
काठमाडौं । चीनले बिहीबार ताइवान टापुवरपर झण्डै एक दर्जन क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले सो टापुलाई घेरेर बिहीबारदेखि चार दिने सैन्य अभ्यास सुरु गरेको छ।
ताइवानको पूर्वी भागमा पर्ने समुद्रबाट अनेकौँ क्षेप्यास्त्र प्रक्षेपण गरिएको चिनियाँ सेनाको इस्टर्न थिएटर कमान्डले जनाएको छ। सबै क्षेप्यास्त्रले निसानामा प्रहार गरेको सो कमान्डको भनाइ छ।
ताइवानले भने जम्मा ११ वटा तोङफेङ ब्यालिस्टिक क्षेप्यास्त्र आफ्नो वरपर प्रहार गरिएको बताएको छ। टापुको उत्तर, दक्षिण र पूर्वमा १ ः ५६ देखि ४ बजेसम्ममा ती क्षेप्यास्त्र प्रहार गरिएको ताइवानले जनाएको छ।
बिहीबार नै मुख्यभूमि चीनसँग ताइवानको सबैभन्दा नजिक पर्ने पिङतान टापुमा सैन्य हेलिकोप्टर उडिरहेको दृश्य सरकारी टेलिभिजनले प्रशारण गरेका छन्।
यसअघि बुधबार चीनले २० वटा लडाकु विमान ताइवान जलसन्धिको मध्यविन्दु पार गरेर आफ्नो क्षेत्रमा पठाएको ताइवानले बताएको थियो।
उता चीनले प्रहार गरेको क्षेप्यास्त्र जापानको ‘एक्स्क्लुसिभ इकोनोमिक जोन’ मा खसेको भन्दै जापानी रक्षा मन्त्रालयले चीनको भर्त्सना गरेको छ। चीनले प्रहार गरेको पाँच वटा क्षेप्यास्त्र आफ्नो क्षेत्रमा खसेको जापानको भनाइ छ।
पेलोसीको ताइवान भ्रमण र त्यसको जवाफमा चीनले आयोजना गरेको सैन्य अभ्यासका विषयमा जापानले दिएको वक्तव्यबाट असन्तुष्ट भएपछि कम्बोडियामा चिनियाँ र जापानी विदेशमन्त्रीबीच तय भएको भेट पनि चीनले रद्द गरिदिएको छ।
चीनको पटक पटकको आग्रहलाई लत्याउँदै अमेरिकी सभामुख नान्सी पेलोसीले गरेको एक दिने ताइवान भ्रमणले सो क्षेत्रमा तनाव सिर्जना गरेको छ । चिनियाँ जल क्षेत्रमा रहेको ताइवानमा त्यसको सबैभन्दा धेरै असर परेको बताइन्छ ।
ताइवान वरिपरी चिनियाँ जनमुक्ति सेनाले गरेको नियमित सैनिक अभ्यासका कारण उक्त क्षेत्रमा सैन्य तनाव देखिएको हो । पेलोसीले अस्ति मंगलबार एक रात ताइपेइ भ्रमण गरेपछि अमेरिकाले नयाँ विवाद रोपिदिएको आरोप लागेको छ ।
यता चीनले फुजियान पारी ताइवान वरपरका छ वटा क्षेत्रलाई घेरावन्दी गर्दै सैन्य शक्ति प्रदर्शन गरेको छ । ब्लुमबर्गलाई उद्धृत गर्दै प्रेषित समाचारहरुमा भनिएको छ, ‘यात्रु वाहक विमानहरुलाई सो क्षेत्रबाट उडान नभर्न चेतावनी दिइएको छ ।’
बेइजिङले अमेरिकी सभामुखको हठपूर्ण ताइवान भ्रमणले सो क्षेत्रमा संकट उत्पन्न गराएको भन्दै भ्रमण अमेरिकाको एक चीन नीतिविरुध्द रहेको ठहर गरेको छ । रक्षा मन्त्रालयले गत मंगलबार भएको अमेरिकी उच्च अधिकारीको उक्त भ्रमणलाई चीनले पृथकतावादी शक्तिको पक्षपोषण गरेको ठहर गरेको छ ।
पछिल्ला गतिविधिलाई नजिकबाट नियालेको उल्लेख गर्दै चीनको राष्ट्रिय एकता,सार्वभौमिकता र अक्षुण्णताको विरुद्धमा हुने वाह्य हस्तक्षेपलाई परास्त गर्न चीनको जनमुक्ति सेनालाई उच्च सतर्कतामा राखिएको बताइएको छ ।
गत मंगलबार नै चीनले सो क्षेत्रमा थप २१ वटा सैन्य विमान पठाएको ताइवानको रक्षा मन्त्रालयले दाबी गरेको छ । पेलोसी अमेरिका फर्केपछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् संयोजक जोन किर्बीले आफूहरुले मित्रतालाई सँधै समर्थन गर्ने,इण्डो प्यासिफिक क्षेत्रको आकाश जल क्षेत्रलाई निर्वाध बनाउँदै बेइजिङसँग सम्वादमा रहने योजना अघि सारेको छ ।