काठमाडौं । कर छली गरेर अवैध रुपमा रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको दुई वटा ट्रक जनताले कब्जामा लिएका छन् । मल बोकेको ट्रकलाई राजमार्गछेउमा रोकेर किसानले मल कब्जामा लिएर स्थानीय किसानलाई बाँडेका छन् ।

अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरुले ट्रक रोकेर मल खोसेका हुन् ।

राजस्व अनुसन्धान विभागका प्रवक्ता दिवस आचार्यले सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेको दुईवटा ट्रकबाट किसानले मल खोसेको सूचना पाएको जानकारी दिए। ‘सशस्त्र प्रहरीको सुरक्षाबाट कसरी मल खोसियो, हामी अनुसन्धान गर्दैछौं’ उनले भने ।

शनिबार दिउँसो मल बोकेको ट्रक काठमाडौंतर्फ जाँदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा ४–५ सय किसान भेला भएका थिए । मल बोकेको ट्रक आइपुग्नेवित्तिकै किसानले ट्रक कब्जामा लिएर मल झिकेर लगेका हुन् । त्यस क्रममा सशस्त्र प्रहरीले किसानहरुमाथि लाठिचार्ज समेत गरेको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा सशस्त्र प्रहरी कर्मचारीले ट्रकबाट मल झिक्दै गरेको अवस्थामा एक महिलामाथि बन्दुकको कुन्दाले हिर्काइरहेको देखिन्छ ।

किसानले धेरैजसो मल लगिसकेपछि प्रहरी घटना स्थलमा आएको थियो । त्यसपछि उसले मललाई नियन्त्रणमा लिएको छ ।

प्रवक्ता आचार्यका अनुसार ती ट«कमा एउटा सामान भनेर अर्कै सामान ल्याइएको थियो । ‘एउटामा गहुँ भनेर र अर्कोमा सिमेन्ट भनेर रासायनिक मल ल्याइएको रहेछ, हिजो चेकजाँच गर्दा मल ल्याएको थाहा पाएपछि नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बलको सुरक्षामा राखिएको थियो’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार