काठमाडौँ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसनले निर्वाचनको मुखमा पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरलाई छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । अध्यक्ष निवास खुमलटारमा प्रचण्डसँग र सिंहदरबारस्थित अर्थमन्त्रालयमा प्रभाकरसँग अमेरिकी राजदूत थम्सनले भेटेका हुन् । खुमलटारमा आज बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको थियो ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताए । ‘‘नेपाल र अमेरिकबीच वर्षौदेखिको मित्रता रहेको छ । तपाईंको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु’ प्रचण्डले भनेका छन् ।

हार्दिक शुभकामना !

भेटका अवसरमा प्रचण्डले आफूहरू मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताए । राजदूत आर. थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँदा खुसी लागेको बताए ।

उनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाए । राजदूतले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाई लिने विश्वास व्यक्त गरे ।

भेटमा भएका अन्य राजनीतिक विषयका कुराकानी भने सार्वजनिक भएका छैनन् । अर्थमन्त्री प्रभाकरसँग भएको सिंहदरबारको भेटमा पनि थम्सनले द्विपक्षीय सहयोगको कुरा गरेका थिए । अर्थमन्त्री जनादर्शन शर्माले संसदमा पेस गरेको अमेरिकासँग गरिएको एमसीसी सम्झौता सदनबाट पास गर्न महत्वपूर्ण भूमिका खेलेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्थमन्त्री प्रभाकरसँग अमेरिकाले सम्पर्क सम्बन्ध बढाइरहेको छ । चुनाव लगत्तै प्रधानमन्त्री हुने दौडमा रहेका प्रचण्डले दक्षिण र पश्चिमलाई दाहिना बनाउन खुलेरै दलाली गर्दै आएका छन् ।

राजदूत थम्सनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र परराष्ट्रमन्त्री नारायण खड्कासँग यसअघि नै भेटवार्ता गरिसकेको छ । नेपाललाई हिन्द प्रशान्त रणनीतिको साझेदार राष्ट्र बनाउन र उक्त रणनीति पूरा गर्न नेपालसँग सैन्य सम्झौताका लागि पहल गरिरहेको अमेरिकाले एमसीसी कार्यान्वयनका लागि इण्डो–अमेरिकन खेमालाई सत्तासिन बनाउन भित्रभित्रै भूमिका खेलिरहेको स्रोतहरुको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर