काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल प्रतीकले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणसँग तीनपटक भेट वार्ता गरेको भनी आएको समाचारको खण्डन गर्नुभएको छ । उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पार्टी महासचिव किरणको एकपटक पनि भेट नभएको स्पष्ट पार्नुभएको छ । उहाँले माओवादी केन्द्रकै नेता कृष्णबहादुर महरासँग पनि पार्टीका कुनै पनि नेताहरुसँग भेट र पार्टी एकताको विषयमा कुरा नभएको स्पष्ट पार्नु भएको छ ।

“क्रान्ति र क्रान्तिकारी पार्टीलाई कमजोर पार्न योजनाबद्ध भ्रम छर्ने कुनियत राखेर गरिएको दुष्प्रचार मात्र हो यो । विचार र राजनीतिक कार्यदिशा नै नमिल्ने माओवादी केन्द्रसँग क्रान्तिकारी माओवादीको कसरी एकता वार्ता हुन्छ ? यो सब सत्ता र उनीहरुकै जुठोपुरो खाने मिडिया र पत्रकारले छरेको भ्रम मात्रै हो ।”, उहाँले भन्नुभयो, “बरु विचार र राजनीतिक कार्यदिशा मिल्ने क्रान्तिकारी पार्टीहरुसँग भने वार्ता समिति नै बनाएर छलफल अगाडि बढाइरहेको चाहिं साँचो हो ।”


मूलबाटो डटकमसँगको कुराकानीको क्रममा उहाँले भन्नुभयो, “क्रान्तिकारी र संसदवादीहरुबीच एकता हुने कुरै आउँदैन । संशोधनवादी र अवसरवादीहरुसँग क्रान्तिकारीहरुको एकता कसरी हुन्छ ?”

‘संसदवादको आहालमा चुर्लुल्म डुवेर नवप्रतिक्रियावादी कित्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र र त्यो पार्टीका अध्यक्ष प्रचण्डलाई साम्राज्यवादीहरुले पत्याउने खालको दलाल शक्ति बनाउन एकताको खाँचो र आवश्यकता होला । तर आमूल परिवर्तनका पक्षधर शक्तिहरुलाई प्रचण्डसँगको एकताको कुनै खाँचो र आवश्यकता छैन ।, उहाँले भन्नुभयो, “संसदीय चुनावमा ठूलो शक्ति हुने अनि साम्राज्यवादी शक्तिहरुको दलाली गरेर सत्ता र शक्तिमा टिकिरहने भन्दा अरु प्रचण्डको दिमागमा केही पनि छैन । कोही पनि भ्रममा नपरे हुन्छ । प्रचण्ड साम्राज्यवादीहरुलाई खुशी पार्न क्रान्तिकारीहरुलाई सिध्याउने षड्यन्त्रमा लागेका छन् ।”

प्रवक्ता प्रतीकले मोहनविक्रम सिंह र नेत्रविक्रम चन्द विप्लवको संसदीय व्यवस्थाप्रतिकै झुकाव र रुझान प्रवल देखिएकोले धर्मेन्द्र बास्तोला, विश्वभक्त दुलाल आहुति, सन्तबहादुर नेपाली लगायतले नेतृत्व गरेका पार्टी तथा समूहसँग पार्टी एकता तथा संयुक्त मोर्चा निर्माणका लागि छलफल अगाडि बढिरहेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “क्रान्तिकारी कित्ताभित्र विचार र राजनीतिक कार्यदिशामा त्यतिधेरै फरक नभए पनि केही निम्नपुँजीवादी चिन्तनका कारण एकता प्रक्रियाले मूर्त रुप लिन सकिरहेको छैन । तर हामीले छलफल अगाडि बढाइरहेका छौं । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु समाधान गर्ने कार्यभारलाई केन्द्रमा राखेर क्रान्तिकारीहरुबीच एकता तथा संयुक्त मोर्चाको सम्भावना राम्रो छ । हामीले यी मुद्दाहरुमा संयुक्त संघर्ष गर्दै पनि आएका छौं ।”

नेकपा (क्रान्तिकारी माओवादी)को हालै सम्पन्न केन्द्रीय समितिको बैठकले छरिएर रहेका क्रान्तिकारीहरुलाई एकताबद्ध तुल्याउन वार्ता समिति समेत बनाएको थियो । पार्टीलाई सुदृढ बनाउने र बलियो क्रान्तिकारी आन्दोलन उठान गर्ने उद्देश्यसहित यतिबेला क्रान्तिकारी माओवादी देशव्यापी संगठन र संघर्षको तयारीमा जुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर