मक्किएर ढल्नै लागेको प्रतिकृयाबादी संसदीय ब्यबस्थालाई धमिरा लागेको टेकसो दिएर अड्डयाउन खोज्ने राष्ट्र र जनताको दोहन गर्न पल्केका कथित कम्युनिस्ट भनाउदाहरुको चुनाबी गाईजात्रामा देखिएको नाङ्गो हर्कतले कम्युनिस्ट आदर्शको खिल्लि उडाएको छ । त्यतिमात्र होइन सर्बहारावर्गको प्रतीक हसिया हथौड़ा अङ्कित रक्तरञ्जित लाल झण्डाको बदनाम गराएको छ । छि छि छि ! कति घिनलाग्दो हुदो रहेछ दलाल संसदीय ब्यबस्थाको यो नौटङ्गी खेल । बिचार सिद्धान्तको त कुरै छोडौ सामान्य नैतिकता र अलिकति पनि लाज र सरम नभएर सर्बाङ्ग नाङ्गो बनेर हिड्न कत्तिपनि लाजमान्दा रहेनछन् संसदीय आहालका खेलाडीहरु ।
देशको ढुकुटी रित्याउन र जनताको खुन र पसिनामा पौडिखेल्न पल्केकाहरुलाई नैतिकताको नसम्म पनि थाहाहुदो रहेनछ । जनतालाई बेबकुफ बनाएर कथित भोट लुट्न जस्ले जस्को झण्डा बोकेर हिड्दा पनि हुने,जनतालाई रक्सी र मासुमा लठ्याएर जति लुटेपनि हुने,जनताले खाई–नखाई श्रम गरेर आर्जेको रकम कर तिरेर जम्मा भएको राष्ट्रिय ढुकुटीलाई मामाको धनमा फुपुको श्राद्द झै गरेर जति खर्च गरेपनि हुने,सिङ्गो राष्ट्र बेचेर पनि अझ धाक धम्कि र रबाफ लगाउदै हिड्न पाइने यस्तो शासनसैली र ब्यबस्था यो दुनियाँमा कहाँ होला ?
गठबन्धनहरु चुनावपछि छिट्टै पार्टी एकता गर । झण्डा र लोगो पनि पाँचवटा चिन्ह सहितको राख । अब काङ्ग्रेस कम्युनिस्ट होइन पार्टीको नाम समेत भारत –अमेरिकन गठबन्धन पार्टी राख । अबको चुनाव चिन्ह रुख, हसिया हथौड़ा ,गिलास,कलम जस्ता चिज होइन बरु सबैलाई चिन्न सजिलो हुने यौटै चिन्ह कमण्डलु राख । यो नै सबैभन्दा उपयुक्त चिन्ह हो । यो चिन्ह चुनावको बेलामात्र होइन त्यसपछि पनि देश बिदेश घुम्दा , सहयोग माग्दा काम लाग्छ । अन्तराष्टिय स्तरमै यो चिन्ह ख्यातिप्राप्त हुन्छ र चौतर्फि समर्थन हुन्छ । केको काङ्ग्रेस र कम्युनिस्टको नाटक गर्छौ ? सिद्धान्तमा काङ्ग्रेस र कम्युनिस्ट भनेका दुई बिपरित धुर्ब हुन्, दुई बिपरित वर्ग हुन् । यी दुई वर्ग एक अर्काका दुश्मन पनि हुन् । यिनिहरु बिच कहिल्यै घाटी जोडिन्न बरु एक अर्काको घाटी छिदाल्ने नीति हुन्छ । तर यी दुबै आफ्नो बिचार सिद्धान्तबाट च्युत भएकाहरु जहाँ र जहिलेसुकै देश लुट्न र जनतालाई बेबकुफ बनाएर उनिहरुको खुन र पसिनामा मोजगर्न रातारात जस्तोपनि गर्दा रहेछन । सायद यो घटना नेपालको मात्र नभएर बिश्वकै पहिलो घटना हो , अर्को कथित कम्युनिस्टको साइनबोर्ड झुण्डाएर जनता ठग्न पल्केको दमालेको चर्चागर्नुको कुनै तुक र औचित्यनै छैन ।
तर बिडम्बना ! यिनै बिचार सिद्धान्तहीन,राष्ट्रिय भाबना र सम्बेदनाहीन राष्ट्रघाती/ जनघाती तत्वहरु आज मुलुकका हात्ती पार्टी बनेर देश लुटिरहेका छन् । यिनै लुटेराहरुलाई नेपाली जनताले आँखा चिम्लेर भोट दिएर देश लुट्न र राष्ट्रघात–जनघात गर्न सत्तामा पुर्याउदै आएका छन् यो अर्को बिडम्बना हो ।
एक्काइसौं सताब्दीका नेपाली जनताहरुले यो यथार्थलाई गम्भीरतापूर्वक लिने कि नलिने ? संसदीय ब्यबस्थाको बिकल्प किमार्थ संसदीय ब्यबस्था र त्यसको कुनै अङ्ग हुन सक्तैन । नत त्यसलाई स्वीकार्ने कुनै अमुक ब्यक्ति हुनसक्छ । त्यसको एकमात्र सहि बिकल्प संघीय जनगणतन्त्रको स्थापनानै हो । यो नेपालको आमुल परिबर्तन, दिगोशान्ति र प्रगतिको अचुक हतियार हो । यो बर्तमान राजनीतिक अराजकता,अस्थिरताको अन्त्यकालागि आबश्यक मात्र होइन अपरिहार्य परिघटना हो ।
२०७९/१ /२८

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर