अनिल श्रेष्ठ
बजारमा भर्खरै कवि बलराम तिमल्सिनाको नयाँ कवितासङ्ग्रह ‘मामुली मान्छे’ आएको छ । यो कविता सङ्ग्रहलाई भुँडीपुराणले प्रकाशनमा ल्याएको हो ।
बलराम तिमल्सिना सङ्घर्षशील कवि हुन् । माक्र्सवादी दर्शन उनको जीवन दृष्टिकोण हो । त्यसैले उनका कविताहरू माक्र्सवादी सौन्दर्यचिन्तनका माध्यमबाट जीवन र जगतलाई हेर्ने नवीन यथार्थका साक्ष्य हुन् । उनी कवितामा कुण्ठा सिर्जना गरेर पाठकलाई अँध्यारोको मझधारमा अल्मल्याउँदैनन् । बरू अँध्यारोसँग लडेर उज्यालोतर्फ बढ्न आत्मसङ्घर्षको बाटो तय गराउँछन् । उनका कविताहरू पाठकसँग संवाद गर्छन् र कवि कविता र पाठकसँग मिलेर आन्दोलनको एउटा मोर्चा निर्माण गर्छन् । त्यसैले पनि उनका कविताहरूको स्वभाव विद्रोही छन् । उनी विद्रोहका कवि हुन् ।
‘मामुली मान्छे’ कवि बलराम तिमल्सिनाको प्रतीकात्मक शीर्षक बोकेको कविताहरूको एउटा विद्रोही स्वर हो । साठी ओटा मझौला कविताहरूलाई उनले यहाँ मामुली मान्छेहरूका आवाज बनाएका छन् । र, यी कविताहरू उनले गरेको आन्दोलनहरूबाट सिर्जित स्वरहरू हुन् ।
यसअघि उनको संयुक्त कवितासङ्ग्रहका रूपमा ‘तानाशाहलाई प्रश्न’ (२०५३) प्रकाशित भइसकेको छ । ‘युद्धभूमिका गीतहरू’ (२०६३) उनको दोस्रो कविता कृति हो । झण्डै तेह्र वर्षपछि आफ्ना छरिएका कविताहरूलाई सङ्गृहीत गरेर उनले पाठकहरूमाझ ‘मामुली मान्छे’ (२०७९) ल्याएका छन् ।
एकताका थियो, पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन । र, उनी थिए पञ्चायती व्यवस्थाका खुँखार विरोधी । एक बागी मान्छे । उनी कविता मात्रै लेख्दैनथे । शारीरिक र भौतिक रूपमै उनी पञ्चायती व्यवस्था र त्यसका शासकहरूका विरुद्धमा सहरका सडक र गाउँका बस्तीहरूमा मान्छेहरू एकट्ठा गरी हिँड्थे । पञ्चायतका विरुद्ध मान्छे उराल्थे । त्यसैले उनी थिए पञ्चायती व्यवस्थाका ठालुहरूको लागि आँखाको कसिङ्गर । उनी थिए पञ्चायती व्यवस्था फ्याँक्न हिँडेका व्यवस्था विरोधी खाँटी कम्युनिस्ट । पञ्चायतले समातेर उनलाई ठिँगुरामा हाले । अनेक यातना सहे । तर पनि यातनाले उनको आस्था गलाउन सकेन । जेल र हिरासतबाटै उनले गरिरहे– तानाशाहलाई प्रश्न ।
उनका सङ्घर्षका कथाहरू यत्ति मात्र छैनन् । उनको सिङ्गो जीवन सङ्घर्षको एउटा आख्यान हो । उनीसँग सङ्घर्षपूर्ण जीवनका अनेक अनुच्छेदहरू छन् । उनले निरङ्कुश र जनविरोधी सत्ताको विरुद्ध हजारौं योद्धाहरूको लस्कर निर्माण गरे र शासकहरूका विरुद्ध अदबले लडिरहे ।
