पौष ११ गते आजभन्दा २ दिन पछि डिसेम्बर २६ पर्छ । उक्त दिन अर्थात् सन् १८९३ डिसेम्बर २६ का दिन चीनको हुनान प्रान्तको श्याङशान काउन्टीको शाओसान गाउँमा मध्यमवर्गीय किसानको परिवारमा क. माओको जन्म भएको थियो । कमरेड माओ माओवादका प्रवर्तकसमेत हुनुहुन्छ । यस लेखमा उहाँले विश्व कम्युनिस्ट आन्दोलनमा पुर्‍याउनुभएको योगदानका बारेमा व्याख्या–विश्लेषण गरिएको छ ।
सर्वहारावर्गको बौद्धिक हतियारका रुपमा कार्ल माक्र्स र फ्रेडरिक ऐंगेल्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको आविष्कार गर्नुभयो । कार्ल माक्र्सको दर्शन सम्बन्धी निष्कर्ष थियो “दर्शन आप्mनो समयको वौद्धिक सारतत्व हो ।”, “संस्कृतिको जीवन्त आत्मा ।” – कार्ल माक्र्स –फेडरिक एंगेल्स, संकलित रचना संग्रह खण्ड –१, पृष्ठ १०५ । उहाँले यस जीवनदर्शनको विधि, नियम र प्रवर्गहरुमा स्थापना र विकास गर्नुभयो । लेनिनले बीसौं शताब्दीमा माक्र्सवादी दर्शनलाई सर्वहारावर्गको मुक्तिका खातिर प्रयोग गर्नुभयो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको व्याख्या र विश्लेषण गर्दै यसको दोस्रो चरणमा विकास गर्नुभयो । लेनिनले नै पूर्वका देशहरुमा (अर्थसामन्ती र अर्धऔपनिवेशिक देशहरुमा) हुने क्रान्ति “महान् र कष्टसाध्य तर गौरवपूर्ण हुनेछ” भन्दै ती देशहरुका ठोस विश्लेषण गरी क्रान्ति सम्पन्न गर्ने जिम्मा ती देशका कम्युनिष्ट क्रान्तिकारीहरुलाई दिनुभएको थियो । क.माओले विशाल चीनको नेतृत्व गर्दै लेनिनले दिएको जिम्मेवारी पूरा गर्ने निर्णय गर्नुभयो । आखिर माओले दर्शनशास्त्रका क्षेत्रमा गरेका योगदानहरु केके हुन् ? यी विषयमा जानकारी लिन जरूरी छ ।
सर्वप्रथम क. माओले दर्शनलाई ज्ञान सिद्धान्तको रुपमा परिभाषित गर्नुभयो । ज्ञान उत्पादनका लागि सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगबाट प्राप्त हुन्छ भन्ने कुरा संश्लेषण गर्नुभयो । मोनेराबाट मानवको उत्पत्ति भएदेखि उसले जीविकाका लागि सङ्घर्ष गर्‍यो । त्यो वास्तवमा उत्पादनका लागि सङ्घर्षकै क्रममा उसले आप्mनो ज्ञानमा विकास र विस्तार गर्‍यो । ज्ञान प्राप्तिको यो पहिलो स्रोत हो । जब मानवसमाज वर्गमा विभाजन भयो, तब वर्गसङ्घर्षको पनि सुरूआत भयो । यसले पनि वर्गमुक्ति त्यसमा पनि इतिहासमा उदीयमानवर्गको मुक्तिको ज्ञान प्राप्त भयो । सर्वहारावर्गको दर्शन वर्गसङ्घर्षकै परिणाम हो । मानिसले समाज र प्रकृतिका सूक्ष्मभन्दा सूक्ष्म र दूरभन्दा दूरका कुराहरु जान्न नयाँ–नयाँ वैज्ञानिक प्रयोग गर्न थाल्यो । वैज्ञानिक प्रयोगका क्रममा प्रविधिको पनि विकास भयो । यो ज्ञानको तेस्रो स्रोत बन्यो ।
