इटहरी/नेकपा(क्रान्तिकारी माओवादी) सहितका केहि कम्युनिष्ट पार्टीहरुले १३० औँ माओ दिवस संयुक्त रुपमा मनाएका छन् ।
झापा, मोरङ र सुनसरीमा रहेका तीन कम्युनिष्ट पार्टीहरुले संयुक्त रुपमा माओ दिवस मनाउदै माओका योगदान माथि चर्चा गरेका हुन् ।
यसरी संयुक्त रुपमा माओ दिवस मनाउनेमा नेकपा(क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा(मशाल) रहेका छन् ।
कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी) प्रदेश १ का सेक्रेटरी सरलले माओले कम्युनिष्ट पार्टीको नेतृत्व गरेर चिनियाँ जनतालाई मुक्ति दिलाएकोे बताउनु भयो ।उहाँले संसारका मजदुर,किसान उत्पीडित वर्ग र उत्पीडित जातिलाई अगाडि बढाउन माओले ठूलो योगदान गरेको भनाई राख्नु भयो । सेक्रेटरी सरलले नेपालको सापेक्षतामा नेपालमा नयाँ जनवादी क्रान्ति पुरा गरेर न्याय र समानता सहितको राज्यसत्ता स्थापना गरेर अगाडि बढेमात्र माओको योगदानको कदर हुने धारणा व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेकपा (बहुमत)का केन्द्रिय सदस्य नरेशले नेपालमा दुर्गन्धीत भैसकेको संसदवादलाई उखेलेर फाल्नका लागि माओको विचारलाई फैल्याउनु पर्ने बताउनु भयो । उहाँले संसारका कम्युनिष्टलाई संघर्ष संचालन गरेर अधिकार प्राप्त गर्न सकिन्छ भन्ने बाटो माओले देखाएको भनाई राख्नु भयो । सोहि कार्यक्रममा नेकपा(मशाल)का केन्द्रिय सदस्य बाल कृष्ण सुवेदीले माओको सपना पुरा गर्न कम्युनिष्टहरु एक हुनुपर्ने भनाइ राख्नु भयो ।
उक्त कार्यक्रमको अध्यक्षता नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज बिमल निरौलाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सोहि पार्टीका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज डिल्लीराम बोहोराले गर्नु भएको थियो ।