कवि बलराम तिमल्सिना विचारमा सधैं दृढ र आन्दोलन र सङ्घर्षप्रति प्रतिबद्ध कवि हुन् । उनी विचार पक्षधरताका कवि हुन् । उनका कविताहरू कहिल्यै निवर्गीय हुँदैनन् । उनी भोकाहरूको आवाज लेख्छन् र निर्धाहरूको लागि लड्छन् ।
श्रमिकहरूले
श्रमिकमारा पुँजीवाद भन्दा
म मुर्दावाद भनिदिन्छु
व्यवस्था बदल्न भनेर
जब श्रमिकहरू सडकमा ओर्लिन्छन्
म पनि लुसुक्क जुलुसमा मिसिन्छु –‘मामुली मान्छे’, पृष्ठ २
‘मामुली मान्छे’ सङ्ग्रहकै शीर्षक बोकेको सङ्ग्रहभित्र रहेको शीर्ष कविता हो । ‘म एक जना मामुली मान्छे ।’ ……… सङ्ग्रहमा रहेको लेखकीय भूमिका ‘मामुली कविका मामुली कुरा’ मा लेखकको आफ्नो स्वीकारोक्ति छ, ‘मेरा कविताहरू पनि मामुली नै छन् । बौद्धिक भनिने जगत्लाई मेरा कविताले खास नछुन पनि सक्छ । त्यसो त मैले मामुली पाठकहरूको लागि नै यी कविताहरू लेखेको हुँ ।’
उनी कविता आनन्द वा आत्मतुष्टिका लागि लेख्दैनन्, कवितालाई सामाजिक परिवर्तनको जिम्मेवारीको बोधका साथ लेख्छन् । उनी कविता सर्वजनहितायका लागि लेख्दैनन्, बहुजनहितायका लागि लेख्छन् । उनी कविता सत्ताको लागि लेख्दैनन्, शासितहरूका लागि लेख्छन् । उनी कविता उत्पीडकहरूका लागि लेख्दैनन्, उत्पीडितहरूका लागि लेख्छन् । त्यसैले उनका कविताहरू सत्तामा रमाउनेहरूका लागि प्रियकर लाग्दैनन् । सत्ताको भ्रममा बाँच्नेहरू विरुद्ध उनका कविताहरू कटाक्ष गर्छन् ः
जरा काटेर
हाँगा काटेर
सत्ताको गमलामा मात्र अट्ने बनाएर
सत्ताको आदेशअनुसार मात्रै बढ्ने बनाएर
सत्ताको इशारामा मात्र
अड्कली अड्कली बोल्ने बनाएर
सत्ताले खोलेको छ–
बोन्साइ नर्सरी उद्योग । –‘बोन्साइ बुद्धिजीवी’, पृष्ठ १७
कवि बलराम तिमल्सिना माक्र्सवादी हुन् । उनी हरेक वस्तु र घटनालाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले हेर्छन् । त्यसैले उनका कविताहरू पनि द्वन्द्वात्मक घटनाक्रमको विकासबाट हुर्किएका हुन्छन् । उनी आफ्ना कविताहरूलाई विचारको शब्दहरूले मात्र बोझिलो बनाउँदैनन् । उनी कवितामा कोमलता सिर्जना गर्छन् र शब्दहरूको जटिलताबाट कवितालाई मुक्त बनाउँछन् । र त उनका कविताहरू सामान्य पाठकका बिच सम्प्रेष्य छन् ।
कम्तिमा पाँच करोड बच्चाहरू
दैनिक अरूले फालेको भात टिप्न
कुकुरसँग झगडा गर्छन्
कैले कुकुरले जित्छ बच्चा भोकै सुत्छन्
कैले बच्चाले जित्छन् कुकुर भोकै सुत्छन्
प्यारी छोरी सुन
यो पृथ्वीमा कस्तो छ
