असोज ५ मोरङ ।
नेकपा(क्रान्तिकारी माओवादी ) मोरङ जिल्लाको सचिवालय बैठकले आसन्न संसदीय निर्वाचन बहिष्कार आन्दोलनलाई तिब्र रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।
बुधबार मोरङको बेलबारीमा बसेको बैठकले प्रतिक्रियावादी निर्वाचन बहिष्कारको औचित्य जनतालाई बुझाउन प्रचारात्मक अभियानलाई तिब्र रुपमा अगाडि बढाउने निर्णय भएको नेकपा(क्रान्तिकारी मओवादी) का केन्द्रिय सदस्य तथा मोरङ जिल्ला सेक्रेटरी बादलले जानकारी दिनु भयो । उहाँले निर्वाचन बहिष्कारको पहिलो चरणको कार्यक्रम अन्तर्गत जनताको घरघरमा पुगेर पर्चा वितरण गर्ने, पोष्ट टाँस्ने तथा भित्तेलेखन गर्ने बताउनु भयो । सेक्रेटरी बादलले पार्टीका स्थानीयतह तथा जनवर्गिय संगठनका बैठक बसाउने र सक्रिय रुपमा बहिष्कार आन्दोलनमा होमिन आह्वान गर्ने निर्णय भएको पनि जानकारी गराउनु भयो । उहाँले पार्टीले यहि असोज ३१ गते विराटनगरमा गर्ने जनसभालाई प्रभावकारी बनाउन सम्पूर्ण पार्टीपंती लागि पर्ने निर्णय गरेको बताउनु भयो ।


उक्त बैठकको प्रमुख अतिथि नेकपा(क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य तथा प्रदेश नम्बर १ का इन्चार्ज दिनेश शर्माले दलाल तथा भ्रष्टचारीहरुले पैसाको खोलो बगाएर जित्ने निर्वाचनले राष्ट्रियता , जनतन्त्र र जनजीविकाको रक्षा नगर्ने बताउनु भयो । उहाँले प्रतिक्रियावादी दलाल , नोकरशाही पुँजीपति र सामन्त वर्गको हितमा काम गर्ने संसदीय व्यवस्थाको भण्डाफोर गर्न आवश्यक रहेको भन्दै राष्ट्र र जनताको पक्षमा काम गर्ने हरेक सचेत नागरिकले निर्वाचन बहिष्कार गर्नु नै उपयुक्त कदम भएको बताउनु भयो । उहाँले अहिलेको व्यवस्था अन्तर्गत भोट दिएर जिताउनु भनेको देशनै तहसनहस बनाउन लाहाछाप गरेर सहयोग गर्ने काम मात्र हो भन्ने विषय जनतालाई बुझाउन आवश्यक रहेको भनाई राख्नु भयो । सोहि बैठकमा अतिथि रहनु भएका पार्टीका केन्द्रिय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज विमल निरौलाले कालो धनको बलमा भ्रष्टचारी ,तस्कर र विचौलियाले जित्ने चुनावले वर्गिय तथा जातिय उत्पीडनमा परेका जनताको हित नगर्ने बताउनु भयो । उहाँले संसदीय व्यवस्था रहेसम्म मजदुर ,किसान र सुकुम्बासीले अधिकार नपाउने भन्दै व्यवस्था नै पुर्ण रुपमा बदलेर देशको आमुल परिवर्तन गर्न आवश्यक रहेको भनाई राख्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर