माओ दिवस समारोहमा तीन कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुको सम्बोधन : पार्टी एकता र क्रान्तिको चर्चा

माओ दिवस समारोहमा तीन कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुको सम्बोधन : पार्टी एकता र क्रान्तिको चर्चा

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल)को संयुक्त आयोजनामा सोमबार (२६ डिसेम्बर, २०२२) काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा एक विशेष कार्यक्रमका बीच माओ दिवस समारोह भव्य रुपमा मनाइयो । माओ दिवस समारोहलाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेल गौरव, नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला कञ्चन र नवगठित नेकपा (मशाल)का महासचिव सन्तबहादुर नेपालीले सम्बोधन गर्नुभयो ।


सम्बोधनको क्रममा नेकपा (क्रान्तिकारी माओवादी)मा बरिष्ठ नेता सिपी गजुरेल गौरवले विश्व सर्वहारावर्गका महान नेता माओ त्सेतुङले माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा गरेको सार्वभौम योगदानहरुको चर्चा गर्दै माओवादलाई माक्र्सवादकै तेस्रो विकसित सिद्धान्तको रुपमा स्पष्ट पार्नुभयो । उहाँले माक्र्सवाद लेनिनवाद हुँदै माओवादको रुपमा विकसित भएको प्रष्ट पार्दै नेपाली विशिष्टतामा माओवादको प्रयोगको आवश्यकता औल्याउनु भयो ।

दक्षिणपन्थी संशोधनवादीहरुले नेपालमा नयाँ जनवादी क्रान्ति पूरा भएको भनेर भ्रम छरिरहेको चर्चा गर्दै नेता गौरवले उनीहरुले छरेका भ्रमहरु चिर्न माक्र्सवाद–लेनिनवाद–माओवादका विषयमा गहन अध्ययन र लागू गर्न आवश्यक रहेको पनि बताउनु भयो । मालेमावादको रक्षा, प्रयोग र विकासको खाँचो रहेको स्पष्ट पार्नुभयो । त्यसका लागि उहाँले कम्युनिस्ट क्रान्तिकारीहरुबीच सुदृढ एकताको आवश्यकतामाथि जोड दिनुभयो ।

उहाँले तीन पार्टीबीच एकता वार्ता चलिरहेको र अब चाँडै एकता प्रक्रियालाई टुंगोमा पु¥याइने पनि बताउनु भयो । मुलुकमा विद्यमान राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या संसदीय व्यवस्थाले समाधान गर्न नसक्ने भन्दै उहाँले तमाम समस्या समाधान गर्न नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको बताउनु भयो ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला कञ्चनले माओका योगदानहरुको सविस्तार चर्चा गर्दै माओले जस्तै महान सर्वहारा साँस्कृतिक क्रान्तिलाई पनि नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्ति सँगसँगै अगाडि बढाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले आफूहरु वृहत कम्युनिस्ट एकताको पक्षमा रहेको र त्यसको प्रक्रिया अगाडि बढिसकेको चर्चा गर्दै सिद्धान्तनिष्ठ एकताले क्रान्तिको अभिभारा पुरा गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

नेकपा (मशाल)का महासचिव सन्तबहादुर नेपालीले अब सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध हुने बेला आएको चर्चा गर्दै नेपाल अहिले पनि अर्धसामन्ती, अर्धऔपनिवेशिक मुख्यतः नवऔपनिवेशीकरण अवस्थामा रहेको बताउनु भयो । यस अवस्थामा अहिले पनि चीनमा माओले गरेजस्तै नयाँ जनवादी क्रान्तिको नेपालमा खाँचो रहेको स्पष्ट पार्नुभयो । अब कम्युनिस्ट क्रान्तिकारीहरुबीचको एकता र क्रान्तिको प्रक्रियाले मात्र देशको स्वाधीनता बचाउन सक्ने बताउनु भयो । उहाँले आफ्नो अवसरवादी कार्यदिशा सच्याएर क्रान्तिकारी मूलधारमा आउन नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहलाई आव्हान समेत गर्नुभयो ।

नेकपा (बहुमत)का नेता सुदर्शनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी)का नेता अटलले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेकपा (मशाल)का नेता कृष्णराज पौडेलले राख्नुभएको थियो ।

सहिदहरुप्रति श्रद्धाञ्जली र अन्तर्राष्ट्रिय सर्वहारावादी गीतबाट सुरु भएको कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्यहरु रामसिंह श्रीस, पार्टी प्रवक्ता हरिभक्त कँडेल प्रतीक, परि थापा, नेकपा (बहुमत)का नेताहरु उदयबहादुर चलाउने, गुणराज लोहनी, बाबुराम गजमेर, नेकपा (मशाल)का प्रवक्ता रामबहादुर बुढा, नेकपा (क्रान्तिकारी माओवादी)का सल्लाहकार संयोजक कमल चौधरी, नेकपा (बहुमत)का सल्लाहकार अध्यक्ष इश्वरी दाहाल ‘असारे काका’ र नेकपा (मशाल)का सल्लाहकार गोविन्दसिंह थापा ‘मामा’ अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा सामना साँस्कृतिक परिवार र रक्तिम साँस्कृतिक अभियानले उर्जाशील क्रान्तिकारी गीतहरु प्रस्तुत गरेका थिए ।