काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आगामी आइतबार नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लिउ चार दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन्।

आगामी बुधबारसम्म यहाँ रहँदा लिउले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन्। भेटवार्ता मिलाउन परराष्ट्र मन्त्रालयले प्रमुख राजनीतिक दलसँग समन्वय गरिरहेको छ।

नेपालमा रहँदा चिनियाँ नेताले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने स्रोतले बतायो।

एक महिनायता नेपालका प्रमुख दलसँग निरन्तर सम्पर्कमा रहेका चिनियाँ वरिष्ठ नेता लिउको भ्रमण तयारीका लागि परराष्ट्र र चिनियाँ दूतावासले समन्वय गरिरहेका छन्। लिउले गत जुन अन्तिम साता माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग अलग अलग भिडिओ वार्ता गरेका थिए।

उनले परराष्ट्रमन्त्री तथा कांग्रेस नेता नारायण खड्कासँग गतसाता मात्रै भिडिओ कुराकानी गरेका थिए। लिउ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हुन्। चीनमा उनको हैसियत मन्त्रीसरह हुन्छ।

५८ वर्षीय नेता लिउ चीनका पूर्व वरिष्ठ कुटनीतिज्ञ हुन्। गत जुन महिनामा उनी चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख नियुक्त भएका थिए। तत्कालीन विदेश विभाग प्रमुख सोङ् थाओको स्थानमा लिउ नियुक्त भएका हुन्। त्यसैले अब हुन लागेको उनको नेपाल भ्रमण परिचयात्मक भनिएको छ।

तर जानकार सरकारी अधिकारीहरुका अनुसार चिनियाँ वरिष्ठ नेताको भ्रमणमा पार्टीगत, द्विपक्षीय र भूराजनीतिक गरी तीन आयाम छन्। नेपालका राजनीतिक दलसँग सिपिसीको सम्बन्ध विस्तार गर्नु उनको भ्रमणको एउटा एजेन्डा हो।

त्यसैगरी बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) फ्रेमवर्क भित्र रहेर चिनियाँ सहयोगमा रेल र सडक जस्ता विकास परियोजनामा अघि बढाउन नेपालको ढिलाइबारे यहाँको राजनीतिक नेतृत्वसँग छलफल गर्नु उनको अर्को एजेन्डा हो।

त्यसैगरी नेपालका वामपन्थी दलबीच चुनावी तालमेल सम्भावनाबारे अध्ययन गर्नु उनको अर्को एजेन्डा रहने बुझिएको छ। चीनले नेपालका वामपन्थी शक्तिलाई चुनावमा मिलेर जान सुझाव दिँदै आएको छ। यद्यपि चीनले प्रमुख सत्तारुढ कांग्रेससँग पनि समानान्तर रुपमा सम्बन्ध राख्दै आएको छ।

त्यही क्रममा परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस नेता खड्कासँग गत असार १७ गते चिनियाँ नेता लिउको भिडिओ वार्ता भएको छ। लिउको भ्रमणपछि परराष्ट्रमन्त्री खड्का चीन जाने सम्भावना रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।

परराष्ट्र प्रवक्ता सेवा लम्सालले गतसाता मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छिमेकी मुलुक चीनसँगका उच्चस्तरीय भ्रमण आदान सरकारको प्राथमिकतामा रहेको बताएकी थिइन्।

अमेरिका र चीनबीच विश्वव्यापी मुद्दामा तीव्र मतभेदबीच शेरबहादुर देउवा नेतृत्वको सरकार अमेरिकासँग अनावश्यक लहसिएर चीनसँग दूरी बढाइरहेको उत्तरी छिमेकीको विश्लेषण छ। लिउको भ्रमणलाई भूराजनीतिक महत्वका साथ समेत हेरिएको छ ।
युक्रेन मामिलामा देउवा सरकारले अमेरिका र पश्चिमा मुलुकसँग घाँटी जोडेको आरोप चिनियाँ विज्ञले यसअघि लगाएका थिए। नेपाल जोडिएका एमसीसीदेखि एसपीपीसम्म चीन र अमेरिकाबीच एक किसिमको शीतयुद्ध नै चल्यो।

विश्वका दुई ठूला शक्ति चीन र अमेरिकाबीच नेपालमा रणनीतिक प्रतिस्पर्धा चुलिँदै गर्दा पछिल्ला महिना अमेरिकाबाट संसदीय टोलीदेखि तिब्बत मामिला हेर्ने उच्च अधिकारीका भ्रमण भए।

चीनबाट पनि भ्रमण जारी छ। यसअघि गत मार्च अन्तिम साता चिनियाँ विदेश मन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता वाङ यी नेपाल भ्रमणमा आएका थिए।

उनले यहाँ उच्चस्तरीय भेट गरेका थिए। नेपाललाई कसैले भूराजनीतिक चलखेलको थलो बनाउन प्रयास गरे कडा प्रतिरोध गर्ने चेतावनी उनले दिएका थिए। उनको यो संकेत बढ्दो अमेरिकी प्रभावतर्फ थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार