काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको भेलाले विप्लवलाई पार्टी महासचिवबाट हटाएको छ । पार्टीको नीति र निर्णयविपरीत स्थानीय तहको निर्वाचनमा नेता कार्यकर्तालाई उठाइएपछि सो पार्टीका नेताहरु धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटाएको हो। बुधबारदेखि चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई समेत हटाउने निर्णय गरेको छ केन्द्रीय सदस्य गुणराज लोहनीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
‘‘पार्टीको बहुमत केन्द्रीय समिति बैठकले गरेको निर्णय विप्लवजीहरुले उल्टाउनुभयो । पार्टीको विधि विधान विपरित स्थानीय चुनावमा जान थाल्नुभयो । हामीले पार्टी निर्णयलाई समाएर बस्यौँ । उल्टै उहाँहरुले हामीलाई कारवाही गर्नुभयो’ लोहनीले भने, ‘हामीले विप्लवजीलाई महासचिवबाट हटाएर पार्टी संयोजक धर्मेन्द्र सरलाई बनायौ ।’
पार्टी केन्द्रीय समिति सदस्यको बहुमत भएकाले आधिकारिकता आफूहरुले पाउने लोहनीले बताए । भोलि सकिने ओली–बाँस्तोला पक्षको भेलाले पार्टीका सबै निर्णय सार्वजनिक गर्ने जनाएको छ । चितवन भेलामा ४० भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरिएको छ । केही समयअघि सम्पन्न पार्टीको बैठकमा महासचिव विप्लवको निर्वाचन उपयोग गर्ने प्रस्तावको विरुद्धमा ६५ मध्ये ४४ जना केन्द्रीय सदस्यहरुले निर्वाचन बहिस्कार गरेर जानुपर्ने पक्षमा आफ्नो अभिमत जाहेर गरेका थिए ।































