
कविता
श्रीमान् !
तपाईका अघि यो कठघरामा उभिएर
मैले बक्ने कुराहरु
तपाईंका लागि
बहुतै निम्छरा र भद्दा हुन्सक्छन् ।
तपाईं आफ्नो ‘पवित्र’ अग्निसुतलाई छोएर
‘रामनाम’ जप्न सक्नु हुन्छ
निधारको चन्दन र शिरको लामो टुप्पीलाई साक्षी राखेर
ममाथि पिच्च थुक्न सक्नु हुन्छ
वा दुबै हातका चोर औंलाहरु
घुसाएर कानका प्वालहरुमा
मेरो बकपत्रलाई नसुन्न पनि सक्नु हुन्छ ;
तपाईंलाई यो धरतीमा
जे पनि गर्ने ‘अधिकार’ जो छ !
दुःखका काला बादलहरुबाट झरिरहने
आँसुको झरी ओत्न नसक्ने
फुसको झुपडी जस्तै हाम्रो घर
अथवा घरजस्तै हाम्रो झुपडी भित्र
तपाईंका कुलीन तर प्यासी वन्धुहरुको
सँधै भीड लाग्थ्यो
त्यही भीडको लछारपछारको ताण्डवबेहोर्दै
मेरा थुप्रै थुप्रै
निर्दोष भाइबहिनीहरुसँगै
हुर्किएको हुँ म ।
तपाईका अघि
कठघरामा उभिएर बोलिरहेको
मेरो नाम ‘कुत्ता बादी’हो ।
श्रीमान् !
मेरा लागि यो नाम
जो दियो तपाईहरूको पाण्डित्यले
यो तपाईहरुकै अनुहार हेर्ने ऐना हो
सक्नुहुन्छ भने जुधाएर आफ्ना आँखाहरु
हेर्नोस् मेरो आँखाको नानीमा
त्यहाँ तपाईंकै फुटो हुन सक्छ ।
हुन त नाममा के छ र आखिर त्यस्तो !
तर बेअर्थको हुँदैन रहेछ नाम
त्यसैले श्रीमान् !
उभिएर यो कठघरामा
म सोध्न चाहन्छु–
तपाईंहरुको नाम बाँदर शाह
स्यालजंग कार्की
वा फ्याउरो उपाध्याय भएन किन ?
चन्द, शाही वा ठकुरी जात हुँदैमा
तपाईंहरु नै दुनियाको राजा कसरी ?
पौडेल, शर्मा र अधिकारी हुँदैमा
तपाईहरु नै दुनियाको गुरु र अधिकारी कसरी ?
हाम्रा चिहानका खातिर चारहात जमीन नहुँदा
तपाईंहरु नै हजारौं बिघा मौजाको स्वामी कसरी ?
निधारमा एकधर्सो चन्दनको ठाडो लेपन
पुगनपुग तीन हाते
कपासको डोरो काँधमा बाँधेकैभरमा
मसँग मितेरी लाउनै नहुने तपाईहरु एक लम्बरी कसरी?
म चांहि आदिम जंगली कसरी ?
यो मौजा, यो जमिनदारी
यो सानसौकत
यो आदेश र उर्दी
यो नबुझिने मानप्रतिष्ठाको कुरो छाडौं,
मान्छेको पहिचान
जाबो एकपित्को नामको सवालमा पनि
तपाईंको एकलौटी स्वामित्व कसरी ?
मेरो नाम कुत्ता बादी
मेरी आमाको नाम फ्याउरी बादी
मेरा बाको राख्ने र फार्ने
दुइटै नाम—मुसे बादी
मेरा बुढाबा
मेरा जेठा, कान्छा बा
भाइभतिजाहरुको नाम
च्यान्टे, हुड्के, राते र लुते बादी कसरी ?
पुर्वीय सभ्यता, अरुणोदयको नाममा
मबाट तपाईंहरुले
गायत्री मन्त्र खोसेर लिनुभयो,
जप, तप, होम, अग्निदहको नाममा
वेद, पुराण, निषद्, उपनिषद्बाट वञ्चित गर्नुभयो
संस्कार, संस्कृति र थितिको नाममा
तपस्यारत मेरो छातीमा
जुगजुगदेखि अपमानको वाण रोप्नु भयो !
यतिसम्मको बकपत्रमा
तलमाथि भए सहुँला बुझाउँला
तर यो त हद भयो श्रीमान् !
आकाश, पाताल, लोक
र चल्तीमा रहेका सबै सबैनामउपर समेत
तपाईंहरुले नै कब्जा गर्नु भयो
अनिमेरो नाम कुत्ता बादी राखिदिनु भो ।
श्रीमान् !
यो कठघरामा उभिएर
तपाईहरुले मलाई दिएको नाम
म अहिल्यै खारेज गर्दछु ।
बुटवल ।
२०७९ साउन २६ गते ।