चिसोले कठ्यांग्रिएर मर्न थाले गरिब दलितहरु, सप्तरीमा एकजनाकाे मृत्यु

चिसोले कठ्यांग्रिएर मर्न थाले गरिब दलितहरु, सप्तरीमा एकजनाकाे मृत्यु

सप्तरी । सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजना दलितको मृत्यु भएको छ। तिलाठी कोइलाडी गाउँपालिका– ४ मुसहरी टोलका ४५ वर्षीय राजु भनिने देवु सदाको चिसोका कारण मृत्यु भएको हो।

राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको तिलाठी कोइलाडी गाउँपालिका– ४ का वडाध्यक्ष मुनिलाल मुखियाले बताए। खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृत भेटिएका हुन्। मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ।

तराईका जिल्लामा एक साताअघिदेखि अध्यधिक चिसो बढेको छ। चिसोले जनजीवन कष्टकर बन्न पुगेकाे छ । चिसोबाट विपन्नलाई जोगाउन स्थानीय सरकार र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको स्थानीयको गुनासो छ।