काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ । आज (मंगलबार) राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघले गत बैशाख ३१ गते मध्यरातदेखि लागु हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको हो ।

महासंघले आयल निगमले हिजो प्रेषित गरेको प्रेस विज्ञप्ती अनुसारको थप हुने मुल्य आन्तरिक व्यवस्थापन गर्नसमेत माग राखेको छ । यसैगरी, महासंघले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पेट्रोलियम पदार्थको फिलिङ, ढुवानी, भण्डारण र बिक्रि–वितरणसम्बन्धी नेपाल सरकारको ऐन, नियम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

पेट्रोलियम पदार्थको अनावश्यक खपत र मानवीय स्वास्थ्य एवम् वातावरणीय नकारात्मक प्रभाव कम गर्न पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन, मेशिनरी, उपकरणहरु निश्चित् अवधि पश्चात् चल्न नपाउनेगरी कानुनी तर्जुमा गर्नसमेत महासंघले प्रस्ताव राखेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्द्र साउदले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल रोक्न सरकारसँग माग गरे । उनले सानातिना विषयमा सडकमा आउने ईच्छा नभएपनि अब बाध्य भएर महासंघ सडकमा उत्रिनुपर्ने दिन आएको सुनाए । उनले देशमा दिनहुँ मूल्यवृद्धि बढ्दै गएको उल्लेख गर्दैै देश नै नरहने अवस्था आउन लागेको भन्दै चिन्ता व्यक्त गरे ।

अध्यक्ष साउदले महासंघले आगामी जेठ १७ र १८ गते महाधिवेशन गर्ने पनि जानकारी दिए । पछिल्लो समयमा बढ्दै गइरहेको मूल्यवृद्धिले जनता ठूलो मारमा परेको भन्दै उनले फिर्ता गर्न सम्बन्धित सबैसँग आग्रह गरे । उनले भने,‘यसरी मूल्यवृद्धि हुँदै गएमा भोलिका दिनमा यसले विकराल रुप लिनसक्छ, त्यसबारेमा सबैले ध्यान दिन आवश्यक छ ।’

उनले महासंघले आज नै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र उपभोक्ता संरक्षण विभाग बबरमहलका महानिर्देशकलाई ज्ञापनपत्र बुझाएको छ । त्यस्तै, आज नै काठमाडौंमा धेरै ब्यस्त हुने चार आकाशे पुल लोकन्थली, कोटेश्वर, रत्नपार्क र जमलमा मुल्य वृद्धि विरोधका मागसहितका ब्यानर राखिने पनि उनले बताए ।

महासंघका प्रवक्ता अर्जुनकुमार श्रेष्ठले नेपालीले थेग्नै नसक्नेगरी सरकारले डिजेल र पेट्रोलको मुल्यवृद्धि गरेको टिप्पणी गरे । प्रत्येक चिजको नियम परिवर्तन गर्न गाह्रो भएपनि सुरुवात आफैँबाट गर्नुपर्नेमा उनले जोड दिए । ३ सय रुपैयाँको सामान बजारमा अहिले ३ हजारमा बिक्रि भैरहेको भन्दै उनले आपत्ति जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार