तत्कालीन रुघा गाबिस – ९ दाङचुङ रुकुम हालको त्रिबेणी गाउँपालिका – १ दाङचुङमा कमरेड अडिगकाे जन्म भएको हाे । आमा केसरी बोहरा र बुबा हर्कसिङ बोहराको जेठाे छोराको रुपमा २०३९ मङ्सिर २७ गते अाजकै दिन जन्मिनु भएको नारायण बोहरा (क. अडिग) सानैदेखि बिद्रोही स्वाभावका हुनुहुन्थ्यो ।
२०४७ को राजनीतिक उथलपुथल हुँदा कमरेड अडिगले कक्षा ३ मा पढदै हुनुहुन्थ्यो । स्थानीय दिब्य चक्षु निम्न माध्यमिक बिद्यालय रुघा तलिगाउँ रुकुममा प्रारम्भिक शिक्षा लिनुभएका अडिगले माध्यमिक तहमा अध्ययनरत रहेकै अवस्थामा विद्यार्थी राजनीतिमा जाेडिनुभएकाे हाे । तत्कालीन संयुक्त जनमोर्चा नेपालको प्रभावक्षेत्र रहेको रुकुमको रुँघा क्षेत्रले तत्कालीन राज्यको तीव्र दमन खेप्नुपरेको थियो । यही राज्यको दमन र दमनका बिरुद्ध स्थानीयस्तरमा जनताबाट गरिएको बिद्रोह उहाँको बाल मस्तिष्कमा गडेर रहेको थियो । २०४८ काे संसद र २०४९ को स्थानीय निर्वाचनमा तत्कालीन काङ्ग्रेसी सरकारका लठैतहरू सङ्गको सङ्घर्षले वर्गसङ्घर्षकाे रूप लिँदै गएको थियो । त्यसबाट उत्पन्न राज्यको दमन,रोमियो अप्रेसन हुँदै किलाेशेरा अप्रेशनसम्म अाउँदा वर्गसङ्घर्ष पनि उत्कर्षतामा पुगेको थियो । त्यस समयमा नयाँ नामको प्रहरी जत्था दङ्गाले गरेको दमन, बलत्कार, हिङ्साहत्याका डरलाग्दा रूपसँग सानै उमेरमा साक्षात्कार भएका कमरेड अडिग बिद्यार्थी कालमै अखिल क्रान्तिकारीका स्थानीय कार्यकर्ता भइसक्नु भएको थियो ।
२०५२ फागुन १ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) ले सुरु गरेको जनयुद्धले सबै जनतालाई अाफ्नाे प्रभावमा लिएको थियो । त्यतिबेला पार्टीको पत्राचार कार्यमा सञ्चारकाे भुमिका निभाउनु भएका कमरेड अडिग २०५८ मङ्सिर ११ गतेदेखि सरकारले लगाएको सङकटकालपछि भूमिगत हुनभयो । फलस्वरूप उहाँले आफ्नो अध्ययन कक्षा १० मै टुग्याउनुपर्ने अवस्था भयो । भूमिगत भएपछि सोही समयमा झण्डै १८ बर्षकै उमेरमा जनसेनामा भर्ना हुनुभयो । जनमुक्ति सेनामा थर्ड पलाटुङ कमिसार र कमान्डर हुनुहुन्थ्यो । रोल्पा जिल्लाको सुपाकुनामा तत्कालीन शाही नेपाली सेनासङ्ग भएको दोहोरो भिडन्तमा लडदालडदै २०६० साल मङ्सिर २७ गते जन्मेको दिन र महिनामा २१ बर्षको उमेरमा उहाँले शाहदत प्राप्त गर्नुभयो ।
कमरेड अडिगका आमा ७५ बर्षिय केसरी बोहरा दुई दिदी यमुना र शुबित्रा र एक भाइ शूर्य बोहरा हुनुहुन्छ । हाल उहाँको परिवार तुलसीपुर -१६ रावतगाँउमा बसोबास गर्नुहुन्छ । अाज जनयुद्धको नेतृत्व गरेको पार्टीको मुख्य हिस्सा र नेतृत्व स्वयम् वुर्जुवा सरकारको नेतृत्वमा छ र जनयुद्धमा अाफैले गरेको प्रतिवद्धता र विचारबाट विचलित भएर वर्गउत्थानमा पुगेको छ । साथै वर्गसङ्घर्षका क्रममा रहेका अाफ्नै सहयात्रीहरुमाथि दमन गरेर प्रतिक्रियावादी यात्रातिर उद्धत भएको छ ।
देशको आमूल परिवर्तनका लागि बलिदान दिनु भएका महान सहिद कमरेड अडिगप्रति भावपूर्ण श्रद्धाञ्जली । – प्रस्तुति ईश्वरीप्रसाद गैरे ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर