भौतिकवादी दर्शन र बुद्ध !

भौतिकवादी दर्शन र बुद्ध !

मार्क्स एंगेल्सले द्वन्द्ववाद र भौतिकवादी दर्शनको विकासमा युनानी दर्शन र दार्शनिकहरूको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन्।

Philosophy(दर्शन) भन्ने शब्दको पहिलो प्रयोग पाइथागोरसले गरेका थिए भनिन्छ । त्यसलाई विज्ञानको रूप दिनेमा भने अफलातूनको उल्लेखनीय भूमिका रहेको मानिएको छ । ‘दर्शनकोश”(प्रगति प्रकाशन मस्को,१९८८) अनुसार,’ दर्शनको उत्पति दास-स्वामी समाजमा यस्तो विज्ञानको रुपमा भएको थियो जसले बस्तुगत जगत तथा स्वयं आफ्नै विषयमा मान्छेको ज्ञानको सकल योगलाई ऐक्यबद्ध गरेको थियो।” यसबाट मान्छेलाई प्रारम्भिक ज्ञानको रूपमा व्यावहारिक जीवन र जगतबाट प्राप्त सम्पूर्ण ज्ञान अनि अनुभवहरूको संकलन नै दर्शन भएको बुझ्नसकिन्छ। तथापि परवर्तीकालमा भने ज्ञानका विभिन्न शाखाहरू दर्शनबाट छुट्टिँदै गए। दर्शनको मुल प्रश्न भनेको अब अस्तित्वसित चिन्तनको र पदार्थसित चेतनाको सम्बन्धको रूपमा त्यसलाई कसरी बुझ्ने र समस्याको हल कसरी गर्ने भन्ने प्रश्न आधारभूत र मुख्य रह्यो। त्यसो हुँदा प्रत्येक दर्शन र दार्शनिक प्रणालीले अस्तित्व र चिन्तनमा मुल कुन ? अथवा पदार्थ र चेतनामा मुल के ? र यी दुवैको सम्बन्धलाई कसरी बुझ्ने र अन्ततःसमस्याको हल गर्ने कुरा नै दर्शनको आधारभूत र महत्वपूर्ण मुल प्रश्न भयो।

अस्तित्व र पदार्थलाई चिन्तन र चेतनाको मुल मान्नेहरू भौतिकवादी भए । चिन्तन र चेतनालाई मुल मान्दै, त्यसलाई अस्तित्व र पदार्थको पनि मुल ठान्नेहरू भने आदर्शवादी भए। आदर्शवाद र भौतिकवादका यी सामन्य मान्यताहरू भए।  द्वन्द्ववादी बुझाई अस्तित्व र चिन्तन अथवा पदार्थ र चेतनामा एकाअर्काका सम्बन्धलाई निषेधात्मक रूपले नबुझेर, सापेक्ष र अन्तर्सम्बन्धित रूपमा बुझ्ने बुझाई द्वन्द्ववादी भए । तथापि द्वन्द्ववाद पनि आदर्शवादी र भौतिकवादी हुने बुझिन्छ। द्वन्दवादी पद्धतिलाई स्वीकारे तापनि चेतनालाई मुल मान्ने र अस्तित्व र पदार्थको मुल पनि चेतनालाई नै मान्ने हिगेललाई मार्क्स एंगेल्सले द्वन्दवादी पद्धतिका प्रणेता भनेर अत्यधिक प्रशंसा र सम्मान गरे तापनि हिगेललाई आदर्शवादी मानेका छन्। यस्तै फायरबाखको भौतिकवादलाई ऐतिहासिक महत्वको उपलब्धिका रुपमा स्वीकारेर पनि अस्तित्व र चिन्तनको सम्बन्धलाई निरपेक्ष रूपमा बुझ्ने फायरबाखको दृष्टिकोणको अपूर्णताको आलोचना मार्क्स र एंगेल्सले गरेका छन् । कान्टको सवालमा पनि उनको निहारिकाको अवधारणालाई मार्क्स एंगेल्सले भौतिकवादी अवधारणाको रूपमा निकै प्रशंसा गरेको पाइन्छ। नँया बिचार अवधारणहरू विज्ञानमा भन्दा पहिला दर्शनमा जन्मिने कुराको जिकिर गर्दै दर्शनको महत्वलाई रेखांकित गर्दै कान्टको ऐतिहासिक योगदानको चर्चा उनीहरुले गरेका छन्। तथापि त्यसपछिको कान्ट भने आदर्शवाद र भौतिकवादको बीचमा अज्ञेयवादी र रहस्यवादी भएको कुरा पनि एंगेल्सले गरेका छन्। यसरी हेर्दा दर्शन भन्नु वा दृष्टिकोणको सवाल भन्नु निकै पेचिलो र जटिल कुरा हुने बुझ्नसकिन्छ।

