काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का पिविएम इन्द्रमाेहन सिग्देलले आफ्नाे फेसबुक पेजमा लामाे स्टाटस लेख्दै देशमा झन ठुलो अर्को राष्ट्रघात हुन सक्ने खतरा बढेर गएको बताउनु भएकाे छ ।
उहाँले लेख्नु भएकाे छ, “तथ्यहरुले के पुष्टि गर्दछन् भने यो राष्ट्रघात कम्तिमा पनि ओली, प्रचण्ड र देउवाको सहमति बिना भएको छैन । यिनीहरु अमेरिकी साम्राज्यवादका दलाल मात्र होइनन्, राष्ट्रघाती गद्दार हुन् । साम्राज्यवादको दलाली गरेर सत्तामा पुग्ने यिनको अभीष्ट रहेको छ । यिनीहरुले एसपीपी खारेज गर्ने त कुरै छाडौं, अमेरिकी साम्राज्यवादका सामु एक शब्द बोल्न सक्दैनन् । त्यसमाथि, प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा एसपीपीलाई नेपालले स्वीकारेको कुरा विधिवत घोषणा गर्ने र त्यो भन्दा झन ठुलो अर्को राष्ट्रघात हुन सक्ने खतरा बढेर गएको छ ।” उहाँले यो स्थितिमा, एसपीपी लगायत सबै राष्ट्रघाती संझौताहरु खारेज गराउन र देशको राष्ट्रिय स्वाधीनताको रक्षागर्न देशभक्त नेपालीहरु सडकमा उत्रिनुको विकल्प छैन भन्दै देशलाई दक्षिण एसियाको युक्रेन बन्नबाट जोगाउने एकमात्र उपाय भनेको देशभक्तिपूर्ण आन्दोलन भएकाे स्पष्ट पार्नु भएकाे छ ।
यस्ताे छ नेता सिग्देलकाे पूरा स्टाटस :
“देशव्यापी विद्रोह भड्किने स्थिति भएपछि देउवा नेतृत्वको गठबन्धन सरकारले क्याबिनेटबाट नेपाल अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय गरिएको कुरा बतायो । त्यतिमात्र होइन, नेपाल सरकारका परराष्ट्रमन्त्री नारायण खडकाले एसपीपीमा सहभागी नहुने भनी अमेरिकी सरकारलाई चिठी पठाइसकिएको सुचना फर्मान पनि गरे । तर विडम्बना, हिजो परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अहिलेसम्म अमेरिकालाई चिठी नपठाइएको र त्यसबारे गम्भीर अध्ययन भइरहेको कुरा बताइन् । नेपाली जनतालाई ढाँट्नुपर्ने बाध्यता परराष्ट्र मन्त्रीलाई किन पर्‍योे ? त्यतिबेला एसपीपीलाई एमसीसीलाई जस्तो व्याख्यात्मक टिप्पणी गरेर अनुमोदन गरिन्न, त्यसलाई खारेज गरिन्छ भनेर कुर्लिने भू.पू. प्रधानमन्त्री प्रचण्ड अहिले कुन दुलामा लुकेर बसेका छन् ? प्रधानमन्त्रीलाई थाहै नदिएर एसपीपीबारे पत्र पठाइएको रहेछ भन्ने तत्कालीन प्रधानमन्त्री केपी ओली दुईओटा सैन्य जहाज ल्याएर उक्त प्रोग्राम कार्यान्वयनमा गइसक्दा र क्याबिनेटको निर्णय परराष्ट्र मन्त्रालयमा थन्किएर बस्दा किन एक शब्द पनि बोल्दैनन् ? यति गम्भीर राष्ट्रिय सरोकारको विषयमा प्रधानमन्त्री देउवाले केही बोल्नु पर्दैन ?
एसपीपीको प्रसङ्ग आएपछि, अर्थात् २०१५ देखि यता, केपी ओली, प्रचण्ड र देउवा तीनै जना नेपालका प्रधानमन्त्री भएका छन् । यिनीहरु मध्ये कसैको पालामा नेपाली सेनाले अमेरिकाबाट सैन्य जहाज ल्याएर एसपीपीको कार्यान्वयन समेत भइसकेको छ । यस्तो सम्वेदनशील विषयमा देशको कार्यकारिणी भूमिकामा रहेका नेताहरुलाई थाहै थिएन भनेर कसले पत्याउँछ ? माधव कुमार नेपालले भने झैं ह्विस्कीको नशामा होस गुमाएर सही धस्काएका हुन् त ? त्यस्तै हो भने ह्विस्की खाएर देशमाथि गद्दारी गर्न पाइन्छ ?
तथ्यहरुले के पुष्टि गर्दछन् भने यो राष्ट्रघात कम्तिमा पनि ओली, प्रचण्ड र देउवाको सहमति बिना भएको छैन । यिनीहरु अमेरिकी साम्राज्यवादका दलाल मात्र होइनन्, राष्ट्रघाती गद्दार हुन् । साम्राज्यवादको दलाली गरेर सत्तामा पुग्ने यिनको अभीष्ट रहेको छ । यिनीहरुले एसपीपी खारेज गर्ने त कुरै छाडौं, अमेरिकी साम्राज्यवादका सामु एक शब्द बोल्न सक्दैनन् । त्यसमाथि, प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा एसपीपीलाई नेपालले स्वीकारेको कुरा विधिवत घोषणा गर्ने र त्यो भन्दा झन ठुलो अर्को राष्ट्रघात हुन सक्ने खतरा बढेर गएको छ । यो स्थितिमा, एसपीपी लगायत सबै राष्ट्रघाती संझौताहरु खारेज गराउन र देशको राष्ट्रिय स्वाधीनताको रक्षागर्न देशभक्त नेपालीहरु सडकमा उत्रिनुको विकल्प छैन । देशलाई दक्षिण एसियाको युक्रेन बन्नबाट जोगाउने एकमात्र उपाय भनेको देशभक्तिपूर्ण आन्दोलन हो ।”

प्रतिक्रिया

सम्बन्धित खवर