काठमाडौं । शान्तिपूर्ण रुपमा गरिएका निर्वाचन बहिस्कार कार्यक्रममाथि देउवा सरकारको प्रहरी प्रशासनले धरपकड गर्ने, प्रचार प्रसार सामग्री कब्जा गर्ने र कार्यक्रममा अवरोध गर्न थालेपछि नेकपा (क्रान्तिकारी माओवादी)ले यस्ता कार्य तत्काल बन्द नगरे प्रतिरोध संघर्षमा उत्रने चेतावनी दिएको छ । नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता हरिभक्त कँडेल प्रतीकले आज एक वक्तव्य जारी गर्दै यस्तो चेतावनी दिनुभएको हो ।
वक्तव्यमा केही दिनअघि सुर्खेत, अर्घाखाँची, गुल्मी लगायतका जिल्लामा र आज (कार्तिक १, २०७९ मा) बैतडीको पाटनमा कार्यक्रम सकेर हिड्ने क्रममा प्रहरी प्रशासनले प्रचार प्रसारका सामग्री कब्जा गरेको घटनालाई देउवा सरकारको दमनकारी, स्वेच्छाचारी र फासिवादी व्यवहारको रुपमा घोर भत्र्सना र कडा शब्दमा निन्दा गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “जसरी चुनावमा भाग लिनेलाई प्रचार प्रसारको अधिकार हुन्छ, त्यत्तिकै अधिकार चुनावमा असहमत हुने पक्ष (बहिस्कार गर्ने)लाई पनि हुन्छ । तसर्थ हाम्रो पार्टी सरकारका यस प्रकारका कायरतापूर्ण क्रियाकलाप तुरुन्त बन्द गर्न, कब्जा गरिएका सामग्री फिर्ता गर्न र शान्तिपूर्ण कार्यक्रममाथि अवरोध तुल्याउने काम बन्द गर्न आग्रह गर्दछौं । शान्तिपूर्ण रुपमा भेला हुने, विरोध प्रदर्शन गर्न पाउने जनअधिकारमाथि दमन गरेर हाम्रो पार्टीलाई प्रतिरोध संघर्षका लागि बाध्य नपार्न पनि सरकारलाई सचेत गराउँदछौं । अन्यथा उत्पन्न परिस्थितिको जवाफदेहिता सरकार स्वयम्को हुनेछ ।”
यस्तो छ वक्तव्यको पूर्णपाठ :
“आगामी मंसिर ४ मा हुने भनिएको संघ तथा प्रदेशको कथित संसदीय निर्वाचन बहिस्कारको शान्तिपूर्ण प्रचार प्रसारको क्रममा सरकारको प्रहरी प्रशासनले माथिको आदेश भन्दै देशका विभिन्न जिल्लामा हाम्रो पार्टीमाथि धरपकड, प्रचार प्रसारका सामग्री कब्जा गर्ने, कार्यक्रममा अवरोध पु¥याउने लगायतका कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
केही दिनअघि सुर्खेत, अर्घाखाँची, गुल्मी लगायतका जिल्लामा र आज (कार्तिक १, २०७९ मा) बैतडीको पाटनमा कार्यक्रम सकेर हिड्ने क्रममा प्रहरी प्रशासनले प्रचार प्रसारका सामग्री कब्जा गरेको घटनालाई हाम्रो पार्टी देउवा सरकारको दमनकारी, स्वेच्छाचारी र फासिवादी व्यवहारको रुपमा घोर भत्र्सना र कडा शब्दमा निन्दा गर्दछ ।
जसरी चुनावमा भाग लिनेलाई प्रचार प्रसारको अधिकार हुन्छ, त्यत्तिकै अधिकार चुनावमा असहमत हुने पक्ष (बहिस्कार गर्ने)लाई पनि हुन्छ । तसर्थ हाम्रो पार्टी सरकारका यस प्रकारका कायरतापूर्ण क्रियाकलाप तुरुन्त बन्द गर्न, कब्जा गरिएका सामग्री फिर्ता गर्न र शान्तिपूर्ण कार्यक्रममाथि अवरोध तुल्याउने काम बन्द गर्न आग्रह गर्दछौं । शान्तिपूर्ण रुपमा भेला हुने, विरोध प्रदर्शन गर्न पाउने जनअधिकारमाथि दमन गरेर हाम्रो पार्टीलाई प्रतिरोध संघर्षका लागि बाध्य नपार्न पनि सरकारलाई सचेत गराउँदछौं । अन्यथा उत्पन्न परिस्थितिको जवाफदेहिता सरकार स्वयम्को हुनेछ ।”