इतिहासमा यस्ता कयौं प्रसंगहरू देख्छिन्। सुकरातको सत्य र ज्ञानसित साक्षात्कार गर्ने, त्यसको उद्घाटन गर्ने र युवाहरुलाई शिक्षा दिने वाद विवाद र सम्वादको प्रणाली द्वन्दवादी देखिन्छ। मानवलाई केन्द्रमा राख्ने सुकरातको मानवतावादी दर्शनको सामाजिक ऐतिहासिक महत्व पनि बुझ्नसकिन्छ।तथापि सुकरात मुल रूपमा तर आदर्शवादी भएको कुरा, सत्य र ज्ञानलाई सर्वोपरि ठान्ने, जीवनको सम्पूर्णता, एकमात्र सार्थकता र सौन्दर्य त्यसैमा मात्र उनले देख्ने कुराबाट प्रष्ट हुन्छ।ज्ञान अनि सत्यलाई महत्व दुने कुरा राम्रो भएतापनि त्यसको सार अनि मुल बस्तुमा, भौतिकतामा रहेको कुरा बुझ्न नसक्नु, व्यक्ति जीवनको अस्तित्वलाई सामाजिक जीवनको सापेक्षतामा बुझ्न नसक्नु, अर्थ सामाजिक उत्पादन सम्बन्धलाई भन्दा त्यस देखि निरपेक्ष सत्य अनि ज्ञानलाई मात्र सर्वोपरि महत्व दिने कुरा जतिनै ज्ञानगुनका कुरा भएपनि त्यसले सामाजिक जीवनमा क्रान्तिकारी गुणात्मक परिवर्तन ल्याउन नसक्नु सुकरातको ज्ञान दर्शनको सीमा अनि कमजोरी देखिन्छ।

पुर्वेली भौतिकवादी दर्शनमा चर्वाक पछि बुद्धको सबैभन्दा बढी चर्चा हुने गरेको छ। तथापि वैशेषिक, न्याय, साङख्य र जैन दर्शनहरूलाई पनि भौतिकवादी दर्शनको रूपमा राख्न सकिने कुरा रामराज रेग्मी सरले आफ्ना पुस्तक ‘ पुर्वीय दर्शनमा भौतिकवाद” र मोहन वैद्य किरणल पनि यस्तै तर्कहरू ‘ नेपाली समाज र संस्कृति” लगायत मार्क्सवाद र दर्शन सम्बन्धि उनका अन्य पुस्तकहरूमा गर्दै आउनुभएको देखिन्छ। चर्वाक पछि पछिल्ला दर्शनहरुमा बुद्धको दर्शनमा नै शायद भौतिकवादी दर्शनको व्यापकता सबैभन्दा बढी रहेको होला। बुद्ध दर्शनको हरेक चीज अनित्य र परिवर्तनशील छ भन्ने ‘अनित्यवाद” द्वन्दवादमा आधारित रहेको मानिन्छ।दुख र समस्याको समाधान यसै लोक र यही संसारमा सम्भव हुने बुद्धको कुरा भौतिकवादी रहेको छ। बुद्धको दर्शन तत्कालीन भौतिक सामाजिक परिस्थिति, अर्थ सामाजिक परिवेश र सम्बन्धहरूमा त्यसले रूढ शासकवर्गीय आदर्शवादी बिचार र चिन्तनको विरूद्ध ,त्यसको खण्डन र आलोचना गर्ने प्रगतिशील विद्रोही सामाजिक सांस्कृतिक-बैचारिक चिन्तनको प्रतिबिम्बनका रूपमा त्यसलाई देखिन्छ।

बुद्ध दर्शन वा जुनसुकै बिचार त्यो भौतिक सामाजिक परिस्थिति, अर्थसामाजिक सम्बन्धको सांस्कृतिक- बैचारिक प्रतिबिम्बन र अभिव्यक्ति हुँदछ। समयक्रममा अर्थसामाजिक उत्पादन सम्बन्धहरू बदलिन्छन् र त्यसको सापेक्षतामा विस्तारै भएपनि सांस्कृतिक सम्बन्ध र विचारहरु,जीवनदर्शन र ज्ञानहरू पनि बदलिन्छन् । बद्लिने क्रममा हिजको सामाजिक दर्शन त्यो बद्लिएको समाज सापेक्ष भए पहिलेभन्दा त्यो समृद्ध र व्यापक हुने या समय/ परिस्थिति निरपेक्ष असान्दर्भिक भएर ह्रास पनि हुनसक्ने स्वाभाविक हुनसक्दछ।

बुद्ध दर्शन लगायत जुनसुकै दर्शनको सन्दर्भमा पनि यहि कुरा स्वाभाविक हुँदछ ।बुद्ध आदर्शवादी होइनन् तर सम्पूर्ण रूपले उनी भौतिकवादी पनि होइनन्। धेरैजसो ठाउँमा उनी तथस्टतावादी छन्। बुद्धको दर्शनलाई मध्यमार्गी रूपमा स्वीकार्ने गरिएको छ। त्यसो हो भने दर्शनगत रूपमै बुद्धका दर्शनमा सिमाहरू रहेको पनि बुझिन्छ। तथापि त्यो तत्कालीन सामाजिक व्यावहार र परिपाटी विशेषको सन्दर्भमा बुद्धले जसरी सोचे र सोच्ने कुरा सम्भव हुनसक्थ्यो त्यसलाई त्यही सामाजिक परिस्थिति र परिवेश बिशेषकै सीमा र कमजोरीका रूपमा बुझ्नु जायज हुन्छ शायद। तैपनि यतिबेला आजकै सन्दर्भमा पनि छद्म अछद्म तीव्र बैचारिक संघर्षको प्रतिरोधी दुर्दान्त र चुडान्त बेलामा बुद्ध दर्शनको गतिशील अनित्यवाद र भौतिकवादी दर्शनको महत्व भने रहेकै छ।