“उदयजी के छ ?” मैले बडो आत्मियताका साथ हात बढाएँ । तर उदयले हात दिएनन् । फनक्क अर्कोतिर फर्किए । मैले झल्यास्स मात्र देखेको उनको अनुहार एकदम ठुस्स परेको थियो ! “के भो यार तपाईंलाई ?” म फेरि उनलाई फकाउन पुगें । “मेरो विरुद्धमा पत्रिकामा लेख लेख्ने !? अहिले किन मेरो छेउँ आउने ?!” उदय एकदम रन्किए “मसँग अब बोल्न पर्दैन ।” उदय स्वाँ फ्वाँ गर्दै फन्केर अर्को छेउ पुगे । मलाई एकदम नमज्जा लाग्यो । एउटा प्रीय साथी आज ठुस्सियो मसँग । के भयो यस्तो ?! एकछिन म बेस्सरी रन्थनिएँ ।
 
घोराहीको दामोदर चोकनेरको होटल माउन्टभ्यूमा एउटा विशेष कार्यक्रम थियो । मलाई लाग्छ त्यो कार्यक्रममा साहित्यकार खगेन्द्र संग्रौलासहितका व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम थियो । त्यो समय उदय र मेरो खुब हिमचिम थियो । त्यो हिमचिम अहिले पनि कायमै छ है । हाम्रो पार्टी फरक भए पनि मन एउटै थियो । उनी मसालका कट्टर समर्थक थिए भने म माओवादीको कट्टर समर्थक । उनीसँगको सङ्गतका कारण त्यो बेला केही माओवादीका जिल्ला नेता मलाई मसालसँग नजिक भएकोमा हेय र आलोचनात्मक दृष्टिले हेर्थे । त्यो बेला माओवादीलाई सबैभन्दा बढी वैचारिक तनाव मसालले दिने गर्थ्यो । त्यसकारण मसालसँग माओवादी आगो थियो । उदय मसँग ठुस्सिएको सङ्केत त मैले अलि अघि नै पाएको थिएँ । तर यति उग्र ठुस्सिएका होलान् भन्ने मैले कल्पना समेत गरेको थिएन । उनले सार्वजनिक स्थलमा मसँग हात मिलाउन इन्कार गरे । त्यो मात्र होइन एकदम झर्किएर अर्कोतिर लागे । त्यो क्षण म एकदम हतप्रभ भएँ । मैले केही गल्ती गरेको भए उनले कतै बोलाएर मलाई बेस्सरी झपार्न सक्थे या उनलाई लागेको शङ्काबारे पूरापूर सोधपुछ गर्न सक्थे । हामीमा बसेर छलफल गर्न नसकिने कुनै विषय थिएन । त्यो दिन म कार्यक्रम अवधिभर निकै मलिन भएर बसें । 
 
दाङको जनपक्षीय पत्रकारितामा कोसेढुंगा बनेको नौलो जनउभार साप्ताहिकको २०५७ साल फागुनबाट हामीले पुन: प्रकाशन शुरु गरेका थियौं । मानव अधिकार क्षेत्रमा स्थापित अगुवा यादव गौतम प्रकाशक/सम्पादक र म कार्यकारी सम्पादकको नौलो जनउभार साप्ताहिकको पछिल्लो पातोमा पाण्डव थापाले यसपटक स्तम्भ लेख्थे । खासमा पाण्डव थापा एक छद्म नाम थियो । यो नाममा शुरुदेखि नै मान्छेहरुमा एककिसिमको कौतुहुलता थियो । किनकि दाङमा स्तम्भ लेख्न सक्ने कोही पाण्डव थापा नामको लेखक थिएन । केहीले पाण्डव थापा मलाई संझेका थिए । खासमा पाण्डव थापा अरु नै थिए । हामीले कसैले सुइँको नपाउने गरी रहस्य गर्भमै राखेका थियौं । त्यो समय भयानक समय थियो । साँच्चै एकदम भयानक थियो ।
 
नेकपा (माओवादी) ले २०५२ सालदेखि शुरु गरेको जनयुद्धको प्रत्याक्रमणको चरणमा थियो । देशभर ठूला ठूला फौजी कारवाहीहरु चलिरहेका थिए । नेपाली धर्तीमा पहिलोपटक हतियारवद्ध लालसेनाहरु सामन्ती सत्ताको छातीमा परेड खेल्न थालेका थिए । गाउँगाउँमा रहेका वर्षौंदेखि गरिब, किसान, हली, कमैयाँ, कमलहरी एवम् श्रमजीवी जनतालाई चुस्दै र हेप्दै आएका जाली, फटाहा, सुदखोर, शोषकहरुमाथि जनकारबाही तीब्र भएको थियो । उनीहरुको भागाभाग शुरु भएको थियो । पुस्तौंदेखि थिचिएका, मिचिएका, हेपिएका, दबिएका, ठगिएका र लुटिएकाहरु जीवनमा पहिलोपटक व्यूँझिएका थिए र अपूर्व उत्साहका साथ जनक्रान्तिमा होमिएका थिए । जनक्रान्तिको ज्वारभाटाले सामन्ती तख्ता पहिलोपटक बेस्सरी डगमगाएको थियो । देशमा द्वैध सत्ताको स्थिति शुरु हुन थालिसकेको थियो । क्रान्तिकारी जनसमुदायले जनसत्ताको अभ्यास गर्न थालिसकेका थिए । सामन्ती सत्ताले अत्यन्त क्रूरढङ्गले दमन र हत्या शृङ्खला चलाइरहेको थियो । त्यो समय यस्तो थियो । र, यस्तो परिस्थितिमा हामी कलमका सिपाही बनेर नौलो जन उभारको मोर्चाबाट महान् जनयुद्धमा होमिएका थियौं । शहर (घोराही) को श्वैत आतङ्कको बीचमा अर्ध भूमिगत शैलीमा हामी न्यायप्रेमी जनसमुदायको पक्षमा मुखर भइरहेका थियौं र जाली, फटाहा र शोषकहरुका काला कर्तुतहरु उजागर गरिरहेका थियौं, विस्फोट भइरहेको थियौं । यस्तैमा एउटा अंकमा पाण्डव थापाले यसपटक स्तम्भमा पत्रकार उदय जिएमलाई “घाँसमा लुकेको हरियो सर्प”को संज्ञा दिंदै लेख लेखे । यो अंकको नौलो जनउभार साप्ताहिक प्रकाशित भएसंगै घोराही क्षेत्रमा एउटा ठूलै स्केलको भूइँचालो गयो । त्योसँगै पाण्डव थापाबारे फेरि मानिसहरूमा चासो र चर्चा शुरु भयो । अरु त “रमाइलै” माने सायद । तर उदय जीएम आगो भए । उनी त्यो बेला युगबोध साप्ताहिकमा काम गर्थे । युगबोधतिर पनि उनलाई “पाण्डव थापा भन्ने व्यक्ति केएल पीडित नै हुनुपर्छ” भन्ने गाइँगुइँ सुनाइएछ । त्यसपछि उनले मसँग बोली बारे । चोकहरुमा जम्काभेट भएपछि मुण्टो बटारेर पन्छिन थाले । मैले एकदिन उनलाई यति चाहिँ प्रष्ट भनेको थिएँ कि त्यो पाण्डव थापा म होइन, अरु कोही हो । उहाँको बारेमा म अहिले तपाईंलाई थप केही भन्न सक्दैन । यो मेरो कम्युनिष्ट संहिता हो, बुझिदिनुस् है ।” वास्तवमा पाण्डव थापा हामी प्रकाशन विभागमा रहेका कमिटिका इञ्चार्ज थिए । अाफ्नाे इञ्चार्जकाे बारेमा बाहिर बताउनु मेराे अनुशासन र नैतिकताले दिँदैनथ्याे । तर पनि उनले मेरो कुरामा खासै रुचि देखाएनन् । त्यसपछि पनि उनी मसँग बोलेनन्, बोली बारिरहे । एउटा आत्मीय मित्र एकएक बोल्न छाडेपछि म निकै उदास भएँ । मैले आफूलाई एक्लो र अत्यन्त दुखी महशुस गरें । हामी बिहानदेखि बेलुकासम्म हलगोरुझैं एकमिसै नारिएर हिड्थ्यौं । त्यो बेला घोराही बजारमा हाम्रो जोडी खुब चर्चित थियो । हामी दुइटाको धेरै कुरा समान थियो । हाम्रो वर्ग, उमेर, रुचि र पेशा पनि समान थियो । शरीर दुइटा भएपनि हाम्रो मन एउटै थियो । हामी दुबै पत्रकारिता र साहित्यमा निकै रुचि राख्थ्यौं । म युगबोध साप्ताहिकमा जोडिएपछि उदयलाई पनि घुसाएको थिएँ । मैले उनलाई पहिलोपटक कम्प्युटरको किबोर्डमा अक्षर चिनाएको थिएँ । केही समय हामीले युगबोधमा संगै काम गर्याैं । 
 
त्यो बेला युगबोधमा दुबैले खुब लेख्यौं । पछि म स्वेच्छाले त्यहाँबाट निस्किएँ । उनलाई कसरी मनाउने ? म सधैंजसो यही चिन्तामा डुबिरहें । मनमा एउटा भय थियो कि कतै उनलाई आफू निर्दोष रहेको साबित गर्न नपाउँदै सहिदहुने पो हो कि ? त्यो बेला हामी प्रहरी/प्रशासनको कडा निगरानीमा थियौं । हामीलाई सरकारी सुराकीहरुले हमेशा पछ्याइरहेका हुन्थे । जतिबेला जे पनि हुनसक्थ्यो । स्थिति यस्तो विषम हुँदाहुँदै पनि म केही गर्न सक्ने अवस्थामा थिएन । “तपाईंलाई हरियो घाँसमा लुकेको सर्प लेख्ने व्यक्ति फलानो हो” भनेर मान्छे चिनाउन सक्ने अवस्थामा किमार्थ थिएन । एकातिर राज्यको त्रासदीपूर्ण निगरानी त छँदै थियो । साथसाथै घोराही क्षेत्रमा एकथरी मान्छेहरु हाम्रो चियोचर्चा र खिसिट्यूरीमा जुटेका थिए । हामीलाई एक्लाउन, हतास र आतंकित बनाउन उनीहरु खुब सल्बलाएका थिए । पछि म आफै सम्हालिन थाले । उदयलाई जे जस्तो भ्रम परे पनि म त निर्दोष नै थिएँ । सबै कुरा समयको हातमा छोडेर म आफ्नो ध्येयतिर केन्द्रित हुन थाले । हामी त क्रान्तिमा थियौं । हामीलाई अल्मलिने र चिन्तामा डुब्ने छूट थिएन । समय बितिरह्यो । पाण्डव थापा र उदय जिएमको जुहारीले झन उग्र रुप लिँदै गयो । उदय वैचारिकरूपमा नेकपा (मसाल) मा आवद्ध थिए । उनले मसालको तत्कालीन मुखपत्र हाँक साप्ताहिकमा जनयुद्धको तीब्र भण्डाफोर गर्दै लेख लेख्दै आएका थिए । एउटा लेखमा उनले जनयुद्धलाई “राँके भूत” को संज्ञा दिंदै माओवादीले जनतामा त्रास सिर्जना गरेको तर्क गरेका थिए । उनको यो तर्कले पाण्डव थापा उदयसँग आगो भएका थिए । यसको प्रतिवाद त्यहीस्तरले प्रतिवाद गरिनु पर्छ भन्ने कुरामा पाण्डव थापा एकदम दृढ थिए । म चाहिँ यो अवस्थाले मुठ्भेड ननिम्त्याओस् भन्ने