बीसौं शताब्दीका माक्र्सवादी दार्शनिक माओले दर्शनलाई केवल मुठ्ठीभर दार्शनिकहरुका बौद्धिक विलासबाट मुक्त गरी जनताका बीचमा लैजानुभयो । “वर्गसङ्घर्षविना दर्शनको कुरा गर्नु समय खेर फाल्नुमात्रै हा”े भन्ने उहाँको निष्कर्ष थियो । दर्शनले जनताको मुक्तिको मार्गदर्शन गर्न सकेन भने त्यो आदर्शवादी दर्शन बन्न पुग्दछ । आदर्शवाद मुठ्ठीभर शोषकवर्गको दर्शन हो भने भौतिकवाद बहुसङ्ख्यक श्रमजीवीवर्गको दर्शन हो । त्यसकारण द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वजनहिताय होइन, बहुजनहिताय छ भनी माओले पुष्टि गर्नुभएको छ । माओले व्यवहारलाई दर्शनको सत्यता नाप्ने कसी बताउनुभयो । त्यसकारण उहाँले व्यवहार– सिद्धान्त– व्यवहारको सूत्रीकरण गर्नुभयो । व्यवहारबाट ज्ञान प्राप्त हुन्छ र त्यसलाई फेरि व्यवहारमै बदल्नुपर्छ ।
द्वन्द्वात्मक भौतिकवादका तीन नियमलाई उहाँले एउटै नियम अन्तरविरोधमा सूत्रीकरण गर्नुभयो । अथवा यसो भन्न सकिन्छ–मात्राबाट गुणमा रुपान्तरण र निषेधको निषेधलाई दुई विपरीतहरुको सङ्घर्ष र एकतामा सूत्रीकरण गरी त्यसलाई अन्तरविरोधको नियम बताउनुभयो । मात्राबाट गुणमा रुपान्तरण अन्तरविरोधको प्रकृयाबाट हुन्छ । निषेधको निषेधत हुँदै हुँदैन, बरू पुरानोको नकार र त्यसको ठाउँमा नयाँको सकार हुन्छ भनी उहाँले ठोकुवा गर्नुभएको छ । पुरानोको नकार र नयाँको सकार पनि अन्तरविरोधकै प्रक्रियामा हुन्छ । पुरानो र नयाँ स्वयं विपरीत हुन् ।
अन्तरविरोधहरुको थुप्रोबाट एउटा अन्तरविरोधको पनि प्रधान पहल हुने, विशिष्ट र सार्वभौम अन्तरविरोध हुने, विशिष्ट र सार्वभौम अन्तरविरोध हुने, अन्तरविरोधको मूल कारण बाह्य होइन, आन्तरिक हुने सिद्धान्त माओले विकास गर्नुभयो । लेनिनले आप्mनो दार्शनिक नोटबुकमा द्वन्द्ववादको व्याख्याको आवश्यकता छ भनी अधुरो रहेको कार्य उहाँले पूरा गर्नुभयो ।
पृथ्वी र ब्रह्माण्डमा रहेका हर वस्तुहरु यही अन्तरविरोधका नियमबाट चलेका छन् । अन्तरविरोध विनाको वस्तु देख्नु आदर्शवाद हो । अन्तरविरोधहरु पत्ता लगाएर मात्र हुँदैन, त्यसको हल पनि गर्नुपर्छ । जस्तो, शोषक र शोषितहरुको अन्तरविरोध वर्गसंघर्षद्वारा हल गरिन्छ । साम्राज्यवाद र औपनिवेशिक राष्ट्रको अन्तरविरोध राष्ट्रिय युद्धद्वारा हल गरिन्छ । पार्टीभित्र चल्ने अन्तरविरोध अन्तरसङ्घर्षद्वारा हल गरिन्छ ।
दर्शनमा क.माओले एक दुइमा विभाज हुन्छ भन्ने द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त प्रतिपादन गर्नुभयो ।
एक दुईमा विभाजन हुन्छ भन्ने सिद्धान्तले संशोधनवाद र माक्र्सवादका बीचको भिन्नता स्पष्ट पार्दछ । माओले भीषण सङ्घर्षका क्रममा एक दुइमा विभाजन हुन्छ भने द्वन्द्ववादी सिद्धान्तको विकास गर्नुभएको थियो । क. माओले ऐतिहासिक भौतिकवादको विकास गर्दै तत्कालीन अर्धसामन्ती र अर्धऔपनिवेशिक चीन र त्यस्ता देशहरुमा नयाँ जनवादी क्रान्ति गर्न मार्गनिर्देशन गर्नुभएको थियो । यस आधारमा नै उहाँले समाजवादी र साम्यवादी समाजको सिद्धान्त विकास गर्नुभएको थियो ।
क. माओले अन्तत: पुरानो राजनैतिक सत्ता ढालिसकेपछि पुरानो आदतको कसत्ता पनि ढाल्दै जानुपर्छ भन्दै महान् सर्वहारा सांस्कृतिक क्रान्तिको दर्शन दिनुभयो । यसलाई निरन्तर क्रान्तिको दर्शन पनि भन्दछन् । भौतिक रुपमा बन्दुक बोकेका दुश्मनहरुभन्दा दिमागमा आदतको बन्दुक बोकेका दुश्मनहरु दसगुना खतरनाक हुन्छन् । त्यसकारण महान् सर्वहारा सांस्कृतिक क्रान्तिको लक्ष्य विश्वदृष्टिकोणको समस्या समाधान गर्ने हुनुपर्छ । यो क. माओको महान् दर्शन थियो ।
द्वन्द्वात्मक भौतिकवगादी दर्शन सर्वहारावर्गको वैचारिक वैज्ञानिक हतियार हो । यो दर्शन पुँजीवादको उदय भएपछि पुँजीपति र मजदूर वर्गका बीच द्वन्द्वको सृजना भएपछि माक्र्स र एङ्गेल्सले समाजविकासको अध्ययन गरेर सृजना भयो । पुँजीपतिवर्ग एकाधिकार पुँजीवादमा बदलिएर त्यसले साम्राज्यवादको ग्रहण गरेपछि लेनिनले रूसीक्रान्तिको समयमा यसलाई अझ विकसित पाइने भयो । जब सर्वहाराक्रान्ति विकसित औद्योगिक देशबाट नभै विकासोन्मुख सामन्ती, अर्धसामन्ती कृषिप्रधान देशतिर सर्‍यो । चिनिया क्रान्तिको दौरानमा माओले यस दर्शनमा अर्को इँटा थपे । यो दर्शन समाजविकासको नियम बुझ्ने र त्यसलाई परिवर्तन एउटा महत्वपूर्ण दर्शन हो । त्यसैले यस दर्शनले व्यवहारबाट अलग रहेको दर्शनलाई महत्व राख्दैन । दर्शन भनेको संसारलाई बुझ्ने र त्यसलाई परिवर्तन गर्ने हो भन्ने माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादी दर्शनको मुख्य सिद्धान्त हो । त्यसैले दर्शन विज्ञानसम्मत दर्शन हो । त्यसैले यो दर्शन सामाजिक राजनीतिकसँग अभिन्न रुपले गाँसिएको छ । त्यसैले क्रान्तिकारी परिवर्तन चाहनेहरुले यो दर्शनलाई अध्ययन गर्नु त्यसलाई व्यवहारमा उतार्नु अनिवार्य छ । यस लेखमा क.माओको द्वन्द्ववादी ढङ्गले विश्लेषण गर्ने संश्लेषण निकाल्ने र केही उल्लेख गर्ने प्रयास गरिएको छ ।
क. माओको द्वन्द्वात्मक ढङ्गको विश्लेषण पद्धति एकदम महत्वपूर्ण र वैज्ञानिक छ । द्वन्द्ववादले भन्छ–विश्वमा जतिपनि वस्तु, पदार्थहरु र मानवसमाज छन् । सबै द्वन्द्वमा आधारित छन् । द्वन्द्व नभएको वस्तुमा गति हुँदैन र गति नभए त्यसको अस्तित्व हुँदैन । त्यसैले द्वन्द्ववादी सबैको अध्ययन गर्ने अन्तसम्बन्धको विज्ञान हो । द्वन्द्ववादले विभिन्न वस्तुहरुमा भएका गतिका निरीक्षण तथा विश्लेषणको तरिका बताउँछ र त्यसैको आधारमा अन्तरविरोधलाई हल गर्ने बाटो पहिल्याउँछ । त्यसैले माओले भन्नुभएको विश्लेषणको उद्देश्य अन्तर्विरोधलाई व्यवहारबाट हल गर्नु रहेको छ ।
यसरी विश्लेषण गर्दा वस्तु, समाज कुन रुपमा विद्यमान छन्, त्यसको निश्चित पहिचान हुनुपर्छ । यसतो पहिचान भएपछि मात्रै सबै कुरा निरन्तर गतिमा छन् भन्ने कुरा दिमागमा राख्नुपर्छ । यो परिवर्तन गतिमा हुन भएका कारण समाजभित्र रहेको अन्तरविरोधका कारण समाजमा चलिरहने वर्गसङ्घर्षहरु नै हुन भन्नेकुरालाई आत्मसात् गर्नुपर्ने हुन्छ । गतिको मुख्यकारण आन्तरिक अन्तरविरोध हो भने बाह्य अन्तर विरोधले सहायक भूमिका निभाए को हुन्छ ।
