
रूसी आक्रमणलगत्तै अलेक्सान्द्र र मिखाइल कोनोनोभिचलाई गत मार्च ३ मा हिरासतमा लिइएको हो । विपक्षी र वामपन्थी समूहहरूमाथिको कारबाहीस्वरूप यसो गरिएको हो ।
मिखाइल कोनोनोभिच प्रतिबन्धित युक्रेनी कम्युनिस्ट पार्टी (केपीयू) को युवा सङ्घका नेता हुन् । दुवैजना ‘जनवादी युवाको विश्व सङ्गठन’ (डब्ल्युएफडीवाई) मा सक्रिय थिए । यो प्रगतिशील युवाहरूको अन्तर्राष्ट्रिय सङ्गठन हो ।
पक्राउ हुनुअघि यी बन्धुहरू कीभस्थित अमेरिकी दूतावाससामु भएको प्रदर्शनमा सहभागी थिए । त्यहाँ उनीहरूले नेटोमार्फत युरोपमा सैन्य विस्तारवाद बन्द गर भन्दै वासिङटनसमक्ष माग गरेका थिए ।
यी दुईजनालाई सुरूमा युक्रेनको आन्तरिक अवस्थामा ‘खलल’ ल्याउन खोज्ने ‘प्रचारक’ भनिएको थियो र रूस तथा बेलारूसको निम्ति सुराकी गरेको आरोप लगाइएको थियो ।
‘डब्ल्युएफडीवाई’ ले तुरून्तै तिनको रिहाइको लागि अपिल निकाल्यो र ती दुईको हत्या गरिने आशङ्का व्यक्त ग¥यो । तर, पक्राउपछि तिनको सुरक्षा र अत्तोपत्तोबारे कुनै सूचना आएन । खालि युरोपेली युनियनसँग हस्तक्षेप गर्न हारगुहार गरियो । यी बन्धुहरू सक्रिय फासीवादविरोधी कार्यकर्ता हुन् । युक्रेनस्थित बेलारूसी दूतावाससामू तिनले निरन्तर बेलारूसको समर्थनमा नियमित प्रदर्शनहरू गर्दै आएका थिए ।
तर, ती प्रदर्शनहरू गरेको कसुरमा अहिले तिनलाई जेलमै सडाउने धम्की दिएको वकिलहरूले बताएका छन् । जब कि ती प्रदर्शनहरू युक्रेनी अधिकारीहरूको अनुमतिमै गरिएका थिए । युक्रेनी सुरक्षा सेवा (एसबीयू) ले ती दुई बन्धुलाई कुटपिट गरेको र यातना दिएको तथा सजाय कम गरिदिने लोभ देखाएर राज्यविरूद्ध अपराध गरेको आरोप कबुल गर्न दबाब दिएको आशङ्का गर्छन् ।
तिनीहरूमाथि युक्रेनको फौजदारी कानुनको धारा १०९ उल्लङ्घन गरेको आरोप छ । सो धारा ‘हिंसात्मक परिवर्तन वा संवैधानिक व्यवस्था परिवर्तन वा राज्यसत्ता कब्जाको आह्वान, साथै यस्ता गतिविधिको लागि भौतिक प्रचारप्रसार’ सँग सम्बन्धित छ । तिनलाई थप सोधपुछका लागि ‘एसबीयू’ लगिएको विश्वास गरिएको छ । उनीहरूमाथि लगाइएका आरोपहरू स्वीकारेमा १० वर्ष कैद अन्यथा आजन्म कैद गरिने उनीहरूलाई बताइएको रिपोर्ट छ ।
‘डब्ल्युएफडीवाई’ ले तिनलाई तुरून्तै थुनामुक्त गर्नुपर्ने र ‘केपीयु’ माथिको प्रतिबन्ध हटाउनुपर्ने माग गरिरहेको छ । यद्यपि युक्रेन सरकारले वामपन्थी र विपक्षी दलहरूलाई गैरकानुनी करार गर्न छोडेको छैन । उसले ११ विपक्षी समूहहरूलाई गत मार्चमा अस्थायीरूपमा प्रतिबन्ध लगाएको थियो । त्यसलाई स्थायी बनाउन हाल उसले ठोस पाइला चाल्दै छ । गत आइतबार रूसी पुस्तक र सङ्गीतको आयात र प्रवद्र्धन रोक्ने कानुन ल्याएकोमा युक्रेनको तीव्र आलोचना भइरहेको छ ।
एउटा नयाँ कानुनअनुसार रूसी नागरिकहरूले पुस्तक छाप्न नपाउने भएका छन् । पुस्तक छाप्ने नै भए तिनले रूसी पासपोर्ट त्यागेर युक्रेनको नागरिकता लिनुपर्ने हुन्छ । सन् १९९१ मा सोभियत सङ्घ विघटन भएपछि रूसी नागरिकता लिएका व्यक्तिहरूको हकमा मात्र यो नियम लागू हुनेछ । अर्को एउटा कानुनले सन् १९९१ पछि रूसी नागरिकता लिएका व्यक्तिहरूले मिडिया र सार्वजनिक यातायातमा सङ्गीत सुनाउन नपाउने भएका छन् ।
(स्वीनि ‘मर्निङ स्टार’ का पत्रकार हुन् ।)