
आफ्नोे शास्त्रको पाना च्यातेर
असरल्ल पारेको छ भुइँभरि
फेरि पनि हाम्रो जमानाको
दुस्ट मानिस
आफ्नो अनुहार जस्ताको तस्तै
रहेको निर्लज्ज घोषणा गर्छ
कति हुतिहारा अज्ञानी छन्
अरु केही विवेक बेचेर
उभिएका छन् लाइनमा
जसरी सुखानीको जङ्गलमा
बगेको रगतको नदीमा
फोहर थुपारेर
त्यसकै टावरमाथि उभिएर
ढोंगी हिन्दुस्थानी बाबाले झैं
प्रवचन दिएको ध्यानमग्न भै
सुनिरहनमा गर्व गर्दैछन्
कुहिएको कुनै अन्डा झैं
डुङ्डुङ्ती गनाइ सकेर पनि
उच्चाट र अर्थहीन शब्दमा
कुनै बुर्जुवा बिकाउ नेताले झैं
बकबक गरेरै
अर्को कुनै जनद्रोही पात्र
सफा टाइसुटमा उभिएरै
समाजवादको बडो मिठो
कथा भनिरहेछ
क्या गजब छ
लाटोकोसेराहरूको
जमात भने
सपना देख्नु भन्दा
उसले रचेको झुठो कथामा
लठ्ठिन र मात्तिनमै
मुक्तिको आनन्द मानी
टाउको हल्लाइ हल्लाइ
फोस्रो ताली ठोकिरहेछ
अँध्यारो बेइमान
तस्बिर र कथा काट्ने
तरबारको खाँचो भने
भइसकेको गाइँगुइँ
पनि सुनिन थालिएको छ