पोखरा । पेट्रोलियम पदार्थ लगायत सम्पूर्ण वस्तु र सेवामा भएको चर्को मूल्य बृद्धि र कृषिमलको चरम अभावका साथै राष्ट्रघाती नागरिकता विधेयकका विरुद्ध गण्डकी प्रदेशमा क्रियाशिल राजनीतिक दलहरुद्वारा आयोजित संयुक्त विरोध कार्यक्रम नारा जुलुस सहित पोखरामा सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका सभागृहचोकबाट सुरु भएको जुलुस नारा लगाउदै लखनचोक (पोखराको माझमुट पृथ्वीचोक) मा पुगि सभामा परिणत भएको थियो । उक्त विरोध कार्यक्रममा बोल्दै नेपाल कम्यनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्यरो सदस्य एवंम गण्डकी प्रदेश सेक्रेटरी कमरेड केश वहादुर परियारले महङगीले गरिव निमुखा जनताको दैनिक अवस्थामा गम्भिर प्रभाव पारेको बारेका चर्चा गर्दै अब उनीहरुको चुलो नबल्ने अवस्था रहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ” पेट्रोलियम पदार्थमा भएको चरम मूल्यवृद्धिले सबै वस्तुहरुमा मूल्यवृद्धि भएको छ । कृषिमलको चरम अभाव छ त्यसको सरल र शुलभ रुपमा उपलब्ध गराइयोस् । राष्ट्रघाती नागरिकता विधेयक अविलम्ब खारेज गरियोस् ।” उहाँले भन्नुभयाे, ” गण्डकी प्रदेशका सांसद, मन्त्रि र मुख्यमन्त्रिले आफ्ना नातागोताका नाममा ट्रस्ट बनाएर राज्यको ढुकुटी लुटीरहेका छन् । त्यसका विरुद्ध जनता अब उठ्नै पर्छ ।” उहाँले खबरदारी आन्दोलनमा सँगै जाउ भन्दै जनजमुदायलाई संघर्षका निम्ति आब्हान समेत गर्नु भयो ।
विरोध सभालाई नेकपा (मसाल) का गण्डकी प्रदेश संयोजक कमरेड विक्रम थापाले महङगीले सर्वसाधारण जनता विहान बेलुकाको छाक टार्न नसक्ने अवस्थामा पुगेको बताउनु भयाे । उहाँले भन्नुभयाे, “पेट्रोलियम पदार्थको मुल्यवृद्धिले सबै वस्तुको मुल्य बढेको छ । राष्ट्रियता र जनजिबिकाका बिषयहरुमा संयुक्त संघर्ष अगाडि बढाइरहेको छ । सबै जनता सडकमा आउनु पर्छ ।”
अर्का वक्ता नेकपा (बहुमत) का नेता एवंम केन्द्रिय सल्लाहाकार कमरेड नन्द प्रसाद तिवारी “जगन” ले दलाल पुँजीवादी व्यवस्थाको अन्त्य नभै सर्वहारा श्रमजीवि जनताको मुक्ति सम्भव छैन भन्दै आन्दोलन निरन्तर अगाडी बढाई रहनु पर्ने कुरामा जोड दिनु भयो । विरोध सभाको सञ्चालन कमरेड बद्री अधिकारीले गर्नु भएको थियो ।





