ध्याउन्नमा थिएँ । तर न उदय न पाण्डव ! यी कसैलाई थाम्न सक्ने ल्याकत मसँग थिएन । म त एकदम बबुरो थिएँ । कठै म ! वास्तवमा पाण्डव र उदयको बीच व्यक्तिगत दुश्मनी केही थिएन । एकले अर्काको केही बिगारेका पनि थिएनन् । न उनीहरु “जारभतार” थिए न जग्गा खिचलोका सँधियार थिए । अत: उनीहरु यसरी एकले अर्काको उछित्तो काढेर भिड्नु पर्ने निजी कारण त केही थिएन । यहाँनेर यी दुईको घम्साघम्सीको अन्तर्य के थियो भने यो नितान्त पार्टीगत सङ्घर्ष थियो । नयाँ जनवादी व्यवस्था स्थापना गर्ने लक्ष्यसहित नेकपा (माओवादी) जनयुद्धमा होमिएदेखि नै नेकपा (मसाल) ले तीब्र असहमति र विरोध जनाउन शुरु गरेको थियो । एकातिर जनयुद्धमा श्रमजीवी जनसमुदाय क्रान्तिकारी जनउभार देखिदै थियो भने अर्कोतिर कार्यक्रमिकरुपमा मसाल घनघोर विरोधमा उत्रन थाल्यो ।
 
उतिबेला मसालको तर्क थियो – “अहिले नेपालमा सशस्त्र क्रान्तिको आत्मगत र वस्तुगत स्थिति परिपक्व छैन । अन्तर्राष्ट्रियरुपमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । यस्तो बेला जनयुद्धको उठान गलत छ । यो उग्रवामपन्थी भड्काउ हो । कलान्तरमा यो गतिविधिले कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुर्याउउँछ ।” जनयुद्धको तीब्र विकाससंगै मसालले वैचारिक प्रतिवादलाई अझ तीब्र र तीक्ष्ण बनाउदै लैजान थाल्यो । मसालको त्यो वैचारिक प्रतिवाद केही समयमै भण्डाफोरमा परिणत भयो । मसालले आफ्नो सम्पूर्ण तागत जनयुद्धको भण्डाफोरमा लगाउन थाल्यो । घोषितरुपमै उसले जनयुद्ध विरुद्ध देशव्यापी भण्डाफोर अभियान शुरु गर्यो । राज्यको चरम दमन, धरपकड र हत्याको सामना र प्रतिवादमा उत्रनु परिरहेको अवस्थामा मसालको निरन्तर चलिरहेको कठोर प्रकारको “भण्डाफोर”ले माओवादीको टाउको बेस्सरी दुखाएको थियो । यही कारण यी दुई पार्टीबीचको सम्बन्ध र संघर्ष निकै तनावपूर्ण बनेको थिए । यही पृष्ठभूमिमा उदयले हाँक साप्ताहिकमा जनयुद्धको भण्डाफोर गरेका थिए र पाण्डवले त्यही शैली र स्तरमा नौलो जनउभारमा प्रतिवाद गरेका थिए । दुवै आफ्नो पार्टीलाइनमा स्पष्ट र दृढ थिए । र, यही दृष्टिकोणका साथ उनीहरु “भिडेका” थिए । तर म पो चेपुवामा परें । म पो आँखी भए । तर सयले एकदिन रहस्यको पर्दा उघारिदियो । म निर्दोष साबित भएँ । क्या गजब भयो । पाण्डव थापा बनेर आफूलाई हरियो घाँसको सर्पको संज्ञा दिने केएल पीडित रहेनछ भन्ने कुरा उदयलाई छर्लङ्ग भयो । उनी भ्रममुक्त भए । मलाई ठूलो युद्ध जितेझैं भयो । त्यसपछि हाम्रो बोलचाल शुरु भो । हाम्रो मित्रताले पुरानै लय पकड्यो । रहस्य कसरी खुल्यो भने ती लेखकले जनउभार साप्ताहिकका लागि पाण्डव थापाको नामबाट बुटवलबाट युगबोधमा लेख फ्याक्स गरेका थिए । जन उभारमा फ्याक्सको सुविधा थिएन । उनले युगबोधका सम्पादक प्रताप रेग्मीसंग त्यो लेख जन उभारसम्म पुर्याइदिन आग्रह पनि गरेका रहेछन् । यहीँबाट पाण्डव थापा हिरामणि दु:खी भएको रहस्य खुल्यो । म त्यो लेख लिन युगबोध पुगेको बेला प्रताप रेग्मी एकछिन खुब हाँसेका थिए । उनले पनि पाण्डव थापा मलाई नै ठानेका रहेछन् । उनका कुरामा म पनि हाँसे । उदयलाई हरियो सर्प भनेको प्रसंग चल्यो । हिरामणि दुखी कम्युनिष्ट आन्दोलन र साहित्यिक क्षेत्रमा निकै अघिदेखि सक्रिय थिए । उनीसंग म र उदयको पनि धेरै अघिदेखिको सहकार्य थियो । राजनीतिक र साहित्यिक हिसाबले हाम्रा अग्रज थिए हिरामणि । तथापि उनी हामीसंग मित्रजस्तै व्यवहार गर्थे । जनयुद्ध शुरु भएको केही समयपछि हिरामणि दुखी भूमिगत भएका थिए । केही समयपछि उनीसंग मेरो नियमित सम्पर्क शुरु भयो । म पनि प्रारम्भतिरै जनयुद्धको समर्थनमा खुलेको थिएँ । त्यस हिसाबले पनि हाम्रो सम्पर्क र सहकार्य व्यापक हुँदै थियो । उनले मलाई दाङको पश्चिमी र सल्यानका पहाडी गाउँ/वस्तीमा पुर्याउँथे र श्रमजीवी जनतामा जनयुद्धले सिर्जना गरेको चेतना र विद्रोहको सजीव दृष्टान्त नजिकबाट अनुभूत गर्ने अवसर दिलाउँथे । मैले त्यहीबेला पहिलोपटक बन्दुक भिरेका लालसेनाहरुलाई देखेको थिएँ । उनीहरुलाई देख्दा म उधुमले चकित र रोमान्चित भएको थिएँ ।
 
तत्कालीन राप्ती उपव्यूरो अन्तर्गत जन उभार साप्ताहिक प्रकाशन गर्ने चाँजोपाँजो मिलाएर हिरामणि दुखी दाङ झरेका थिए । उता तत्कालीन दाङ जिल्ला पार्टीका इन्चार्ज क. प्रभाकर (जनार्दन शर्मा) ले मानव अधिकारकर्मी यादव गौतमलाई जनउभार साप्ताहिकको प्रकाशक/सम्पादकको लागि आग्रह गरेका रहेछन् । जन उभारका प्रकाशक मधुसूदन बैद्यलाई तुलसीपुर जेलमा रहेका निर्मल आचार्यले पत्रिकाको नामसारी गर्न सहमत गराएपछि नयाँ टिमसहित जन उभार प्रकाशनको तारतम्य मिलेको रहेछ । श्रीमती र दुई साना बच्चालाई ससुराली छाडेर उनीहरुलाई छलेर म भर्खर भूमिगत भएको थिएँ र देउखुरी एरिया पार्टीको सम्पर्कमा थिएँ । मलाई प्रकाशन विभागका इञ्चार्ज समेत रहेका हिरामणि दुखीले सम्पर्कमा बोलाए र कार्यकारी सम्पादक बन्न आग्रह गरे । मैले सगर्व स्वीकार गरेँ । एउटा नवीन जोश र उर्जाका साथ हामी जनउभार साप्ताहिकको पुनः प्रकाशनमा जुट्यौं । जन उभार एउटा पत्रिका मात्र थिएन लडाइँको एउटा सशक्त मोर्चा नै थियो । २०५५ साल कार्तिक २९ गतेदेखि नौलो जनउभार साप्ताहिकको प्रकाशन प्रारम्भ भएको थियो । तत्कालीन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मधुसूदन बैद्यको नेतृत्वमा माधव खनाल, शोभाकर आचार्य र नरबहादुर अधिकारी सहितको टिम नौलो जनउभार साप्ताहिकमा आवद्ध थियो । दाङको पत्रकारिता र कम्युनिष्ट आन्दोलनमा नौलो जन उभार साप्ताहिकको प्रकाशन एउटा क्रान्ति थियो । यसको प्रकाशनले क्रान्तिकारी समुदायमा एउटा बेग्लै प्रकारको उत्साह र उर्जा प्रवाह गरेको थियो भने लुटिखाने वर्गमा एउटा भयानक आतंक सिर्जना गरेको थियो । यो पत्रिका दर्ता गर्न मधुसूदन बैद्यले खुब सास्ती खेप्नु परेको थियो । तत्कालीन दाङका सिडियो अब्दुल रइस खाँले नौलो जन उभार साप्ताहिक दर्ता गर्न पटक्कै मानेनन् । अनेक बहाना गरिरहे । ६ महिना कार्यालय धाएर बित्यो । अन्तिममा अदालतमा मुद्दा हाल्छु भनेपछि बल्ल पत्रिका दर्ता भयो ।
 
जनउभार साप्ताहिक प्रकाशन हुनु अघि अर्थात् २०५५ कार्तिक २३ गते दाङको सालझुण्डीमा प्रहरीले सानी चौधरी, माधव घिमिरे, रुद्र न्यौपाने, अमृत श्रेष्ठ, रमेश गिरी, जागु चौधरी र पुनाराम घर्ती गरी ७ जना विद्यार्थीहरुको विभत्स हत्या गरेको थियो । निर्दोष जनताका छोराछोरीहरुको यो विभत्स हत्याले सिंगो देश संत्रस्त थियो र यो बर्बर राज्य आतंकले क्रान्तिकारी जनसमुदायमा घोर आक्रोश र घृणा पैदा गरेको थियो । म पनि एकदम उद्वेलित भएको थिएँ । घोराहीको जिल्ला प्रहरी कार्यलयको प्रांगणमा एउटा गाडिमा खाँदेर राखेको ती भर्भराउँदा युवाहरुको लाश देखेर म धेरै दिनसम्म विचलित भएको थिएँ । नौलो जनउभार साप्ताहिकको पहिलो ऐतिहासिक अंकमा यी ७ जना देशका सच्चा सपुतहरुको गौरवपूर्ण सहादत मुख्य समाचार बनेको थियो । जनउभारले यो बर्बरताको घोर खेद र भ्रत्सना गरेको थियो । त्यसकारण पनि मलाई जनउभार साप्ताहिक ऐतिहासिक र क्रान्तिकारी लाग्थ्यो । त्यो ऐतिहासिक पत्रिकामा कार्यकारी सम्पादकको जिम्मेवारी पाउनु मेरो लागि गौरवको विषय थियो । म सगर्व जनउभारमा जोडिएँ । खासमा हिरामणिले त्यो स्तम्भमा पाण्डव नाम मात्र लेखेका थिए । नियमित लेखिने स्तम्भमा थर बिनाको नामले पत्रिकाको वैधानिकता जोगाउन अप्ठ्यारो पार्ला भनेर मैले थापा थर जोडिदिएको हुँ । थर नलेख्दा भूमिगत पात्रको रुपमा बुझ्ने स्थिति बन्न सक्थ्यो । आज ती दिन, उदय-पाण्डवको जुहारी र हामी ठुस्सिएको प्रसंग संझदा खित्का छुटेर आउँछ । ओहोहो ! क्या गजब थिए ती दिनहरु र क्या गजब थियौं हामीहरु !?

प्रतिक्रिया

सम्बन्धित खवर