काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले पोखरामा भएको हवाई दुर्घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि सख्त कारबाही गर्न जोडदार माग गरेको छ ।
पार्टी प्रवक्ता प्रतीकले जारी गरेको वक्तव्यमा दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै तिनका परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । साथै बाँकी ४ जनाको शिघ्र खोजी गर्न सरकारसँग विशेष माग गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “आज काठमाण्डौबाट पोखराको लागि उडेको यति एयर प्रा.लि.को विमान पोखरामा दूर्घटना हुुँदा उक्त जहाजमा यात्रा गरेका ५३ जना नेपाली नागरिकहरु तथा भारतीय ५, रशियन ४, आयरिस १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फ्रान्सेली १ गरी जम्मा १५ जना विदेशी नागरिकहरु एवम् ४ जना चालकदलका सदस्यहरु सहित जहाजमा रहेका जम्मा ७२ जनामध्ये ६८ जनाको दुखःद मृत्युभएको कुरा आजै प्रकाशित नेपाल नागरिक उड्ययन प्राधिकरणकोे वक्तव्यमा उल्लेख छ । सर्वप्रथम हाम्रो पार्टी यस दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ, तिनका परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछ र साथै बाँकी ४ जनाको शिघ्र खोजीगर्न हाम्रो पार्टी सरकारसँग विशेष माग गर्दछ ।
सबैभन्दा सुरक्षित मानिने हवाईयात्रा नेपालमा असुरक्षित हुँदै गएको कुरा बारम्बारका हवाइ दुर्घटनाले पुष्टि गरेका छन् । अत्यधिक मुनाफाका लागि कम मुल्य पर्ने पुराना जहाजहरुको खरिद, भ्रष्टाचार र सरकारको लापरवाही नै यसका पछाडिका प्रमुख कारण हुन् । आजको यो दुःखद घडीमा यस दुर्घटनाको उच्चस्तरीय छानवीन गरी त्यसको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि शख्त कार्वाही गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ ।”