एउटा कवि
घाँटीमा ब्रोइलरको हड्डी अड्केर मर्यो
अर्को कवि
चुनावी रक्सी सर्केर मर्यो
तेश्रो कवि
भविष्यमा प्राज्ञ बनाइदिने आश्वासन सुनेपछि
लामो सास तानेर मर्यो
चौथो कवि
अर्को पटकको वडा अध्यक्षको बचन पाएपछि
हृदयाघात भएर मर्यो
पाँचौं कवि अलि कडा थियो
उसले पनि उपाध्यक्षको हाताहाती टिकट पायो
त्यसपछि मलमुत्रको पोखरीमा डुबेर
हेर्दा हेर्दै ठाउँको ठाउँ मर्यो ।
एक हुल कविहरु छन अझै
गणतन्त्रको दायाँ किनारमा उभिएका
गायत्री मन्त्र सुनाएझैं पण्डितले
कानमा उखान टुक्का सुनाइरहेछ कोही
हेर्दा हेर्दै
कविहरूले खुट्टा टेक्न छोडेका छन
र सबै लम्पसार परेर सुतेका छन
उनीहरूलाई
हतार हतार अस्पताल पुर्याइएको छ
र,चिकित्सकले सबैलाई मृतक घोषणा गरेका छन ।
ठुलै षडयन्त्रको हल्ला भएपछि
सबैको पोष्टमार्टमको माग उठ्यो
र सबैको पोष्टमार्टम पनि गरियो
पोष्टमार्टमको रिपोर्टमा लेखिएको थियो–
विषालु बिचारको अत्यधिक सेवनले
दिमागमा विष जमेर मरेका हुन उनीहरू ।
यसरी एउटा महामारी बोकेर
चुनाबी फ्लु आयो
र एक हुल कविहरूलाई सोहोरपट्टार पार्यो ।
२०७९ वैसाख २०



