यहाँनेर ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा कुनै पनि विज्ञानको आविष्कार को लागि होस् वा कुनै देशमा गुणात्मक परिवर्तनको स्थिति ल्याउन कुनै वस्तुको प्रकृति नबुझी, देशको वस्तुगत स्थिति नबुझी, समाजभित्रका अन्तरविरोधहरु नबुझी, समाजभित्रका अन्तरविरोधहरु नबुझी विज्ञानको आविष्कार हुन सक्छ । न कुनै क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ ? कुनै वस्तुको प्रकृति बुझ्न, कुनै देशको वस्तु स्थिति बुझ्नुको अर्थ हो, त्यसको विश्लेषण गर्नु । विश्लेषण गर्दा वस्तुलाई अन्तरविरोधको रुपमा मान्नुपर्छ । पदार्थमा बुझ्नुपर्दा त्यो कुन–कुन तत्वबाट निर्माण भएको छ । त्यसका वास्तविक गुणहरु के के हुन् ? अरू वस्तुहरुसँग त्यसको कस्तो सम्बन्ध हुन्छ भनेजस्तै समाजको विश्लेषण गर्दा त्यसमाजभित्र कस्ताकस्ता वर्गहरु छन् ? के कस्ता अन्तरविरोधहरु छन् ? विपरीत तत्वहरुमा एकता र सङ्घर्षको रुप कस्तो छ ? गतिका पनि मुख्य कुन हो ? गतिका विकासशील शक्ति कुन–कुन हुन् ? मुख्य कुन वर्ग हुन् ? त्यसको विश्लेषण गनुजरूरी हुन्छ ।
द्वन्द्ववादले तत्कालीन रुपमा देखिएको शक्तिलाई आधार बनाउँदैन । किनभने विकासक्रममा त्यो ह्रासोन्मुखवर्ग हो । त्यसको विरोधमा जाने विकासशील वर्गलाई हेरेर आप्mना नीति र कार्यक्रम बनाउँछन् । जुन वर्गको हितबाट देश परिवर्तनतिर जान्छ, त्यो क्रान्तिकारीवर्गलाई आधार बनाएर त्यसको नेतृत्वमा सापेक्षिक स्थितिलाई ध्यान दिएर राजनीतिक कार्यनीति बनाउँछन् । यस दृष्टिकोणबाट सबभन्दा क्रान्तिकारीवर्ग सर्वहारा मजदुरवर्ग नै हुन् र द्वन्द्ववादी दर्शनले पूर्ण र अंश, अन्तरविरोधको सार्वभौमिकता र विशिष्टता, निरपेक्ष र सापेक्ष, राजनीतिक र कार्यनीतिलाई एक अर्कासँग सम्बन्धित रुपमा हेर्दछ । त्यसरी हेर्न सकेन भने अंशलाई मात्र जोड दियो भने त्यो अनुभववादी, व्यवहारवादी र रणनीतिमाथि मात्र जोड दियो भने उग्रवादी बन्न जान्छ । भनाइको मतलब सिद्धान्तलाई मात्र जोड दिने जडसूत्रवादी र व्यवहारलाई मात्र जोड दिने अनुभववादी गल्ती हुन्छ । त्यसैले यिनीहरुमा एकात्मकता कायम गर्नुपर्छ । त्यसो हुँदैन भने विभेदको समस्या पैदा हुन्छ र विभिन्न भड्कावहरु पैदा हुन्छन् ।
तसर्थ, द्वन्द्वात्मक भौतिकवादीले माओको शिक्षा अनुसार कुनै वस्तुको विशिष्टीकरण त्यसको समग्र चरित्रलाई बुझ्न वस्तुलाई एउटा अन्तरविरोधको रुपमा हेर्नुपर्छ र त्यसको विश्लेषण गर्नुपर्छ । विश्लेषण गर्दा विरोधी पक्षहरुको पहिचान गर्न एकलाई दुईमा विभाजित गरेर केस्रा–केस्रा केलाएर टुक्रा–टुक्रा पारेर हेर्नुपर्छ, पक्ष–विपक्ष केलाउनुपर्छ । हरेक वस्तु एक देखिए तापनि आन्तरिक रुपमा दुईमा विभाजित भएको हुन्छ । द्वन्द्ववादको विपरीत तत्वको एकता र सङ्घर्ष भनेको यही हो र द्वन्द्ववादको गुदी नै यही हो । समाजभित्रको वर्गसङघर्ष र पार्टीभित्रको अन्तरसङ्घर्ष यही विपरीत तत्वका बीचको एकता र सङ्घर्षमा द्वन्द्ववादले एकतालाई भन्दा सङ्घर्षलाई प्रधानता दिन्छ । किनभने सङ्घर्षले विकास प्रकृयालाई अघि बढाउँछ भने एकताले स्थिरता प्रदान गर्दछ । त्यसैले द्वन्द्ववादको विकासको क्रम भनेको एकता सङ्घर्ष–रुपान्तरण हो । यो क्रम निरन्तर चलिरहन्छ । सङ्घर्ष आदिदेखि अन्तसम्म एउटा प्रक्रियामा फैलिन्छ र एउटा प्रक्रियालाई अर्कोमा रुपान्तरण गर्दछ । त्यसैले सङ्घर्ष सर्वव्यापी विनाशर्त र निरपेक्ष हो ।
