जेल बसाइका ती दिनहरु – तीन

जेल बसाइका ती दिनहरु – तीन

साताकाे साहित्य

भदौ १७,२०५९

जेलभित्र कुनै बिषयमा अनावस्यक बिबाद सिर्जना हुन्छ । साथी सिताराम न्याैपानेले एक पुरिया कोकोनट बिस्कुट किनेर त्यो पुरियामा सानो चिर्कटोमा केही कुरा लेखेर बन्द गरेर चौकिदार मार्फत् छोरीलाई दिने योजना अनुरुप मुल ढोकामा पुर्‍याएर फर्किएछन् । बाहिरी खोलमा पानीटेप टाँसिएको देखेर दाइ नाइके धने सुनारले बिस्कुटको खोल च्यातेछन् । सापिएको चिर्कटो कारागार सुरक्षा पोष्टमा पुर्‍याएछन् । सुरक्षामा खटिएको सइले दाइ नाइकेको अधिकार प्रयोग गरि कारवाहीको आदेश दिएछन् । दाइ नाइकेहरुलाइ बन्दी वा थुनुवामाथि चुट्ने पिट्ने नियन्त्रणमा लिने अलिखित अधिकार हुन्छ । यो जेलभित्रको अर्को शासन हो । एउटा कलेजको प्राध्यापक माथि इन्क्वायरी गर्न पाउनु धने सुनारको लागि ठूलो गर्वको बिषय बन्यो ।

धने सुनार जबर्जस्ती करणीको अपराधमा सजायँ कटाउँदै गरेको कैदी हुन् । त्यो सानो चिर्कटोमा के के बिषय लेखिएका थिए त्यो धनेले पढेको पनि छैन र कुन अभियोगमा के दण्ड दिने हो ज्ञान पनि छैन । धनेले आफ्नो औकात देखाउने सुर ल्यायो र सिताराम न्याैपानेलाई कैदीहरुको कोठामा बोलायो । सिताराम एकछिन अडिए तर उसले आदेश उलङ्घन गरेको अर्को अभियोग थप्यो । धने सुनारको हर्कतले हामी आस्थाका बन्दीहरुमा केही सतर्क र एकताको भाव बढायो । हामी धेरै साथीहरुले धनेको ज्यादतिको बिरोध गर्‍यौँ । स्थिति अस्वस्थ हुने देखेर मूल चौकिदार तिलक थापाले हस्तक्षेप गरे । तिलक केही सुझबुझ भएका र आस्थाका बन्दीहरुमा सहानुभुती राख्दथे । उनले धनेलाई भान्सा कोठामा बोलाएर गल्ती स्वीकार्न दबाब दिए । उनले आस्थाका साथीहरु भोली छुटेर जान्छन् हामीले राजनीति बुझेका छैनौ त्यसैले झिना मसिना बिषयमा चौकिदार वा नाइकेले अर्घेलो गर्ने हुदैन भन्दै धनेलाई माफी मगाए । तिलक गएको आठ बर्षदेखी कैद भुक्तान गर्दै आएका छन् । उनी कारागार मेस ठेकेदार पनि हुन् । उनी भन्थे २०५७ मा महिला बन्दीहरुले सुरुङ खन्दै गरेको हलुका सुचना पाएको तर गोप्य राखेको दावी गर्थे । कारागारमा दाइ नाइकेहरुले गर्ने ज्यादती बारे पत्र पत्रिका र केही लेखकको संस्मरणमा पढिएको थियो । २०५५ सालमा म शिक्षक सङ्गठनको कार्यालय सचिव भएर रहँदा बिरगन्ज जेलमा शिक्षक साथी कासिनाथ लामिछाने भेट्न पुगेको थिएँ । उनी त्यतिबेला दाइ नाइकेको पिटाइले सख्त घाइते थिए । फलामे जालिमा आमनेसामने रहेर हामिले केहिबेर वार्ता गरेका थियौँ । उनको तत्कालको शारीरिक अवस्था देख्दा म भाव बिह्वल बनेको थिएँ । जेलका नाइकेहरु अबिबेकी भए भने बन्दी जीवन ज्यादै कष्टकर हुन्छ ।

जिल्ला प्रहरी कार्यालयदेखी ३०० मिटर दक्षिणी दुरिमा कारागारको भवन पर्दछ । पश्चिमी बुर्जामुनी उभिएर उत्तरतिर हेर्दा गोरखा बजारको केही भाग देखिन्छ । जेलभित्र कुजिएका खुट्टा तङ्ग्र्याउन र परको दृश्य हेर्न हामी त्यही बुर्जामुनी उभिन्छौँ । गएको जेठमा आइ सि आर सि ले अवलोकन गरेर गएपछि क्यारेम बोर्ड, ब्याड मिन्टनको ब्याट जेलभित्र आइपुगेको छ । उनीहरुले केही थान किताबहरुको ब्यबस्था पनि गरिदिएकाले थोरै पुस्तकहरु सङ्गृहित छन् । मैले तेह्रमिना दुररानीको इश्वर निन्दा पुस्तक पढ्ने मौका पाएँ । मुस्लिम समाजमा धर्म र महिला बारे यो पुस्तकले केही रहस्य खोलेको रहेछ । धर्मका नाममा गरिएका यौन शोषणले मुस्लिम समाजको चित्रले मन खिन्न बनायो । कतिपय ब्यक्तिहरुले कारागार बसेर पुस्तक लेखेका छन् । सीप हासिल गरेका छन् । यही जेलमा पनि मूडा बुन्ने झोला बुन्ने जस्ता सीप भएका बन्दीहरु पनि छन् । तर हामी अग्रगामी बिचार बोकेका भनिनेहरु त्यस्तो सिपप्रति चासो राख्दैनौ ।

 (गाेरखा कारागारका तिनसय उनानसय दिन संस्मरण दैनिकी २०५९ को एक अंश )