रामेछाप । रामेछापको दोरम्बा स्थित डाँडाकटेरीमा निःशस्त्र २१ जना माओवादी नेता कार्यकर्तालाई नियन्त्रणमा लिई गरिएको सामुहिक हत्या काण्ड १९ वर्ष पूरा गरि २० वर्ष लागेको छ । उक्त घटनामा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा दोरम्बा स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमत पार्टीको संयुक्त आयोजनामा रामेछाप, दोरम्बा स्थित डाँडाकटेरीमा रहेको सहिदपार्कमा दोरम्बा स्मृति दिवस कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता स्थायी समिति सदस्य सिपि गजुरेल प्रमुख अतिथि र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कञ्चनको विषेश आतिथ्य तथा नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमत पार्टीका नेता र उक्त पार्टी निकट रहेका विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको आतिथ्य र सहभागितामा स्मृति दिवस कार्यक्रम सम्पन्न भएको हो ।
सहिदहरुको प्रतिमामा माल्यार्पण पश्चात् सुरुभएको कार्यक्रमको संचालन नेकपा क्रान्तिकारी माओवादी रामेछाप जिल्लाका सचिव लाङ्गालीले गरेका थिए । साथै कार्यक्रमको अध्यक्षता ज्ञानबहादुर खड्का उजिरले गरेका थिए । उक्त कार्यक्रममा स्थानीय जनता तथा सरोकारवालाको व्यापक सहभागितामा रहेको थियो ।
युद्धविरामको नीति विपरीत संघर्षरत विद्रोही माओवादी नेता कार्यकर्ताहरूको दोरम्बामा हत्या गरिएको कार्यक्रमका प्रमुख अतिथि सिपि गजुरेलले धारणा राखेका छन् । ‘युद्धविरामको समयमा सेना ब्यारेक क्षेत्रको ५ कि.मि. भित्र मात्र पर्ने र एकले अर्काको विरुद्ध अभियान रोक्नुपर्नेमा राज्यपक्षबाट घटाइएको दोरम्बा हत्या काण्ड युद्ध नीति विपरीत रहेको छ ।’, प्रमुख अतिथि गजुरेलले धारणा राखेका छन् ।
कार्यक्रममा बोल्दै, विषेश अतिथि धर्मेन्द्र बास्तोला कञ्चनले सहिदहरूको सपना पूरा गर्न देशको राजनीतिक व्यवस्था परिवर्तन गर्नु अनिवार्य छ बताएका छन् । ‘वर्तमान राज्य व्यवस्था जनताको पक्षमा छैन । जनताको चाहना र सहिदका सपना पूरा गर्न राजनीतिक व्यवस्था परिवर्तन गर्नु अनिवार्य भएको छ ।’, विषेश अतिथि धर्मेन्द्र बास्तोलाले भने ।
तत्कालीन माओवादीका जिल्ला जनसरकार बाबुराम तामाङ पुष्प, पार्टीको नेता अम्बिका दाहाल ललिता, यादव चौहान समीर, हर्कलक्ष्मी राई बिमला, जगत विक जमिन, श्याम बहादुर तामाङ (इङ्कलाब), भवु लामा (सोम), सोमाई थामी (संगिता), विष्णुमाया थापा मगर (विमा), राम बहादुर तामाङ (छोक्पा), राम बहादुर लामा (तारा), प्रदिप दोङ ( रक्तिम), टेक बहादुर थापा (विवेक), लक्ष्मण तामाङ ( छाया), चतुरमान थामी (समर), हर्क घिसिङ (यथार्थ), चमेली थामी ( उषा) पदमराज गिरी (असल), उषा कार्की (सहारा) तथा घरमुली युवराज मोक्तान र उहाँका छोरा लिला मोक्तानहरु आन्तरिक छलफलमा जुट्ने थाहा पाएपछि ठुलो संख्यामा गएको तत्कालीन शाही नेपाली सेनाले घर घेरा हाली निहत्था माओवादी नेता कार्यकर्तालाई कब्जामा लिएर निर्ममतापूर्वक हत्या गरि लाशलाई भीरबाट लडाइदिएका थिए ।