काठमाडौं । ‘सबै कम्युनिस्टहरु एक हुनुपर्छ, सबै माओवादीहरु एक हुनुपर्छ’ भनेर आवाज उठाउनेहरुलाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य परि थापाले गतिलो जवाफ दिनुभएको छ । उहाँले पार्टी एकता सिद्धान्त र कार्यदिशाका आधारमा गरिने विषय भएको भन्दै दक्षिणपन्थ संशोधनवादसँग सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुको एकता हुन नसक्ने स्पष्ट पार्नुभयो ।
काठमाडौंमा शुक्रबार गरिएको एक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भन्नुभयो, “‘पार्टी एकता’ भनेको पाटी खाएर वाइनिङ, हगिङ र डान्सिङ गरेजस्तो होइन, दक्षिणपन्थ संशोधनवादसँग क्रान्तिकारीहरु कसरी मिल्न सक्छन् ?”
उहाँले विचारधारात्मक कार्यदिशा, राजनीतिक र कार्यनीतिक कार्यदिशा, सामरिक कार्यदिशा र समापन कार्यदिशा मिल्नेहरुसँग भने पार्टी एकताका लागि छलफल गर्न सकिने बताउनु भयो ।
नेपालमा पुँजीवादी क्रान्ति सफल भइसक्यो, जनवाद आइसक्यो अब समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने हो भन्नेहरुलाई पनि जवाफ दिंदै भन्नुभयो, “नयाँ जनवादमा टेकेर समाजवादमा जाने कार्यदिशा सही छ । तर नयाँ जनवाद आइसक्यो भन्नु संशोधनवाद हो । नयाँ जनवाद आएको देशमा असमान सन्धि कायम रहन्छ ? देशको अर्थतन्त्र यस्तो हुन्छ ? युवाहरु यसरी विदेशिन्छन् ?”
उहाँले आफूले २० बर्षसम्म सांसद बनेर संसदमा काम गरेको अनुभव बाँड्दै भन्नुभयो, “देश बनाउने, देशलाई अगाडि बढाउने नेपालसँग ब्लुप्रिन्ट नै छैन ।”
उहाँले नेपाललाई अगाडि बढाउने ब्लु प्रिन्टसहितको क्रान्तिको खाँचो रहेको पनि बताउनु भयो ।
कार्यक्रममा नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला कञ्चन, नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।