काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले काठमाडौंमा निर्वाचन बहिस्कारलाई व्यापक बनाउँदै लगेको छ । घोषित कार्यक्रम अनसार काठमाडौंका ठाउँ ठाउँमा पोस्टरिङ, पर्चा वितरण गर्नुका साथै आज (कार्तिक १५)बाट कोणसभा समेत सुरु गरेको छ । पोस्टरिङको क्रममा पार्टीका केन्द्रीय सल्लाहकार गोर्की श्रेष्ठसहित पाँच जना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको थियो । चौतर्फी रुपमा रिहाइका लागि दबाब दिएपछि साँझपख मात्र उहाँहरुलाई रिहाइ गरेको थियो । त्यस्तै अन्य कतिपय ठाउँमा प्रहरीले हस्तक्षेप गरी प्रचार सामग्री खोसेर लगेको थियो । प्रहरी हस्तक्षेप र अवरोधलाई छिचोल्दै काठमाडौंमा क्रान्तिकारी माओवादीले निर्वाचन बहिस्कार कार्यक्रमलाई आन्दोलनको रुपमा अगाडि बढाइरहेको छ ।
आज क्रान्तिकारी माओवादीले काठमाडौंको टोखामा कोणसभाको आयोजना ग¥यो । कोणसभालाई नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार गोर्की श्रेष्ठ, पार्टी केन्द्रीय सदस्य शिव श्रेष्ठ र पार्टी केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज शारदा महतले सम्बोधन गर्नुभयो । उहाँहरुले विदेशी दलाल र भ्रष्टहरुलाई चोख्याउने र देश र जनतालाई लुट्ने लाइसेन्स प्रदान गर्नेभन्दा अर्को काम नगर्ने हुनाले निर्वाचन बहिस्कार गर्न आग्रह गर्नुभयो । उहाँहरुले संविधान नै प्रतिगामी रहेको, देशको स्वाधीनत गम्भिर संकटमा परेको र जनजीविकाका समस्याहरु विकराल अवस्थामा रहेको र ति समस्याहरु यो चुनावपछि बन्ने सरकारले मात्र होइन सिंगो संसदीय व्यवस्थाले नै समाधान गर्न नसक्ने ठोकुवा गर्दै अब संघीय जनगणतान्त्रिक व्यवस्थाका लागि संघर्ष गर्नुपर्ने बेला आएको पनि बताउनु भयो ।
संसदवादी दलहरुलाई जसरी भोट माग्दै जनतामा जाने अधिकार छ, त्यसैगरी निर्वाचन बहिस्कार गर्ने पक्षलाई पनि जनतामा गएर आफ्ना कुरा भन्ने अधिकार छ भन्दै शान्तिपूर्ण रुपमा विरोध एवम् भण्डाफोर गर्न पाउने जनअधिकारलाई कुण्ठित नपार्न र शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गरी धरपकड गरी आतंक सिजर्ना गर्ने कार्य बन्द गर्न पनि उहाँहरुले चेतावनी दिनुभयो ।
कोणसभाको सञ्चालन बद्रीहरि नेपालले गर्नुभएको थियो । कार्यक्रममा सयौको संख्यामा स्थानीय जनताको समेत सहभागित रहेको थियो ।
क्रान्तिकारी माओवादीले निर्वाचन बहिस्कार आन्दोलन अन्तर्गत काठमाडौंका विभिन्न ठाउँमा कोणसभा गर्ने कार्यक्रम बनाएको सम्बद्ध स्रोतले जनाएको छ ।