जनकलाकारको भेला सम्पन्न, अशल पाख्रिन अध्यक्षमा चयन

जनकलाकारको भेला सम्पन्न, अशल पाख्रिन अध्यक्षमा चयन

काठमाडौं/९, पुस
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आङ्गिक सङ्गठन अखिल नेपाल जनकलाकार सङ्घको दोस्रो राष्ट्रिय भेला आज काठमाडौंमा सम्पन्न भएको छ । भेलाले जनकलाकारका संयोजक अशल पाख्रिनलाई अध्यक्षमा निर्वाचित गर्दै २५ सदस्यिय कार्य समिति चयन गरेको छ ।

उक्त भेलालाई पार्टीका पोलिट व्युरो सदस्य चन्द्रहरी सुवेदी ‘अटल’ले सम्बोधन गर्दै ‘थोरै मान्छेहरूद्वारा विचार, भाव र कलाबाट लाखौँ करोडौँ मानिसलाई जागृत गराउँदै अग्रगामी आन्दोलनमा सङ्गठित गर्ने ताकत कलाकारहरूमा रहेको’ धारणा व्यक्त गर्नुभयो । उहाँले जनयुद्धका क्रममा सानो भन्दा सानो टिमबाट जागरण अभियान पैदा गर्दै कलाकारका पल्टन निर्माण गरेको र सांस्कृतिक सेनासम्म निर्माण गरेको चर्चा गर्दै यतिबेला क्रान्तिको दियो पुनः बाल्ने अभिभारा कलाकारहरूमा आएको बताउनुभयो ।

त्यसैगरी भेलालाई अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष जगदीश चन्द्रले आज देशमा हिजोका क्रान्ति नायकहरूले विसर्जनको बाटो समाउँदै पश्चगामी यात्रामा हिँडेकोले जनतामा ठूलो निराशा पैदा भएको बताउँदै क्रान्तिकारी कलाकर्मीहरूले जनतामा नयाँ क्रान्तिको विगुल फुक्नुपर्ने दायित्व रहेको औँल्याउनुभयो । उक्त भेलालाई महासङ्घका महासचिव हिरामणि दुःखी, अखिल नेपाल लेखक सङ्घका अध्यक्ष मित्रलाल पंज्ञानी, अखिल नेपाल जनस्वास्थ्यकर्मी सङ्घका संयोजक इन्दिरा अधिकारी, घनश्याम ढकाल प्रतिष्ठानका सदस्य बलराम तिमल्सिना र ललितकला सङ्घका संयोजक खगेश्वर भण्डारी लगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

भेलाले अशल पाख्रिन (काभ्रे) अध्यक्ष रहेको कमिटीमा उपाध्यक्ष काजी गाउँले (कास्की), सचिव प्रतीक लामा (काभ्रे), कोषध्यक्ष अनिश योञ्जन (सिन्धुपाल्चोक) लाई चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा अशल वाइवा (सि.पा.), सौगात सायर (रूपन्देही), सफल सोडारी (ओखलढुङ्गा), मिसम अधिकारी (चितवन), पेमा वाङ्वो लामा (मुगु), देक्षेन वाङ्वो लामा (मुगु), अमिट योञ्जन (सि.पा.), रुषा जिम्बा (सि.पा.), विक्रम थापा (बागलुङ), विशाल योञ्जन (काभ्रे), दिपेश लामा (दोलखा), अश्मिता लामा (काभ्रे), सुनिता थिङ (काभ्रे), मिरा थापा (तनहुँ), प्रनिशा कटुवाल (ओखलढुङ्गा), सहित बाँकी अन्य प्रदेशबाट पछि थप्ने गरी २५ जनाको समिति निर्वाचित गरेको छ । यसैगरी भेलाले जनकलाकारकाे सल्लाहकारमा अादर्श राइ, बलाराम तिमल्सिना र प्रकाश घिमिरेलाइ चयन गरेकाे छ ।

भेलाले अशल पाख्रिनलाई संयोजक र अनिश योञ्जनलाई सहसंयोजक चयन गर्दै सामना परिवारलाई पुनर्गठन गरेको छ । जसका अन्य सदस्यहरूमा काजी गाउँले, प्रतीक लामा, सौगात सायर, अशल वाइवा, सफल सोडारी, पेमा वाङ्वो लामा, देक्षेन वाङ्वो लामा, अमिट योञ्जन, विशाल योञ्जन, मिरा थापा, प्रनिशा कटुवाल लगायत १५ सदस्यिय रहेको छ । 

महान् जनयुद्ध लगायत सम्पूर्ण मुक्तिकामी सङ्घर्षहरूमा सहादत प्राप्त गरेका सहिदहरूप्रति एक मिनेट मौनधारण गरी प्रारम्भ भएको कार्यक्रममा सामनाका कलाकारहरूद्वारा अन्तर्राष्ट्रिय गीत गाएका थिए भने उपस्थित सम्पूर्ण सहभागीहरूले मुट्ठी उठाएर अन्तराष्ट्रिय गीतमा सामेल भएका थिए । उक्त कार्यक्रमको सञ्चालन प्रतीक लामाले गरेका थिए भने काजी गाउँलेले स्वागत मन्तव्य राखेका थिए । सामना परिवारले गीतद्वारा स्वागत गरेका थिए । कार्यक्रमको बिच बिचमा सामना परिवारका कलाकारहरूले प्रत्यक्ष लाइभ गीत गाएर कार्यक्रमलाई भब्य बनाएका थिए ।

यसैगरी भेलाले विभिन्न ६ बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ । उक्त प्रस्तावहरूको पूर्ण पाठ–
१. गीत–सङ्ङ्गीतका नाममा छाडा पुँजीवादी नग्न प्रस्तुतिलाई नियन्त्रण गरियोस् ।
२. समाज रूपान्तरणको महाअभियानमा सामेल जनयुद्धका सांस्कृतिक सहिदहरूको उचित सम्मान र परिवारजनलाई राहतको व्यवस्था गरियोस् ।
३. महिलाद्वेषी, श्रमविरोधी र उपभोक्तावादी गीत–सङ्गीतको प्रशारणमा नियन्त्रण गरियोस् ।
४. महान् जनयुद्धका सम्पूर्ण कलाकारहरूको जीविकोपार्जनको उचित व्यवस्थापन गरियोस् ।
५. देशमा व्याप्त चरम महङ्गी, भ्रष्टाचार, बेरोजगारी, अभाव लगायत जनजीविकाका समस्या समाधानका लागि राज्यले तत्काल गम्भीर पहल गरोस् ।
६. मुलुकको राष्ट्रिय अस्मिता र स्वाधीनतामाथि भौगोलिक अतिक्रमणका अतिरिक्त एमसीसी जस्ता अनेक राष्ट्रघाती सन्धि सम्झौता लादेर घात गरिएकोमा तिनलाई खारेज गरी राष्ट्रिय स्वाधीनताको रक्षा गरियोस् ।