विश्लेषणबारे क.माओले भन्नु भएको छ, “कुनै वस्तुको विकासलाई बुझ्नु त्यसको अध्ययनभित्रबाट अरू वस्तुहरुका साथ त्यस वस्तुको सम्बन्धलाई हेर्नुपर्छ । वस्तुको विकासलाई त्यसको आन्तरिक र आत्मगत रुपमा हुनुपर्छ । प्रत्येक गतिमान वस्तुलाई परस्पर सम्बन्धित तथा एकले अर्कोलाई प्रभावित पार्ने वस्तुहरुका रुपमा हेर्नुपर्छ । कुनै वस्तुको मूलकारण त्यसको बाहिर होइन, भित्री अन्तरविरोधमा निहित हुन्छ । त्यसैले आन्तरिक गतिविधिलाई तीब्र पार्न सचेत पक्षको भूमिका महत्वपूर्ण हुन्छ । यान्त्रिक भौतिकवादी र सुधारवादीहरुले यस कुरालाई इन्कार गर्छन् । त्यसैले उनीहरु परिस्थितिको दास बन्छन् र स्वत:स्फूर्तवादी परिवर्तनकारी बन्छन् ।”
अत: माओको अन्तरविरोध सम्बन्धी धारणाले अंशहरुलाई पूर्णसँग समाविष्ट गरेको छ र त्यसका विशिष्टताहरुलाई पहिल्याउन मद्दत पुर्याएको छ । यसर्थ नै वस्तुहरुको व्यापक रुपमा विश्लेषण गर्न द्वन्द्ववादबाट मद्दत पाइन्छ । कुनै पनि वस्तुको अरू वस्तुका साथ सम्बन्ध भएका कारणले वस्तुको विकासको प्रकृतिलाई त्यसको दीर्घकालीन अवधिमा व्याप्त विकास प्रक्रिया तथा कुनै प्रक्रियाभित्रका विभिन्न चरणहरुका बीच माओले भेद गर्नुभएको छ । माओले यसलाई आधारभूत अन्तरविरोधको नाम दिनुभएको छ । आधारभूत अन्तरविरोध त्यसवेलासम्म रहिरहन्छ । जबसम्म त्यसको प्रक्रिया पूरा हुँदैन । त्यस प्रक्रियाको एउटा लामो अवधिसम्म रहिरहन्छ, यसलामो अवधिमा बेग्ला–बेग्लै स्थितिहरु आउँछन् । यसमा माओले भन्नुभएको छ । प्रधान, अप्रधान अन्तरविरोधको जुन आधारभूत रुपले निर्धारित वा प्रभावित हुन्छ, त्यसमा कुनै अन्तरविरोध तीब्र हून्छ, कुनै अस्थायी वा आंशिक रुपबाट हल हुन्छ वा गौण बन्छ र केही नयाँ अन्तरविरोधको जन्म हुन्छ । त्यसलाई विभिन्न अवस्थाहरुबाट पहिल्याउन सकिन्छ । त्यसैले सम्पूर्ण प्रक्रियामा आधारभूत अन्तरविरोध रहन्छ नै तर प्रत्येक अवस्थामा एउटाले मुख्य अन्तर विरोध रहन्छ । मुख्य अन्तरविरोध किटान भएपछि क्रान्तिको निशाना ठीक ठाउँमा लाग्छ र त्यसका विरूद्ध जति शक्तिहरुलाई गोलबन्द गर्न मद्दत पुर्‍याउँछ ।
वस्तुपरक चीजहरुभित्र दुई पक्षहरु हुन्छन् । समाज पनि दुई पक्षबाट बनेका हुन्छन् । समाज पनि दुई पक्षमा एउटा मध्यशील र अर्को विकासशील पक्षको अनिवार्य जीत हुन्छ । यो क्रम निरन्तर चलिरहन्छ । दुई विपरित तत्वको एकताबाट समाज बनेको छ । अब दुई मिलेर एक हुने कुरामा जोड दिने एक विभाजित भएर दुई हुने कुरामा जोड दिने भन्ने कुरामा चीनमा दार्शनिक बहस चलेको थियो । माओले दुई मिलेर एक हुनेमा जोड दिने दृष्टिकोणलाई संशोधनवादी दृष्टिकोण शोषक र शोषितवर्गका बीच वर्गसहयोग तथा समाजवादमा शान्तिपूर्ण सङ्क्रमणको पक्षधर भनेर विरोध गर्नुभएको थियो ।
माओले समाजवादी समाजमा दुई वर्गहरुको दुई लाइनको र दुई दिशाको सङ्घर्ष जारी रहन्छ भने लगायत यो सबै कुराको व्याख्या एक विभाजित भएर दुई हुने सिद्धान्तको गर्नुभएको थियो । त्यसकारण परिस्थितिबद्ध सापेक्षिक एकता र परिस्थितिमुक्त निरपेक्ष सङ्घर्षको समिश्रणले सबै वस्तुहरुमा अन्तरविरोधको गतिलाई जन्म दिन्छ भन्ने कुरा बुझ्नु उहाँले जोड दिनुभएको थियो । यही कुरा नमान्यहरु पुँजीवादसँग जोड्न पुग्छन्, साम्राज्यवादका पुच्छर बन्छन् र क्रान्ति विरोधी हुन्छन् । त्यसकारण द्वन्द्ववादीहरुले वस्तुलाई बुझ्ने र त्यसलाई रुपान्तरण गर्नेबारे विश्लेषण गर्नु माओको द्वन्द्ववादी शिक्षालाई ग्रहण गर्नु आवश्यकमात्र होइन, अनिवार्य पनि हुन्छ ।
कुनै एउटा समस्या वा अन्तरविरोधलाई हल गरेर अर्को स्थितिमा पुर्‍याउनु नै संश्लेषण हुनु हो । यसको प्रक्रिया पनि निरन्तर चलिरहन्छ । जब वस्तुलाई बुझ्न विश्लेषणको सहायता लिन्छौं, त्यसैबाट द्वन्द्वात्मक ढङ्गले निचोड पनि निस्कन्छ । संश्लेषण नै त्यही हो । सही ढङ्गले विश्लेषण हुन सकेमात्र सही विश्लेषण हुन सक्छ । अन्तरविरोधको ज्ञानलाई सहज ढङ्गबाट अन्तरविरोधको समाधान जोड्नुपर्छ । ठिक ढङ्गले अन्तर विरोध पहिल्याइँदैन, समाधानसँग जोडिँदैन भने विश्वसम्बन्धी व्याख्या र त्यसलाई परिवर्तन गर्ने कुराहरु मनोमानी ढङ्गबाट हुन्छ । अनि समस्याले जटिल रुप लिनपुग्छ र अन्तरविरोध एकातिर समाधान अर्कोतिर एकबाट अर्को अलग्गिन पुग्छ । यसले गर्दा वस्तुगत यथार्थ एकातिर हाम्रो ज्ञान, अर्कोतिर विभेदका अवस्थाहरु पैदा हुन्छन् । त्यसैले माक्र्सवादी द्वन्द्ववादी सिद्धान्तको काम हो समस्या बुझ्ने र समाधान गर्ने कुरा घनिष्ट रुपमा जोडिनुपर्छ ।
गतिको प्रकृति के हो ? के गति रोकिन सक्छ ? के गतिको प्रक्रियालाई दिशा दिन सकिन्छ ? यसबारे माओले भन्नुभएको छ । “पहिलो वस्तुको विकास निरन्तर निषेधको एउटा प्रक्रियाद्वारा हुन्छ । यो प्रक्रिया कहिल्यै समाप्त हुँदैन । सबै सक्रिय शक्तिहरुको विरोध गर्न विपरीत तत्वहरुको जन्म भइरहन्छ र यसको विकास सङ्घर्षको माध्यमबाट हुन्छ ।” दोस्रो, समयको खास विन्दुमा कुनै अन्तर विरोधको एउटा मुख्य वा प्रधान पक्ष र अर्को गौण वा कमजोर पक्ष हुन्छ । विकासको प्रक्रियामा यो पक्षहरुले आप्mना ठाउँ फेरिरहन्छन् । यो स्वत:स्फुर्त पनि हुन्छ । यसलाई सही ढङ्गबाट हल गरेर तीव्र पार्न पनि सकिन्छ । उहाँले भन्नुभएको छ । “संश्लेषण भनेको शान्तिपूर्ण सह–अस्तित्व होइन, सङ्घर्ष र क्रान्ति नै विकास प्रक्रियाको प्रतिमान हो ।” उहाँ फेरि भन्नुहुन्छ । “एकले अर्कोलाई खान्छ र ठूलो मान्छेले सानो मान्छेलाई निल्छ, यो नै संश्लेषण हो । सङ्घर्षपछिको विकास नै संश्लेषण हो ।”यसको तात्पर्य हो कुनै खास अवस्थामा एउटा शक्तिशाली पक्ष र अर्को कमजोर पक्ष हुन्छ । अन्तरविरोधको धारणाको एउटा महत्वपूर्ण निहित अर्थ हो साना माछाहरु एकजुट भएर नै साना माछाहरु पनि ठूलो र शक्तिशाली बनेर ठूला माछालाई हराउन सक्छ । माओको अनुसार सङ्घर्षको प्रक्रिया तरङ्ग जस्तो हुन्छ । सङ्घर्षका विकासले उलटपलट हुन्छ । त्यसपछि अपेक्षाकृत शान्तिको क्रम चल्छ तर सम्पूर्ण प्रक्रियाहरु निषेधको निषेधलाई पूर्ण विनासको रुप मा पनि लिनुहुँदैन लियो भने अधीभूतवादी गल्ती हुन्छ । विकास प्रत्येक अवस्थामा स्वीकार्य र निषेध दुवै स्थान हुन्छ । सामन्ती समाज दाससमाजको निषेध र पुँजीवादी समाजको स्वीकार्य, पुँजीवादी समाजको सामन्ती समाजको निषेध र समाजवादी समाजको स्वीकार्य हो । यदि विरोधी शक्तिहरु स्पष्टसँग दृष्टिगोचर भएन भने स्पष्ट पार्न प्रयास गर्नुपर्छ । निषेधको निषेधवारे स्टालिनले गल्ती गरेका कुरालाई इङ्गित गर्दै माओले भन्नुभएको छ ।“अक्टोबर क्रान्तिले पुँजीवादलाई नकार्यो तर उनले समाजवादलाई पनि नकार्न सक्छ भन्ने कुरालाई नकारे । यो पनि हुन सक्छ कि एकदिन समाजवादको नै अस्तित्व पनि मेटिन्छ ।” जुन कुरा अहिले सही सावित भएको छ ।
क. माओले निरन्तर सङ्घर्षमा जोड, तरङ्ग जस्तै विकास, विचार र मुख्यपक्षको रणनीतिक अवधारणा तथा त्यसको रुपान्तरण सङ्घर्ष नै यस प्रक्रियाको सबभन्दा बढी महत्वपूर्ण गति विज्ञान हो । जसले संश्लेषणलाई जन्म दिन्छ भन्नुभएको छ । उहाँले अर्को के पनि भन्नुभएको छ भने पुराना पक्षहरु बीचको अन्तरविरोधहरुबाट कयौं समस्याहरु पैदा हुन्छन् । तर समष्टिगत रुपमा विपरीत तत्वहरुको गति छलाङ्गको रुपमा हुन्छ । द्वन्द्ववादी विकासको प्रक्रिया अनन्त छ भन्दै माओ भन्नुहुन्छ–“यस विकासको परिवर्तनका लहरहरु सिरियल गतिजस्तै हुन्छ । कुनै गतिको विकासको प्रक्रियाको प्रत्येक चरणमा उतार–चढावको गतिको क्रम हुन्छ । यो नबुझ्नेहरु उत्थानमा जोसका साथ र उतारमा पलायन भएर जान्छन् ।”
माओ भन्नुहुन्छ– “कुनै पनि अन्तविरोधमा परस्पर विरोधीहरुको विकास असमान हुन्छ । कहिलेकाँही सन्तुलनजस्तो देखिए तापनि त्यो, केवल अस्थायी र सापेक्ष स्थिति हो ।मूल स्थिति असमानताको नै स्थिति हो । यो विरोधी पक्षहरुमध्ये एउटा प्रधान हुन्छ र अर्को गौण प्रधान पक्ष त्यो हो जसले कुनै अन्तरविरोधमा प्रमुख भूमिका खेल्दछ । कुनै वस्तुको स्वरुपको निर्णय मुख्य गरी अन्तरविरोधको प्रधान पक्षले नै गर्दछ । त्यो पक्ष जसले आप्mनो प्रभुत्व कायम गरिरहेको छ ।”
माओ भन्नुुहुन्छ –“अन्तरविरोध को विकासलाई देखाउन कुनै निश्चित अटल फर्मुला हुँदैन । अन्तरविरोधको विशिष्टतामाथि ध्यान दिएर अघि बढाउने कुरामा मानिसको पहलकदमीको भूमिका विकास प्रक्रियामा अझै पनि महत्वपूर्ण र निर्णयक बनेको छ । त्यसकारण विश्लेषण र संश्लेषणका नियमहरुलाई आत्मासात् गर्नु, त्यसलाई सही ढङ्गबाट लागु गर्नु, यान्त्रिक तरिकाबाट प्रयोग गर्न सकिँदैन । मानिसले वस्तुगत कुरालाई त्यसबेला मात्र रुपान्तरण गर्न सक्छ । जुन बेला वस्तुगत यथार्थले त्यसलाई आवश्यक सम्झन्छ । वस्तुतग यथार्थले आवश्यक सम्झेर पनि सचेतन पक्षले बल पुर्‍याएन भने रुपान्तरण हुन पचासौँ, सयौँ वर्ष लाग्न सक्छ र राम्रो भूमिका खेल्न सक्यो भन्यो चाँडै पनि रुपान्तरण गर्न सकिन्छ ।”
“दर्शनशास्त्रलाई दार्शनिकहरुको प्रवचन कोठाहरु र पाठ्यपुस्तकहरुको सीमित घेराबाट मुक्त पार र यसलाई व्यापक जनसमूहको हातमा रहेको एउटा धारिलो हतियारको रुपमा फेर” भन्नु हुने माओले, “दर्शन त्यतिबेलामात्रै जन्मन्छ जब वर्गसङ्घर्ष चल्छ । व्यवहारिक अभ्यासविनाको दर्शनको कुरा गर्नु समय वर्वाद गर्नु मात्रै हो ।” “एउटाले अर्को चीजलाई खान्छ, ठूलो माछाले सानो माछालाई खान्छ, त्यही हो संश्लेषण । तर सिद्धान्तका यस्ता कुराहरुलाई पुस्तकमा यसरी लेखेको पाइँदैन”।“जीवनलाई विपरीत तत्वहरुको एकताको रुपमा बुझ्नुपर्छ ।”“एउटाले अर्कोलाई नष्ट गर्छ, वस्तु पैदा हुन्छ, हुर्कन्छ र ध्वस्त हुन्छ । यो कुरा जहाँ पनि लागू हुन्छ । यदि कुनै वस्तुलाई अर्कोले नष्ट गरेन भने पनि त्यसले स्वयंलाई नष्ट गर्छ ।”परिमाण गुणमा फेरिन्छ र गुण परिमाणमा फेरिन्छ।“द्वन्द्वात्मकताको जीवन भन्नु नै विपरीत तत्वहरुबीचको निरन्तर सङ्घर्ष हो ।”
द्वन्द्वात्मक भौतिकवादको सारतत्वका रुपमा एवम् प्रकृति, समाज र मानवीय ज्ञानका सबै क्षेत्रमा द्वन्द्ववादको आधारभूत नियमका रुपमा अन्तरविरोधको नियमको उद्घाटन माओद्वारा भएको छ । अन्तरविरोधको सार्वभौमिकता र प्रधान अन्तरविरोधको निक्यौंलको पद्धति र महत्वको विश्लेषणले द्वन्द्ववादको समझदारीको विकासलाई नयाँ उचाइमा पुर्‍याएको छ । क्रान्तिको रणनीति र कार्यनीति निर्धारणमा अन्तरविरोधको आधारभूत नियमले खेल्ने महत्वपूर्ण भूमिका स्वत: स्पष्ट छ ।
ज्ञानको सिद्धान्तका क्षेत्रमा क. माओले वर्गसङ्घर्ष, उत्पादनको निमित्त सङ्घर्ष एवम् वैज्ञानिक प्रयोगलाई ज्ञानको स्रोत बनाएर इन्द्रीय गा्रह्य ज्ञानबाट बुद्धिसङ्गत ज्ञानमा पुग्ने प्रक्रियाका सम्बन्धमा तथा सिद्धान्त र व्यवहारको आपसी सम्बन्धकाबारेमा गर्नु भएको विश्लेषणले माक्र्सवादी दर्शनमाा महत्वपूर्ण योगदान पुगेका कुरा निर्विवाद छ ।
संशोधनवादका विरूद्ध सङ्घर्षका क्रममा द्वन्द्ववादको प्रधान पक्षका रुपमा एक–दुईमा विभाजित हुन्छ भन्ने सम्बन्धमा गरिएको विषद् व्याख्या र प्रयोगले संशोधनवादसँग लड्नका लागि क्रान्तिकारीहरुका हातमा एउटा धारिलो हतियार प्राप्त भएको छ ।
आधार र उपसंरचनाको आपसी सम्बन्धबारे अधिभूतवादी र एकलकाँटे दृष्टिकोण अपनाई ‘उत्पादन शक्तिको सिद्धान्त” र ‘अर्थवाद’ तिर जाने संशोधनवादीहरुको पुँजीवादी सोचाइहरुमाथि प्रहार गर्दै खासखास अवस्थामा चेतना र संरचनाको निर्णायक भूमिकाको व्याख्याले पुँजीवादलाई नाङ्गो पार्ने काम गरेको छ ।
दर्शनलाई पुस्तकालय, दार्शनिकहरुको अध्ययन र कोठेचिन्तनबाट निकालेर आमजनतासम्म पुर्‍याई एउटा अजेय शक्तिमा परिणत गर्नुपर्ने आवश्यकता र त्यसका विधिवारे क. माओले गर्नुभएको अनुसन्धानले द्वन्द्वत्मक भौतिकवादी दर्शनलाई उन्नत रुपले भौतिक शक्तिमा परिणत गर्ने आधार मिलेको छ ।
“माक्र्सवादको जन्म वर्गसङ्घर्षको विचबाट हुन्छ अर्थात दर्शनको जन्म सङ्घर्षबाटनै हुन्छ भन्ने क. माओले दर्शन शास्त्रका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएको छ ।
(केसी वरिष्ठ माक्र्सवादी लेखक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको अध्यक्ष हुन् ।)

 

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर