काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको चितवनमा सम्पन्न विशेष राष्ट्रिय भेलाले पार्टी नाम नेकपा (बहुमत) तय गरेको छ। तत्कालीन नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चुनावपरस्त संसद्वादी नीति लिएपछि अन्ततः सो पार्टी विभाजित हुन पुगेको छ । पार्टीका बहुमत सदस्यले उठाएको क्रान्तिको झन्डाको रक्षा गर्ने र संसद्वादी लाइन खारेज गर्ने निर्णयको सम्मान गर्दै पार्टीको नाम नेकपा (बहुमत) तय भएको भेलाद्वारा निर्वाचित पार्टी संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले जानकारी दिएका छन्।
नेकपा (बहुमत)ले पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको छ । उक्त महाधिवेशन सम्पन्न गर्नका लागि नेता कञ्चनको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति पनि चयन गरेको छ । विशेष राष्ट्रिय भेलाले ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ अध्यक्ष र चित्रबहादुर आले ‘पवन’ सचिव रहेको ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
विशेष राष्ट्रिय भेला समापन समारोहलाई सम्बोधन गर्दै नेकपा ‘बहुमत’का संयोजक कञ्चनले ‘क्रान्ति हुन्छ । एकीकृत जनयुद्ध कार्यदिशामार्फत हामी क्रान्ति पूरा गछौँ र वैज्ञानिक समाजवाद स्थापना गछौँ ।’ भनेको सो पार्टी निकट अनलाइन इरातोखबरले समाचार लेखेको छ ।
वैज्ञानिक समाजवाद स्थापनाका लागि जनदबाब, जनसङ्घर्ष, जनप्रतिरोध र जनविद्रोह हुने पनि संयोजक कञ्चनले बताए । विचारको बहुमतले क्रान्ति सम्पन्न गरेरै छोड्ने, राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सङ्घर्ष अघि बढाइने, भ्रष्टाचारी र दलालहरुमाथि जनताले कारबाही गर्ने पनि उनले बताए । सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा जोड दिइने पनि उनले प्रस्ट पारे ।
नेकपा ‘बहुमत’ का नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले नेत्रविक्रम चन्दले पार्टीलाई दार्शनिक रुपले गलत भड्काव गरेको, सङ्गठनमा विषेधात्मक अधिभूतवाद लागू गरेको, एकीकृत जनक्रान्तिलाई आफ्ना स्वार्थहरु पूरा गर्ने मनचिन्ते झोला बनाएको, निषेधात्मक अधिभूतवाद लादेको, सङ्घर्षका दृष्टिले आत्मसुरक्षावादी बनेको, राजनीतिक रुपमा संसदीय संशोधनवादी, आर्थिक दृष्टिले जुझारु अर्थवादी देखिएकाले उनलाई कारबाही गरी क्रान्तिकारी पार्टी निर्माण गरिएको बताए ।
नेता सुदर्शनले तत्कालीन पार्टी महासचिव चन्दले पार्टीको केन्द्रीय कार्यालयलाई निजी निवास बनाएको र तत्कालीन प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग मिलेर ठूलो भ्रष्टाचार गरी अकूत सम्पत्ति निजीकरण गरेकाले क्रमशः त्यसको उजागर गर्दै जाने पनि बताए । आफूले मध्यकमान्डको नेतृत्व समालेको समयमा प्रकाण्ड, भेषराज भुसाल र चिरन पुन मिलेर गिरफ्तार गराएको सार्वजनिक गर्दै नेता सुदर्शनले चन्दलाई किटानी जाहेरी दिँदा पनि अपराधीलाई कारबाही गर्नुको सट्टा प्रोत्साहन दिएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
भेलाबाट निर्वाचित संयोजकसहित ८१ जना केन्द्रीय सदस्य र सल्लाहकार समिति सदस्यलाई असारे काकाले शपथ गराएका थिए ।





























