मूल्यवृद्धि–महंगी–मल अभावका विरुद्ध क्रान्तिकारी माओवादीसहित ६ वाम घटकले माइतीघरमा आज गर्दैछन् विरोध प्रदर्शन

मूल्यवृद्धि–महंगी–मल अभावका विरुद्ध क्रान्तिकारी माओवादीसहित ६ वाम घटकले माइतीघरमा आज गर्दैछन् विरोध प्रदर्शन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समिति, नेपाल कम्युनिस्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी, नेपाल र संयुक्त संयुक्त क्रान्तिकारी मोर्चा, नेपालको संयुक्त आयोजनामा पेट्रोलियम पदार्थ र जनताले दैनिक रूपमा उपभोग र उपयोग गर्ने खाद्यान्न, यातायातका साधन, ढुवानी, किसानलाई अत्यावश्यक पर्ने रासायनिक मल, बिउ–बिजनको मूल्य अचाक्ली बढिरहेको भन्दै त्यसका विरुद्ध विरोध प्रदर्शनको तयारी गरेका छन् ।


पूर्वघोषित कार्यक्रम अनुसार आज दिनको १ बजे माइतीघर मण्डलामा विरोध कार्यक्रमको आयोजना गरिएको आयोजकहरुले जानकारी दिएका छन् । विरोध प्रदर्शनलाई आयोजक पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

६ वाम घटकले ११ असारमा जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको थियो, ‘ वर्तमान गठबन्धन सरकार बनेदेखि पेट्रोलियम पदार्थ र जनताले दैनिक रूपमा उपभोग र उपयोग गर्ने खाद्यान्न, यातायातका साधन, ढुवानी, किसानलाई अत्यावश्यक पर्ने रासायनिक मल, बिउ–बिजनको मूल्य अचाक्ली बढिरहेको छ । यसैका कारण नेपालका राजनीतिक पार्टी, सरोकारवाला सबैले निरन्तर विरोध गर्दै आएका छन् । सडक आन्दोलनलाई सशक्त बनाउँदै आएका छन् । यी विरोध, आन्दोलनलाई बेवास्ता गर्दै सरकारले झन् दिनदिनै मूल्य बढाइरहेको छ । मल र बिउबिजनको आपूर्ति गरेको छैन ।’

‘सरकारले यसरी मूल्य वृद्धि हुनुमा अन्तर्राष्ट्रिय तेल बजारमा नै मूल्य बढेको कुतर्क गरेको छ र रुस—युक्रेन युद्धको बहाना बनाएको छ । त्यस्तो हुने हो भने दक्षिणएसियाका अन्य देशमा किन यही स्तरमा मूल्य वृद्धि भएको छैन त ? पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुनुको मुख्य कारण सरकारले कर, राजस्व शीर्षकमा अत्यधिक रकम लगाउनु, आयल निगमका कर्मचारीलाई १ वर्षभन्दा बढी समयको बोनस दिनु, बिमा र सञ्चयकोषका लागि ठूलो रकम छुट्ट्याउनु, चुहावट, ढुवानी, संसदीय पार्टीका नेता, माथिल्लो स्तरका कर्मचारीहरूलाई निःशुल्क पेट्रोलियम पदार्थ उपलब्ध गराउनु हो भन्ने कुरा सर्वविदितै छ ।’

‘जहाँसम्म किसानका लागि आवश्यक पर्ने मल र बिउको अभाव छ, त्यसको मुख्य कारण नेपालमा रासायनिक मलको उद्योग नहुनु र कमिसनको खेल हो । त्यसैले आन्दोलन गर्न बाध्य भएका छौँ ।’