समाजसित अभिन्न सम्बन्ध राख्ने यी दुई स्थानबारे धेरै जानकार छौं । चौतारो परम्परादेखि निर्माण गरी आएको एउटा सार्वजनिक विश्राम स्थल हो । एउटा सम्पदा पनि हो । यातायातको साधनको पहुँचन हुने क्षेत्रमा भारी खेप्ने ढाक्रे र पैदल हिँड्ने यात्रुका लागि चौतार अति प्रिय लाग्छ । स्थानीय श्रोत र स्थानीय शीपले निर्माण गरिएका चौताराहरूमा लामो आयु हुने वनस्पती रोपिएको हुन्छ । बाटो हिँड्दाको थकाई चौतारीको सहारामा बिसाइ मार्दा यात्री एकक्षण सन्तुष्ट हुन्छ । अहिले पनि ग्रामिण गृहस्थमा परहित कार्यका लागि चौतारो निर्माण गर्ने एउटा संस्कृति छ । तर विकासको नयाँ मोडेलले चौताराहरू भत्काइएका छन् । भलै, कतिपय स्थानमा यात्रु प्रतिक्षालय निर्माण गरिएको पनि छ तर छहारी वा विश्राम लिन चौतारोमा जति प्राकृतिक र स्वच्छ हुन्छ त्यसको दाँजोमा प्रतिक्षालयले दिँदैन ।

हामी विकसित हुँदै आएका छौं र उत्पादन सम्बन्धसँग जोडिन अल्छि या श्रमचोर पनि बन्दै आएका छौं । हाम्रा धेरैजसो उर्वर पहाडी भुभाग बन्जर बन्दै आएका छन् । हामी सभ्य वा सुखी बन्ने नाउँमा शहरमुखी पनि बनेका छौं । यस्तो सभ्यतामा हामी चौताराहरू भेट्दैनौ । यस्ता शहरहरूमा थुप्रै चोकहरू भने भट्छौंं । केही पुराना शहरलाई अपवाद मानौं आधुनिक ठानिएका नयाँ शहरहरूका सडक किनारामा एउटासम्म लामो युग बाँच्ने रुख बिरूवा देखिदैनन् । आधुनिक सभ्यताले चौताराहरूको ध्वंस गरेपछि चोकहरू गुल्जार हुने भए । चोकलाई आधार मानेर चिया पसल, रक्सी पसल या किराना पसलहरू खोलिने भए । हाम्रा पुर्खाले चौताराहरूमा बसेर दुःखपीर साट्थे भने अहिलेको पुस्ता चोक नजिकका चिया पसलमा मदिरालयमा पीर चिन्ता पोख्दै गरेको भेटिनु अस्वभाविक छैन ।

हार्दिक शुभकामना !

हामी सभ्य भयौं । हिजो हाम्रा पूर्वजले चौतारामा गरिएका भेला वा कचहरीको स्वरूप वदलिएर चोकहरूमा आइपुगेको छ । परम्परित चोकको अवधारणा हटेर, चौवाटोको केन्द्रलाई चोक मान्न थालिएको छ । यी चोकहरूमा पनि चेतनाको अभिव्यक्ति पोखिन थालेको छ तर यस्ता कतिपय चोकहरू छन् जहाँ दिनमा भन्दा रातमा भीड र होहल्ला बढी हुन्छन् ।

दिनभर धुवाँ धुलोमा खट्ने मजदुर साँझ चोकको चिया वा मदिरालयबाट आत्मसन्तोष लिएर फर्कने पनि छन् वा देश समाज परिवार प्रति निराशा वा कुण्ठा पालेर चोकमा व्यक्तिने पात्रहरू पनि छन् ।

चौतारोसित जोडिएका धेरै मिथकहरू छन् । गौतम बुद्ध चौतारोमै ज्ञानको खोजी गरेर बनेका हुन् । पौराणिक ऋषिमुनिहरू चौतारैमा ब्रह्मलीन भएका कथाहरू छन् । यातायातको सुविधा नहुँदासम्म धेरै ढाक्रेहरूले चौतारोमा रात विताएका हुन्थे । चोकसित पनि कयौं सवुदहरू छन् । बढ्दो सवारी चापका कारण सडक दुर्घटनाहरूका अप्रिय दृश्यहरू चोकले व्यहोरेको छ ।

हामी चोकलाई सभ्य समाजको प्रतिक मान्छौं । सवारी साधनको पहुँचले चारैदिशाको गन्तव्य चोकले सुलभ बनाएको छ । आधुनिक प्रविधिले रात र दिनमा समानता ल्याइदिएको छ । चोक सभ्य छ, उन्नत छ, तर असन्तुष्ट छैन । चोकले कार्वन उत्पादन गरेर वायुमण्डल प्रदुषित गरेको छ । चौतारोले पूर्खाहरूको अभिलेख बोकेको छ । आफ्नो छातिमा उभिएका वृक्षहरूले सयौं पक्षिहरूलाई आश्रय दिएको छ र सन्तुष्ट छ । आफूले जोगाएका वृक्षले अक्सिजन उत्सर्जन गरेर उदारता देखाएको छ ।

हामी मध्ये कतिपय पात्रहरूको आवाश व्यस्त चोकमा रहेको हुन सक्छ । यस्ता घरधनिले रातमा सन्नाटा खपेर ढुक्कले निदाउन पाएका भने हुँदैनन् । ठूला शहरका साँघुरा चोकमा खरीद बिक्रि र ठगी चोरीका कारोवार फष्टाउँछन् । यतिबेला ठूला या मझौला शहरका चोकहरू गुलजार छन् । फाल्गुण चैत्रका दिनमा बदलीपछि छिटफुट पानी पर्नासाथ जसरी छिचिमिराको हुल कावा खान साँझपख हावामा उडेझैँ आवधिक चुनावको आधार मानेर राजनीतिक नेता कार्यकर्ता चोक चोकमा देखिएका छन् । उता पहाडी गाउँतिर भने कचहरी स्वरूपका चौतारीमा भेला भएका छन् । म हेर्छु चोकमा फर्फराएका चुनाबी झण्डाको बहुरूपी रङ देख्छु । लाललाल घामको झण्डामा पीतवस्त्रे हलो टाँसिएको छ । बहुरङ्गी झण्डा मुनि उभिएर महाशय नेता माक्र्सवादीको विपठन गरिरहेछ । चोक सुनिरहेछ वर्णशङ्कर भाषणको कुरूप शब्दहरू ।

चोकमा उभिएर रुख छापे झण्डा हाँसिया हथौडा झुण्डाएर वि.पी र माओजेदुङको मोर्चा बाँधिरहेछ र सुनाइ रहेछ विकास निर्माणको जापानी मोडेल । झण्डा समातेको अर्को नेता मनमनै बनाउँदो छ घर, गाडी र बैंक व्यालेन्सको आन्तरिक योजना । उनीहरूसित भाडामा ल्याइएका एक हुल खेतालाहरू राशन पानीको आशमा तालि पड्काई रहेछन् । चोक सुनिरहेछ, अग्ला घरका भित्ताहरूले फर्काइ रहेछन् बोलक ध्वनीयन्त्रले फिर्ता पठाएका भाषणको प्रतिलिपी स्वरहरू । चोकमा उभिएका ठेला व्यापारी तरकारी किन्न आएका गृहिणीहरू वर्णशङ्कर भाषण सुनेर एक्लै हाँस्छन् र वितेको पाँचवर्षे अवधिको चित्र खिच्छन् । चोकमा टाँगिएका तुल व्यानरमा भाव भाङ्गिमा चुनावी गीत भाषण सुन्दा कसौडिमा चामल छड्काएर कोदोको पीठो ओढाले जस्तो विवर्गिय देखिन्छ । चोकहरू मात्र यस्ता छैनन्, चौतारीहरूमा पनि यिनै दृश्यबिम्बहरू छन् । “ठूला घरको ठूलै भान्सा साना घरको सानै” भने जस्तो क्षेत्र, वस्ति जनसङ्ख्या हेरेर घोषणा पत्र र मागदावी चलेको छ । चोक वा चौतारामा उभिएर कुनै व्यक्ति शुभेच्छुक शुभकामना वा वजनदार मन्तव्य दिइरहेको छैन । आफूहरूको प्रतिरक्षा र प्रतिधर्मीको प्रतिरोध सुनाइ रहेछ ।

वेथितिहरू बढेको बढ्यै छन् । असन्तोष, कुण्ठा वा उत्तेजनाले चोकले टायरको आगो ताप्छ, धुवाँ निल्छ । हेर्दा बुझ्दा विरूप विरूप लाग्ने चोक वा चौताराहरूमा सभ्यता, शिष्टता र संयमताको खडेरी देखिन्छ । यो स्थितिलाई अगुवा हौं भन्नेहरूले नियन्त्रण गर्नु जरुरी छ तर जेठको खडेरीमा काकाकुलले आफ्नो उडानमा पानी खोजे जस्तो स्थिति देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर