जेल बसाइका ती दिनहरू ः सात

जेल बसाइका ती दिनहरू ः सात

आगोभित्रको चिसो

हेमन्तका दिन म जेलघरको कोठाबाट देखिने साँघुरो झ्याल नजिकै जाडोले ककर्किएर अकाशतिर हेर्छु धर्तिलाई न्यानो बनाउने त्यो घामलाई सेतो कालो पर्दाले छोपेको छ । सायद परपरका सबैजसो गाउँहरू कुहिरोको सिरकभित्र गुजुल्टिएका छन् । बस्तिभित्र चिसोको मात्रा जति बढेको छ, सुनिन्छ त्यो भन्दा बढि सन्त्राशको आगो दन्किएको छ ।

म चेतनाको चित्तलाई शासन सत्ताको केन्द्रतिर धकेल्छु । जतिबेला यहि संसदवादका पुजारीहरू संसदभित्र सङ्कटकालको निर्णयमा सहि धस्काएर अधिकारका लागि लडिरहेका विद्रोही माओवादीलाई ‘खोज र नष्ट गर’ अभियान चलाउन अनुमति प्रदान गरेका छन् । पुसको चिसो र सङ्कटकालको असिनाले सारा गाउँ कठ्याङ्ग्रिएको छ । तर पनि विद्रोहीहरूमा एउटा विश्वास छ, बलियो आस्था छ । आज त्यस्तो छैन जनयुद्ध/जनाअन्दोलनले पाएको सीमित उपलब्धि पनि सन्काहा साँढेले पैतालाले कुल्चिएको अवस्था छ । २०४७ को सम्बिधान लागू भैसकेपछिका कयौँ जनबिरोधी हर्कत हेर्दा जनतन्त्रको रक्षा कहाँनेर सुरक्षित छ ? जन जीविकाको सवालमा हजारौँ भोकाहरूको आँखाको आँसु कहाँ पुछिएको छ ?

२०४८ को संसदको चुनाव र २०४९ को स्थानीय निर्वाचनको परिणाम पछि गोरखा जिल्लामा भएको नाङ्गो काङ्ग्रेसिकरण २०५१ को मध्यावधीको चुनाव र अहिलेको अवस्था देख्दा कवि केवलपुरे किसानको यो कविताँश मनन गर्नु पर्दछ –
‘ढुङ्गा क्यै बटुलेर राख तिमीले आफ्ना ती झोलाभरी
जाऊ वस्ती पहाड गाउँ घरका नक्सा खिची राम्ररी
खोजिदिन्छु म बाँस गाउँ घरमा भाला बनाउ तिखो
तम्तयार भएर ठीक्क पर है बेला छ यो क्रान्तिको’

तर हामी धैर्यसाथ बन्दी बन्न सकेका छैनौ ।

कारागार शाखाका सहयोगी एकजना कर्मचारी छन् जितबहादुर । हामी सबै उनलाई जितबहादुर दाइ भन्छौँ । कहिलेकाहीँ बजार हल्ला उनले जेलभित्र ल्याउँछन् । खासगरी एमाले पार्टी कार्यालमा के के अनुमानित गफ हुन्छ त्यसलाई थपथाप गरेर हामीकहाँ सुनाउँछन् । जिल्लाका धेरै शिक्षकहरू कारागारमा कोचिएका कारण विद्यालयहरू अस्तव्यस्त छन् । माआवादीको आरोपमा जति शिक्षक नजरबन्दमा छन् त्यो भन्दा बढी काङ्ग्रेस समर्थक शिक्षकहरू विद्यालयमा अनुपस्थित छन् । उनीहरू या त सदरमुकाममा छन् या काठमाडौंमा शरण लिएका छन् । त्यसकारण विद्यालयहरूमा पठनपाठन ठप्प छ । कयौँ अविभावक र विद्यालयका अध्यक्षहरू शिक्षा कार्यालय र प्रजिअ कहाँ डेलिगेसन आएका छन् तर स्थिति प्रजिअको नियन्त्रणमा छैन । शाही सेनाको उच्च तहमा दबाब पुग्यो भने हामी मध्ये कतिपय साथीलाई रातारात छुट पुर्जी आउँछ । जितबहदुर भन्छन् एमाले कार्यालयमा यिनै विषयको चर्चा हुने गर्छ ।

बाहिर जिल्लाका खास गतिविधिको सुचनाको पहुँच यहाँ छैन । नेपाल टेलिभिजन रेडियो नेपाल सरकारी सुचना बाहेक अरू केही दिने होइन । माओवादीको अभियोगमा गाउँबाट समातिएर हिरासत हुँदै कारागार आइपुग्न कोही सक्यो र माओवादीको निकट यदि छ भने केही गतिविधिका सुचना पाइन्छ । अघिल्ला वर्षहरूमा बनेका सम्पर्क सुत्रहरू सबै टुटेकाले पनि यो अवस्था आएको छ ।

केही महिना पहिलेसम्म जेलमा सङ्गै बिताएको साथी छुटेर गयो यदि भने ऊ कहिल्यै फर्किएर अरू बन्दी भेट्न आउँदैन । सायद प्रशासनको निगारानीमा भएर होला । मुस्किलले बुधबार भेट्घाटका लागि आएका आफन्तसित परिवार व्यवहार र छिमेकिको बारे हलुका सम्वाद ग¥यो तोकिएको समय सकियो बस् ।
२०५९/९/१२

सम्झेर आफन्तहरू

आज माइलो छोरो महिन्द्रले सहादत लिएको बर्सदिन भयो । पुसको चिसोमाथि पातलो वादलले घामका किरणहरू छोपेको छ । बिहान कोटाको कालो चिया पिएर हामी दाजुभाइ बाहिर चौरमा निस्कियौँ । कारागारको पस्चिमी बुर्जामुनी उभिएर हामी एकछिन मौन भयौँ । जेलभित्र कसैको स्मृति मनाउने सम्भावना पनि छैन । छोराको बाललिला कोट्याएर सम्झनु पनि दाइको खाटा बसेको घाउ उप्काएर नुनचुक लगाउनु हुन्छ । मलिन अनुहारले एक अर्कालाई हे¥यौँ मात्र । आफन्तहरूको सहादतको शृङ्खला चुलिँदै गएको छ । उनीहरूको सम्झना मात्र गर्न पनि बाह्रै महिना बाह्रैकालले पुग्दैन ।

२०५८ साल आजकै दिन दिउँसो ३ः३० तिर धादिङ गाउँका जीवनाथ ढकाल हस्याङ्फस्याङ गर्दै मेरो विद्यालयको छेउबाट मलाई नजिक आउने इशारा गरे । अन्तिम घण्टी भएकोले म चौरमा विद्यार्थीसित शारीरिक शिक्षा सिकाउँदै थिएँ ।

‘मोदनाथ सर ! आर्मीले महिन्द्रलाई छेपेटारको बगैँचामा गोलि हानेर मा¥यो’ । उनी यो खबर सुनाउँदा थर्थर कामेका थिए । उनको मुखबाट यो खबर सुन्ने बित्तिकै ममाथि आकास खस्यो । आँखा तिरिमिरी भए, हात गोडा थर्थरी कामे । मैले दोस्रो प्रश्न गर्न नपाउँदै उनी आफ्नो बाटो लागे । यो दुःखद घटनालाई मैले घरमा कसरी सुनाउनु ।

चारबजेको घण्टिपछि म घर जान उकालो लागेँ तर पाइला अघि सर्दैन । बा आमाको निधनपछि आफ्नो परिवारको निधन भएको यो पहिलो घटना थियो । बा आमाको निधनको पीडा खोइ कसरी पचाएँ तर यो खबरले बिक्षिप्त बनें । सधैँ आधा घण्टामा उक्लने उकालो त्यो दिन एक घण्टा लाग्यो । घर पुग्दा रेडियोले त्यो खबर प्रशारण गरिसकेको रहेछ । रातभर परिवारमा रुवाबासी चल्यो । भोलिपल्ट बिहान गाउँका चारपाँच जना मिलेर घटनास्थल पुगियो । सिउडिको बारको छेको पारेर लास झिल्स्याइएको रहेछ । सबै मिलेर तल दरौँदीमा लगेर बालुवामा समाधिस्थ गरियो । यो दुःखद घटना गएसाल माघ २३ गते सबिस्तार दाइलाई बताएको थिएँ । त्यही सम्झनाले हामी दुवै भाइ भावुक भयौँ । हामी दुवै भाइले त्यस दिन बिहानको खाना खाएनौँ ।

अस्ति पुस १२ गते मात्रिका धितालको सहादतको तेस्रो स्मृति दिन थियो । उनको सम्झनामा पनि म एकछिन् झोक्राएर बसेँ । स्थायी नियुक्तिको पत्र बोकेर म जनसेवा प्राबि पुग्दा यिनी मात्रिका धिताल कक्षा दुईकी विद्यार्थी थिइन् । म त्यही घरमा परिवारको सदस्य जस्तै एउटै भान्साको खाना खाएर मसङ्गै विद्यालय जाने यी छोरीको स्मृतिले भावुक बनाउँछ ।

२०५५ पुस १३ गते केराबारीमा सामुहिक हत्या भयो । सात जना युवाहरूको बलिदानीले त्यो गाउँ शोकमा डुबेको छ । आफन्तका मृत्यु पिडाका कहरहरू लेखिसाध्य छैनन् । मात्रिकासँगै पढ्ने उही गाउँकी बिमला पोखरेल २०५५ साल बैशाखमा कलाकार अन्जान बिरही (बुद्धी श्रेष्ठ) सङ्गै सहिद भएकी हुन् । यति धेरै हत्याको बदला लिनुपर्नेमा हामी बौद्धिक भनिएकाहरू जेलभित्र सिर्फ म र मेरो भनेर रोइकराइ गरिरहेछौँ ।

राज्यसत्तासितको यो लडाइँमा कथम् यो सदरमुकाम माथि हमला भै हाल्यो र कारागार खुल्यो भने हामी कतिजना लडाकुहरूसित जान तयार हुन्छौँ होला ? मलाई यो प्रश्नले गिज्याइरहन्छ । क्रान्तिको मान्यता अनुसार अघिल्लो नेतृत्व ढलेपछि उसको झण्डा र हतियार पछिल्लोले सम्हाल्नु पर्छ । हाम्रा प्रियजनहरू ढल्दा के हामी यसरी कायर बनेर झोक्राउन सुहाउँछ ? तर यतिबेला बिद्रोहको मशाल बाल्ने आँट हामीसँग छैन । सामान्य मानवीय सेवा नदिइएको यस स्थितिमा हामी सङ्गठित हुन त सकिरहेका छैनौ ।
२०५९/९/१५, गोरखा कारागार ।