दैनिक पच्चिसकरोड कुकुरहरू
मासु भात खान्छन्
स्याम्पुले नुहाउँछन्
र गलैचामा सुत्छन्
त्यति नै मानिसहरू
फालेको भात खान्छन्
आँसुले नुहाउँछन्
र सडकमा सुत्छन्
मानिसहरूको जीवन
कुकुरको भन्दा तल छ छोरी । –‘भात फाल्ने छोरीसँग’, पृष्ठ ५२
श्रम र उत्पादनसँगको सम्बन्ध र श्रमजीवीप्रतिको माया र वर्गप्रेमलाई कवि बलराम तिमल्सिना निकै सरल शब्दहरूले कविताहरूमा व्यक्त गर्छन् । उनका कविताहरूमा करुणा छ, आक्रोश छ, घृणा छ, विद्रोह छ, प्रेम छ, व्यङ्ग्य छ, कटाक्ष छ र एउटा उदात्त आदर्श सपना छ । एउटा अन्तर्राष्ट्रिय भातृत्वप्रेम र ऐक्यबद्धता छ ।
मुर्तजा कुरैसी
म कामना गर्छु
अब धरतीमा
हरेक आमाहरूले जन्माउन्
तिमीजस्तै जिराहा बालक
जो मर्न तयार होस्
तर, शासकहरूको फोहोर खुट्टामा
कहिलै झुक्न तयार नहोस् । –‘सलाम वालेकुम मुर्तजा’, पृष्ठ १५८
‘खन्नाको खण्डहर’ कवितासङ्ग्रहभित्र रहेको अन्तिम कविता हो । सायद धेरैलाई खन्ना गार्मेन्टको बारेमा थाहा नहुन सक्छ । नेपाली जनवादी संस्कृति निर्माणका निम्ति युद्ध लडेर हिँडेका जनकलाकारहरूका लागि खन्ना गार्मेन्ट तितो विगत बनिसकेको छ । सरकारी कमरेडहरूको खन्ना गार्मेन्टसँगको उपेक्षापूर्ण व्यवहारले छिन्नभिन्न पारेको जनकलाकारहरूको जीवनलाई कवि बलराम तिमल्सिनाले बिर्सन सकेका छैनन् । यस कवितामा सत्तामा रहेका सरकारी कमरेडहरूप्रति उनको बक्रोक्ति छ ः
सुकेनासले सुकेजस्ता
चाउरिएका, दाउरिएका
उमेरले बुढाबुढी भएका
अलपत्र र असरल्ल
केही जिन्दगीहरू बस्छन्
खन्नाको खण्डहरमा । –‘खन्नाको खण्डहर’, पृष्ठ २१५
माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्यको भूमिकाले पनि कवि बलराम तिमल्सिनाको कविताका प्रवृतिहरूलाई सहजै बुझ्न सकिन्छ । चैतन्यको शब्दमा, ‘यो कवितासङ्ग्रह समाजवादी यथार्थवादद्वारा अनुप्राणित एक मौलिक कृति हो र यसले दक्षिणपन्थी संशोधनवादका विरुद्धको विचारधारात्मक सङ्घर्षका साथै प्रतिक्रियावादका विरुद्धको सङ्घर्षमा पनि विशेष महत्व राख्दछ ।’
कविता सङ्ग्रहको आवरण सज्जा सुन्दर छ । २१६ पृष्ठ रहेको यस कवितासङ्ग्रहको मूल्य ३५० रहेको छ । प्रगतिशील स्रष्टाहरूको कृतिहरूको प्रकाशन शून्यप्रायः देखिइरहेको स्थितिमा कवि बलराम तिमल्सिनाको यो कविता सङ्ग्रहको प्रकाशनले प्रगतिशील साहित्यले एउटा नवीन कृति प्राप्त गरेको छ । यो सुन्दर कृतिका लागि कवि बलराम तिमल्सिनालाई बधाई छ ।
आँबुखैरेनी, तनहुँ ।