता आफ्नो गाउँघरमा भने यदु भट्ट र वीरेन्द्र पोखरेलहरू जस्ता पन्चको प्रभाव थियो । शिक्षण पेशामा प्रवेश गरेसँगै नेराशिसंको प्रभाव उनमा परेको थियो । यस्तैमा पन्चायत विरोधी आन्दोलन गाउँगाउँ फैलियो । ठिक यिनै दिनहरूमा गाउँका उत्साही युवाहरू मिलेर काउलेमा नै विद्यालय सञ्चालन गरे । सो विद्यालयमा स्थायी शिक्षक बनेर मोदनाथ मरहट्टा आइपुगे । पञ्चायतको अन्त्यतिर काङ्ग्रेस कि कम्युनिस्ट भन्ने अल्मलमा गाउँका युवा थिए, तर मरहट्टाको आगमनले सबैजसो युवालाई काङ्ग्रेस विरूद्ध गोलबन्दी ग¥यो । २०४७ को भाद्रमा काशिनाथ लगायत केही युवा नेकपा मशालमा जोडिए । गाउँमा तीव्ररूपले बिचारको विकास भयो ।

शिक्षणका अतिरिक्त काशिनाथले पशु उपचार र फलफूल बालिमा लाग्ने रोग र रोकथामबारे तालिम पनि लिए । यसले गर्दा धेरै कृषकहरूसित उनको सम्बन्ध स्थापित भयो । साथै गाउँका उत्साही युवा लोकप्रसाद बन्जारा, कर्मचारी आन्दोलनमा जागिर गुमाएका कृष्ण धिताल र तिनै मरहट्टाको सयुंक्त टीमले वरपर सम्पर्क सङ्गठनको बिस्तार भयो । २०४९ को स्थानीय निर्वाचनमा संजमोले सो क्षेत्रमा जित हासिल गरेपछि सिङ्गो गाउँ माओवादीमय बन्यो ।

२०५१ को मध्याबधी निर्वाचनको सशक्त बहिस्कारपछि सो गाउँमा प्रशासनको आँखा पर्न थाल्यो । यिनै दिनहरूमा गोरखाको वर्गसङ्घर्षमा अग्रस्थानमा रहेको खुट्टेखेत सङ्घर्षमा समेत काशिनाथहरूको नेतृत्व हावी भयो ।

२०५२ फागुनबाट शुरु भएको माओवादी आन्दोलनले काशिनाथलाई भुमिगत हुन बाध्य बनायो । शारीरिक रूपमा उनी तन्दुरुस्त र निकै फुर्तिला भएका कारण फौजी सङ्गठनमा सहजै प्रवेश पाए । उनी जन मिलिसियाको कमाण्डमा रहँदै गर्दा २०५४ चैत्रमा गोरखाको हँसपुरबाट गिरफ्तारीमा परे । उनी गोरखा जेल हुँदै बिरगञ्ज जेल सारिए । बिरगञ्ज जेलमा नाइके र चौकिदारहरूको अत्याचार थियो । त्यस अत्याचार बिरूद्ध उनको नेतृत्वमा चर्को सङ्घर्ष भयो । गाउँमा रहँदा काशिनाथको विचारसँग असहमत हुने किसानहरू पनि काशिनाथको व्यक्तिगत आनिबानीसँग सहमत थिए । त्यसै गरी बिरगञ्ज कारागारभित्र विभिन्न मुद्दामा बन्दी बनेका व्यक्तिहरू पनि काशिनाथको बानिव्यवहारले प्रभावित थिए ।

जेलभित्रको आन्दोलन दमन गर्न प्रशासनले बल प्रयोग ग¥यो । जसका कारण उनी सख्त घाइते भए । २०५८ को पहिलो वार्ताकालमा उनी जेलमुक्त भए र पार्टी मोर्चामा जोडिए । उनी मध्य कमाण्डको फौजी मोर्चामा खटिए र मध्य कमाण्डको विभिन्न फौजी योजनामा सङ्लग्न भए । पार्टीको योजना अनुसार मध्यक्षेत्रबाट पूर्वतर्फ बढ्दै गर्दा मकवानपुरको फापरबारी इलाकामा तात्कालीन शाही सेनाको आक्रमणमा साहदत लिए । जतिबेला झुर्झुरेमा भिडन्त भयो । त्यहाँ २६ जना लडाकुको सहादत भयो । कल्याण प्रताप ब्रिगेडको सह कमिसार थिए । यसरी इतिहासमा एउटा योद्धाको अवसान भयो । अहिले सत्तामा रहेका माओवादी केन्द्र निकट नेता कार्यकर्ताको दिलदिमागबाट यस्ता योद्धाहरू हराउनु दुःख लाग्दो विषय हो ।

प्रतिक्रिया

सम्बन्धित खवर