काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का काभ्रे जिल्ला सचिवालय सदस्य गुञ्जमान तामाङ र जिल्ला सदस्य ज्ञानबहादुर लामालाई अवाञ्ति गतिविधि गरेको झुठा आरोपमा कार्तिक १५ गते दाप्चास्थित निवासबाट प्रहरीले गिरफ्तार गरेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन बहिस्कारमा सक्रिय ती नेताहरुलाई अवाञ्चित गतिविधिको झुठा आरोप लगाएर प्रहरीले गिरफ्तार गरेपछि क्रान्तिकारी माओवादीले यस्तो फासिवादी क्रियाकलाप नरोकिए सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ । नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश ३ का सेक्रेटरी प्रवेशले एक प्रेस विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिनुभएको हो ।
जिल्ला नेताहरु पक्राउ गरिएको घटनाको घोर निन्दा र भत्र्सना गर्दै विज्ञप्तिमा गिरफ्तार जिल्ला नेताहरुलाई बिनाशर्त तत्काल रिहा गर्न पनि जोडदार माग गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “प्रतिक्रियावादी सरकारद्वारा मञ्चन गरिएको प्रादेशिक तथा संघीय निर्वाचन बहिस्कारको घोषित पार्टी कार्यनीति प्रभावकारी बन्दै गइरहेको र जनसमुदायमा सकारात्मक प्रभाव बढेको देखेर अतालिएको संसदवादी पार्टीहरुको उक्साहटमा हाम्रो पार्टीका काभ्रे जिल्ला सचिवालय सदस्य क.गुञ्जमान तामाङ र जिल्ला सदस्य क.ज्ञानबहादुर लामालाई अवाञ्ति गतिविधि गरेको झुठा आरोपमा हिजो कार्तिक १५ गते दाप्चास्थित निवासबाट गिरफ्तार गरिएको घटनाको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ । साथै गिरफ्तार गरिएको हाम्रा साथीहरुलाई बिना शर्त अविलम्ब रिहा गर्न माग गर्दछौं । राजनैतिक कार्यक्रमलाई अवाञ्चित गतिविधि देख्ने दृष्टिदोष भएका जिल्ला प्रशासन र प्रहरी प्रशासनलाई दृष्टिदोषको तुरुन्त उपचार गर्न र निर्वाचनको बहिस्कार गर्न पाउने जनताको लोकतान्त्रिक नैसर्गिक अधिकारलाई अवमूल्यन नगर्न अनुरोध गर्दछौं । अन्यथा राज्यको यस प्रकारको फासिवादी र अलोकतान्त्रिक क्रियाकलाप नरोकिए हाम्रो पार्टी सशक्त प्रतिरोध गर्न बाध्य हुने व्यहोरा यसै विज्ञप्तिमार्फत् सार्वजनिक गर्दछौं ।”