पोखरा, कास्की । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी, नेपालले बुधबार पोखरामा भव्य रुपमा निर्वाचन बहिस्कार सभा सम्पन्न गरेका छन् । संसदीय व्यवस्थामा गरिने चनावले भ्रस्टाचारी, कालाबजारी, शिक्षाका माफिया, राष्ट्रघाती, जनघाती र विदेशी दलालहरुलाई जिताउने भएकाले यस चुनावलाई सबै जनताले बहिस्कार गर्नुपर्ने आव्हानका साथ चार कम्युनिस्ट पार्टीले निर्वाचन बहिस्कार÷अवज्ञा सभा गर्दै आएका छन् । चितवन, सर्लाही, मोरङपछि कास्कीको पोखरामा बुधबार निर्वाचन बहिस्कार÷अवज्ञासभा सम्पन्न गरेका हुन् ।
पोखराको चिप्लेढुङ्गाबाट हजारौँ जनताको उपस्थितिमा शुरु भएको जुलुस पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो । उक्त सभामा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल गौरव, नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला कञ्चन, नेकपा (मशाल) का प्रतिनिधि विमल शर्मा र माओवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव रामनारायण पालले सम्बोधन गर्नुभएको थियो । क्रान्तिकारी माओवादीका गण्डकी प्रदेश सेक्रेटरी केशबहादुर परियारको सभापतित्वमा सम्पन्न सभाको सञ्चालन गोकुल पराजुलीले गर्नुभएको थियो । कार्यक्रममा नेकपा (मशाल) का बिक्रमले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो ।