साताकाे साहित्य
यो हो हाम्रो जनकपुर
सीताको जनकपुर
त्यो जनककी छोरी सीताको होइन
सीता मरिक डोमिनियाँको
सीता हलखोरनियाँको
र सीता सडकछापको
जसका सन्तानहरू
श्रीमती सीतादेवीहरू
र श्रीमान् रामचन्द्रहरूले
गरेको फोहोर सफा गर्नलाई जन्मन्छन्,
महाभारतमा कवच र कुन्डलसहित जन्मेको कर्णझैँ
यिनीहरू कुचोसहित जन्मन्छन्,
हुर्कन्छन्
र श्रीमान् र श्रीमतीजीहरूको शहर
सफा गर्छन्,
टल्काउँछन्,
फोहोर कहाँ जान्छ, तपाँईलाई थाहा छ ?
उनीहरूको छातीभित्र जान्छ,
छातीमा फोहोर लिएरै
उनीहरू तन्नेरी हुन्छन्
फोहोरको कारण छातीमा उठ्ने दर्द
दारुले मार्छन्,
दबाई महँगो हुन्छ, नि महोदय !
र दारु सस्तो,
(अब तपाँईले पिउने ब्रान्डेड रक्सीसँग
भुराभुरीले खाने दारुको तुलना कृपया नगरौँ !
तपाँई र उसको मेल नै के छ र !)
सस्तो युरिया मिसिएको ठर्रा दारु
पिउने बित्तिकै मगज मत्ताइहाल्छ,
र दर्द हराइहाल्छ,
उनीहरू शहर सफा गर्छन्
फोहोरको डुङ्गुर छातीमा भर्छन्
दारुले दर्द मार्छन्
र बैँसमै बुढो भएर
कहर काट्दै मर्छन्,
स्वाभाविकझैँ लाग्ने यो मृत्यु
अस्वाभाविक छ महोदय !
वस्तुतः यो सामूहिक हत्या हो महोदय !!
यस्तो हत्या, जसको फिराद कुनै अदालतमा लाग्दैन,
न त यसको चर्चा नै हुन्छ,
तर यो हुन्छ नियमित,
तर यो उसकै जनकपुरमा हुन्छ,
मेरो जनकपुरमा त
कुनै राष्ट्रपति
वा कुनै प्रधानमन्त्री
वा कुनै विद्वान्
वा कुनै भलादमी
कुनै कन्भेन्ट स्कुलमा
एटिकेट्सले भरिएको
टाइबाला पोशाक
र टलक्क टल्किएको जुत्ता लगाएका
सुन्दर, स्वच्छ र सुदर्शन
छात्रहरूसामु
बालजीवनको रक्षा
र शहरमा स्वच्छताको पाठ पढाउँछ,
र सडकमा फोहोर टिपिरहेका
सडकबालकहरूको छेउबाट
चिल्ला गाडीमा बसेर सानले विदा हुन्छ्,
यहाँ दुईवटा जनकपुर छ,
एउटा, जस्मा सीता मरिक डोमिनियाँ
सीता हलखोरनियाँ
सीता सडकछापहरू
र उनीहरूका सन्तान बस्छन्,
र अर्को,
जसमा, श्रीमती सीता देवी
र श्रीमान् रामचन्द्र बस्छन् ।